दसैँको मुखमा पूर्वी पहाडी जिल्लामा खाद्यान्नको अभाव

पाँचथर, १३ असोज ।

नेपालीहरुको महान् पर्व दसैँ तिहार नजिकिँदै जाँदा पूर्वी पहाडी जिल्ला पाँचथरको अधिकांश सडक अवरुद्ध हुँदा ग्रामीण भेगमा खाद्यान्न अभाव हुन थालेको छ । 

वर्षादका कारण ठाउँ ठाउँमा पहिरो झरेको हुँदा सदरमुकामलगायत झापाका विभिन्न सहर बजारबाट खाद्यान्नलगायत दैनिक उपभोग्य सामान ढुवानी गर्न नसक्दा ग्रामीण भेगमा खाद्यान्न अभाव हुन थालेको हो । 

जिल्लाको दुर्गम र उत्तर पूर्वी गाविसहरु मेमेङ, प्राङ्बुङ, दक्षिणी गाविसहरु सराङडाँडा, कुरुम्बा, लिम्बा, दूरदम्बीलगायतका गाविसमा अहिले खाद्यान्न अभाव हुन थालेको व्यापारीहरु बताउँछन् ।

मेमेङ–४ ताङ्लेपाका व्यापारी मित्र सापकोटाले अहिले त्यस ठाउँमा चामल, चिउरा, तेल, चिनी, दाललगायतका सामग्रीको अभाव हुन थालेको बताए । 

यस्तै जिल्लाको दक्षिणी भेगको अवस्था झनै बेहाल छ । राँके रवि सडकको ट्र्याक ओपन भएको तीन दशक भइसक्यो, तर अहिलेसम्म यो सडकको कालोपत्रे त परै जाओस् स्तरोन्नतिसमेत हुन सकेको छैन । जसका कारण अहिले यो सडक ठप्प छ भन्दा फरक नपर्ने स्थानीयवासी बताउँछन् । 

झापाबाट सामान लिएर राँके हुँदै सप्तमी, रवि, मौवा, आङ्नालगायतका ग्रामीण बजारमा हिँडेको ट्र्याक्टर राँकेबाट झन्डै एक हप्तापछि मात्रै पुग्ने गरेको त्यहाँका व्यवसायी बताउँछन् । 

अहिले यो सडक पनि रतुवाखोलामा पानीको बहाव बढेपछि चार महिनाअघिदेखि नै बन्द छ । जसका कारण यो सडकबाट पनि झापाबाट सामान निर्यात गर्न नसकिएको व्यापारीको भनाइ छ । 

अहिले निरन्तरको वर्षाका कारण जिल्लाका अधिकांश सडक बिग्रिएपछि स्थानीयवासीले सास्ती खेप्न बाध्य छन् ।

, , , , , ,

प्रतिकृया दिनुहोस्

Loading...