पेट्रोल डिलरमा आगलागी, १ को मृत्यु, ४ घाईते
दीपबहादुर घर्ती, जाजरकोट, १९ भदौ ।
जाजरकोट सदरमुकाम खलंगामा रहेको एक पेट्रोल डिलरमा आगलागी हुँदा एक जनाको ज्यान गएको छ भने, चारजना गंभिर घाइते भएका छन् ।
शान्तिचौताराको वसपार्क नजिकै रहेको पेट्रोल डिलरमा बिहान ११ बजे आगलागी हँदा नायकबाडा–२ कि १८ वर्षे संगिता खत्री बोहराको ज्यान गएको हो । पेट्रोल डिलर नजिकैको अर्को कोठामा माइतीले होटल सञ्चालन गर्दैै आएका थिए ।
डिलरमा लागेको आगो सल्किएर होटलमा पनि आगो लागेपछि उनको ज्यान गएको हो । आगोमा परेर उनका बुबा कार्कीगाउँ–७ का मानसिंह खत्री गंभिर घाईते भएका छन् ।
मानसिंहले भेरीमालिका नगरपालिका–४ शान्तिचौतारामा पेट्रोल डिलरसँगै जोडिएको अर्को कोठा भाडा लिएर होटल सञ्चालन गर्दै आएका थिए ।
त्यस्तै अन्य घाइते हुनेहरुमा डिलर सञ्चालन गर्ने रुकुम चौरजहारीनगरपालिका ७ का २३ वर्षे प्रेमबहादुर राना, त्यही ठाउँका १८ वर्षे गोकर्ण चन्द र जाजरकोटमा कार्यरत प्रहरी जवान रमेश शाह रहेको प्रहरीले जनाएको छ ।
घाइते हुने प्रहरी जवानको घर सल्यान डाडागाउँ हो । ‘पेट्रोलको गन्ध आएपछि के भएछ भन्दै घरभित्र छिरेको थिएँ’ प्रहरी जवान शाहले भने– ‘म छिर्ने बित्तिकै आगो सल्कीहाल्यो घरको तेस्रो तलाबाट हाम हालेर ज्यान जोगाएँ ।’
उनी लगायत घाईते चारै जना कोलियाबाट तेस्रो तलामा गएर हाम फालेका थिए । संगिता भाग्न नसक्दा आगोले डढेर ज्यान गएको प्रहरीले जनाएको छ । संगिताको डेढ महिनाको छोरी छन् ।
घाइते चारै जनाको जिल्ला स्वास्थ्य कार्यालयमा प्राथमिक उपचार गरिसकेपछि थप उपचारका लागि नेपालगञ्ज पठाईएको प्रहरीले जनाएको छ । ड्रमबाट जर्किनमा तेल खन्याउदै गर्दा भरिएर तेल अगेनामा पुगेपछि आगो लागेको हो ।
१२ वटा तेलका ड्रममा ४ वटा जलेका छन् । लोकेन्द्र शाहीको घर भाडा लिएर एउटा कोठामा प्रेमबहादुर राना पेट्रोल डिलर सञ्चालन गरेका थिए । अर्को कोठामा मानसिंहले होटल खोलेका थिए ।
११ बजे लागेको आगो स्थानीय, प्रहरी, सेना, रेडक्रसको सहयोगमा ४५ मिनेटपछि निभाउन सकिएको थियो । आगोमा परेर दुई वटा मोटरसाइकल र घर जेलको प्रहरी निरीक्षक हिक्मत बोहराले बताए । प्रहरीको प्रारम्भिक अनुमान अनुसार ३५ लाख वरावरको क्षति भएको छ ।
प्रतिकृया दिनुहोस्
Loading...

