स्थानीय तहको निर्वाचन चैतमा हुन्छ– मन्त्री थापा

पोखरा, २४ भदौ । 

स्वास्थ्यमन्त्री गगन थापाले चैत महिनामा स्थानीय तहको निर्वाचन हुने निश्चित रहेको बताएका छन् ।

विपी कोइरालाको १०२ औं जन्मजयन्तीको अवसरमा नेपाली काँग्रेस कास्कीले आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले निर्वाचनका लागि सरकारले विधेयक बनाएर व्यवस्थापिका–संसद्मा पेस गरेको जानकारी गराए ।

स्थानीय तहमा गाउँपालिका र नगरपालिका ७०० देखि ७५० सम्मको हाराहारीमा बनाउन उपयुक्त हुने धारणा राख्दै मन्त्री थापाले तर यसको निधो गर्न केही समय लाग्ने बताए।

नेपाली काँग्रेसका केन्द्रीय सदस्यसमेत रहेका मन्त्री थापाले अब चुनाव हुन्छ कि हुदैन भने अलमलमा नपरी तयारी अवस्थामा रहन पार्टी कार्यकर्तालाई आग्रह गरे ।

देशका विशिष्ट व्यक्ति र सर्वसाधारण नेपाली जनताको अधिकार समान भएको बताउँदै स्वास्थ्यमन्त्री थापाले विशिष्ट व्यक्तिले सामान्य उपचारका लागि विदेश जान राज्यकोषबाट पैसा पाउने तर दीनदुःखी उपचारै गर्न नसकी मर्ने स्थितिको अन्त्य गर्न आफू लागिपर्ने प्रतिबद्धता जनाए  ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...