आफू मरेर यात्रु बचाउने पाइलट पत्नीले जन्माइन् छोरा, भन्छिन- 'श्रीमानको झल्को मेट्न असल मान्छे बनाउछु'

काठमाडौ २३ भदौ । 

ग्राण्डी अस्पतालको आठौं तल्ला, कोठा नम्बर ८१२ । हस्पिटलकै फलामे झलुंगोमा सुतेका छन् एक गर्भे टुहुरा ।

उल्लासको वातावरण हुनुपर्ने हो तर उदास–उदास छन् सबै ।
रजनी – कालिकोटको जहाज दुर्घटनामा ज्यान गुमाएका पाइलट दिनेश न्यौपानेकी पत्नी । र छन् अरू आफन्त पनि ।

तीन दिनअघि जन्मिएका बालकले न्यौपाने परिवारमा आशाको सञ्चार त गराएका छन् तर अझै पनि न्यौपाने परिवार तंग्रिएको छैन ।

आफन्तले भर्खरै जन्मिएको छोरो मुसार्ने बाबुको अभाव महशुश गरेका छन् । दिनेश बाँचेको भए अर्धाङ्गिनी रजनीलाई बधाई दिँदै छोरो सुमसुम्याउँथे होला ।

रजनी मख्ख पर्दिहुन् । तर दैवको लीला जहाजमा सवार यात्रुलाई जोगाउँदा दिनेशले ज्यान गुमाए । परिवार शोकाकुल बन्यो र बच्चो गर्भे टुहुरो ।

विपत्ति जसलाई पनि पर्नसक्छ । सुन्दर जीवनको सपना साँचेका दिनेश र रजनी विवाहको तीन वर्षमा छुट्नुप-यो, त्यो पनि सदाको लागि ।

छोरो जन्मेपछि केही राहत

श्रीमानको मृत्युपछि बेहोश जस्तै बनेकी रनजीलाई श्रीमानकै रक्तबीजबाट छोरो जन्मिएपछि केही राहत भने मिलेको छ । उनले श्रीमानको अभावलाई बिर्सिन छोरोलाई एउटा असल मान्छे बनाउने सपना देखिसकेकी छन् ।
‘साढे दुई महिनाको गर्भ हुँदा उहाँको निधन भएको हो,’ रजनीले भनिन्, ‘अहिले बाबु जन्मियो, यसले पीडामा मल्हम लगाएको छ ।’ तीन दिनअघि जन्मेको छोरालाई उसको बाबु जस्तै पाइलट बनाउने सोच रजनीको छ ।

छोरो पाइलट बन्ने आशा

सम्पूर्ण घरपरिवारले दिनेशको झल्को बच्चाले मेटाउने अपेक्षा पनि गरिसकेका छन् । दिनेशले छोरी जन्मिए पाइलट र छोरो जन्मिए डाक्टर बनाउने सपना देखेका रैछन् ।

तर परिवारले भने छोरोलाई दिनेशकै कित्तामा ल्याउने निर्णय गरेको छ । ‘पतिको झल्को मेट्नलाई पनि छोरोलाई पाइलट बनाउँछु,’ रजनीले भनिन् ।

परिवारले बच्चाको पेशा मात्रै होइन नाम पनि रोजिसकेको छ – डेनी । खास नाम दिनेश भएपनि साथीहरुले दिनेशलाई डेनी भनेर बोलाउँथे ।

‘साउथ अफ्रिकामै पाइलट पढ्दा उहाँका साथीहरूले उहाँलाई पाइलट डेनी भनेर बोलाउँथे,’ रजनीले भनिन्, ‘अब बाबुको नाम पनि डेनी नै राख्ने सोचेका छौं ।’ गर्भवती श्रीमतीलाई भेट्न दुर्घटनाको दुई दिनअघि काठमाडौं आएका ‘डेनी’ त्यसपछि सदाको लागि बिदा भए ।

रजनीको पेटमा मायाको चिनो छोडेर गएका रहेछन् दिनेशले । नेपालगञ्ज उडान भर्न हिँड्ने बेला दिनेशले रजनीसँग बेस्सरी अंगालो मारेका थिए । त्यही अंगालो रजनी र दिनेश दुवैका लागि अन्तिम बन्यो ।

दुई दिनका लागि काठमाडौं आएका दिनेशले रजनीलाई एक हप्तासम्म पुग्ने खानेकुरा किनेका थिए । ‘पाइलट भए पनि साधारण हुनुहुन्थ्यो, मेरो खुब ख्याल राख्नुहुन्थ्यो,’ रजनीले यसो भन्दा उनको आँखाबाट आँसुका ढिक्का हाम्फालिहाले ।

लोकान्तरबाट साभार

, , , ,

प्रतिकृया दिनुहोस्

Loading...