वार्षिक ६७ लाख आम्दानी गर्दै मुक्तिनाथ

मुस्ताङ, १३ असोज ।

हिन्दू र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रविन्दु प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको वार्षिक आम्दानी ६७ लाख रुपैयाँको हाराहारीमा हुने गरेको छ । 

मुक्तिनाथ विकास समितिले हालै सार्वजनिक गरेको वार्षिक आयव्ययमा रसिद सहयोगबाट सबैभन्दा बढी ५२ लाख ११ हजार रुपैयाँ आम्दानी भएको देखिएको छ ।

त्यस्तै, सुन बिक्रीबाट रु १२ लाख सात हजार र बैंक ब्याजबाट रु तीन लाख ८० हजार गरी ६७ लाख रुपैयाँ आम्दानी भएको समितिका अध्यक्ष एवम् मुस्ताङका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले जानकारी दिए । उनका अनुसार सहयोगदाताबाट स्वतःस्फूर्तरुपमा सहयोग आउने क्रम बढेको छ ।

मुक्तिनाथ विकास समितिको खातामा यसअघि एक करोड ३५ लाख ९१ हजार रुपैयाँ मौज्दात थियो । एक वर्षको अवधिमा तलबभत्ता, कार्यालय सञ्चालन खर्च, सवारी भाडा, बिजुली, सरसफाइ, मेला व्यवस्थापन, बंैक कर, अनुगमन तथा भ्रमण, सञ्चालन मर्मत, फर्निचर, लेखापरीक्षण गरी १२ लाख ७७ हजार रुपैयाँ खर्च भएको अध्यक्ष अधिकारीले जानकारी दिए ।

“एक करोड ९० लाख ३२ हजार रुपैयाँ अझै हाम्रो खातामा छ, यसलाई आवश्यकताको आधारमा खर्च गर्दै जानेछौँ”, प्रजिअ अधिकारीले भने । मुक्तिनाथको आन्तरिक आयबाट चालु आर्थिक वर्षमा मन्दिरको छाना मर्मत, धारा तथा धुप बाल्ने ठाउँ निर्माण, सार्वजनिक चौतारा निर्माण र कार्यालय सञ्चालनका लागि रु ३७ लाख ४५ हजार बजेट विनियोजन गरिएको बताइएको छ ।

मुक्तिनाथमा दुईजना सहयोगी कर्मचारी, मुख्य पुजारीसहित केही आनीले काम गर्दै आएका छन् । कागबेनीमा पितृतर्पण र स्नानपछि अधिकांश भक्तजन मुक्तिनाथ पुग्ने गरेका छन् । मुक्तिनाथमा नेपालका साथै छिमेकी राष्ट्र भारतबाट समेत भक्तजन दर्शनका लागि आउने गरेका छन् ।

, , , , , ,

प्रतिकृया दिनुहोस्

Loading...