सरकार, दशैंमा घरको टिका थाप्ने सुनिश्चिता देउ

- मयङ्क घिमिरे -

सरकार ! के म दशैंको टिका थाप्न आफ्नो घर सकुशल र समय मै पुग्छु? कहिँ कतै बाटोमै मेरो अपहरण त हुदैन ? 

कहिँ कतै कोही आएर मेरो ज्यान लिने त हैन? कतै बाटोको खाल्डोले म चढेको गाडी अनियन्त्रित भइ मेरो दुर्घटना त हुदैन? कतै म चढेको गाडी बाढीपहिरोको सिकार त बन्दैन? 

देशको पछिल्लो गतिविधि हेर्दा नेपाली समाजको हरेक व्यक्तिमा यो प्रश्न आउनु कुनै अस्वाभाविक मानिदैन।

लुट, अपहरण, हत्या, दुर्घटनासँग सम्बन्धित समाचार नछापिएको कुनै दिन छैन। यो सबै भइरहदाँ यसको समाधान प्रति कसैको चासो भने देखिदैन।

चासो छ त मात्र सरकारी कुर्सि, घुस, आम्दानी, आफ्नो खुसि, आफ्नो परिवार, आफ्नो पार्टीसँग सम्बन्धित कुराको, मात्र आफ्नो स्वार्थ को। आफ्नो पार्टीबाट अघि बढी आफ्नो देशको भलो सम्म सोच्ने कोही भेटिदैनन्। कोही भेटिए उनलाई पागलको नाम दिइनछ, वा रातारात धम्की जाने वा सरुवा गरिने चलन छ। 

९ महिने सरकारको पर्व चल्ने यो देशमा केहि प्रगती होला भन्ने आश गर्ने कुनै बाटो हुदैन,एउटा सरकार आउछ, केहि गर्ला जस्तो गर्छ,तर हाम्रो सरकार त म्यादी सरकारको, ९ महिने गर्भवती महिला झैँ नौ महिने सरकार आउछ । 

एउटा आमाको कोखबाट एउटा बच्चा जन्मिन त नौ महिना लाग्छ भने नौ महिनामा देशको स्वरूप परिवर्तन गर्ने त हावादारी कुरा मात्रै हो।

०७२ को वैशाखबाट निर्माण कार्य थालिएको नारायणगढ–मुग्लिन सडकखण्ड विस्तारको कार्य अहिले सम्म मात्र २५ प्रतिशत सकिएको छ। देशको महान पर्व दशैं तिहार नजिकिँदै गर्दा यस बाटोको स्थिति झनै जिर्ण भएको छ। 

दशैँताका यस बाटोबाट लाखौ मानिस ओहोरदोहोर गर्छन्। तर बाटोको स्थिति हेर्दा माथिबाट पहिरो खसिरहन्छ, तल लामबद्ध सवारी साधन रहन्छन् । सवारी साधनभित्र मानिस ठेलमठेल हुन्छन् । त्रासैत्रासमा सडक पार गर्नुपर्ने बाध्यता यात्रुको छ ।

नारायणगढ–मुग्लिन सडकखण्ड विस्तार कार्य सुरु भएयता यात्रुले यो हैरानी व्यहोर्नु परिरहेको छ । २ घण्टाको बाटो पार गर्न कहिले ५ घण्टा लाग्छ भने कहिले १२ घण्टा बढी सम्म लाग्ने गरेको छ' । 

महान चाड दशैं नजिकिदै गर्दा समेत जिम्मेवारी व्यक्तिबाट यस बाटोको सुरक्षाका लागि खासै केहि पहल देखिदैन। यस जिर्ण सडकमा सुरक्षा प्रति ध्यान नदिने हो भने महान चाडपर्वको समयमा धेरै दुर्घटना हुने निश्चित देखिन्छ।

सडकको स्थिति र प्राकृतिक विपत्ति दुवैले यस बाटोमा चल्ने सवारीसाधनलाई चुनौती दिइरहेको छ। सरकारले अहिले बाटोको सुरक्षामा ध्यान दिने हो भने धेरै दुर्घटना तर्न सक्छ, तर सरकारी तय बाट यस प्रति केहि चासो नभएको देखिन्छ।

यस आयोजनाका सिनियर डिभिजन इन्जिनियर गोविन्दप्रकाश खनालका अनुसार फुलपातीदेखि पुर्णिमासम्म सडक निर्माणको काम रोक्ने भएकाले सवारी साधन आवात जावतमा समस्या नहुने बताएका छन् । उनले प्राकृतिक विपत्ति वाहेक सडक निर्माणले सवारी साधनमा कुनै अवरोध नहुने दाबी गरे ।

खनालले निर्माण सकिएको स्थानमा दुर्इतर्फी र केही स्थानमा एकतर्फी सवारी साधन चल्ने बताए । निर्माण सकिएको स्थान दासढुंगा पुलभन्दा माथि दुर्इतर्फी सञ्चालन गर्न सकिन्छ , खनालले भने, केही स्थानमा भने एकतर्फी संचालन गर्नुपर्ने हुनसक्छ । 

यो खण्डको ६ किलोमिटर क्षेत्र अझै चौडा गर्न बाँकी छ । मुग्लिनदेखि कालीखोलासम्म र जलविरेदेखि मुग्लिन तर्फ ५ सय मिटर चौडा गर्न बाँकी छ । यो स्थानको पहाड काट्ने काम समेत भएको छैन । केही ठाउँमा भने वाल लगाएर चौडा गरिसकिएको छ ।

दासढुगांको पुलदेखि सिमलतालसम्मको निमार्णको जिम्मा लिएको जयन्त भेन्चरका प्रमुख रविन्द्र श्रेष्ठले यात्रुहरुको चापलाई मध्यनजर गरेर दशै आउनुभन्दा १५ दिन अघिबाट एकतर्फि बाटो पुर्ण रुपमा सञ्चालन गर्न दिइने बताए । 

“फुलपातीसम्म काम गछौं”, उनले भने “दोहोरो बन्द हुदैंन ।“ श्रेष्ठले आफ्नो जिम्मामा रहेको काम मध्ये सडकको दायाँबायाँ पर्खाल बनाउने र नाली बनाउने काम ६० प्रतिशत सकिएको बताए । “सडक बनाउन दसैपछि शुरु हुन्छ”, उनले भने, “घुमाउने, दासढुंगा र सेतीदोभान घुम्तीनेर तीब्र रुपमा गरिरहेका छन् ।” 

उनका अनुसार घुमाउने र १६ किलोमा पहाड काट्ने काम बाँकी छ । उनले सबैभन्दा कठिन क्षेत्र यही दुई स्थान भएको बताउँदै पहाड काट्ने काम सकिएपछि निर्माण अघि बढाउन सजिलो हुने बताए । यो कम्पनीले ३सय२४ मजदुर र ८७ जना कर्मचारी सडक निमार्णमा खटाएको छ ।

भूकम्प र अघोसित नाकाबन्दीको सिकार बनेको यस निर्माणकार्यको सम्झौता अनुसार डिसेम्बरसम्ममा ५० प्रतिशत काम सक्नुपर्ने उल्लेख छ ।तर अहिलेकै गतिले काम भए तोकिएको समयसीमाभित्र काम नसकिने आयोजनाका प्रमुख खनालले बताए । 

“यो बर्ष सामान्य भन्दा धेरै बर्षा भयो, खनालले भने, म्याद थपका लागि पत्राचार भइरहेको छ । २ महिना थपिन सक्छ ।” सम्झौंता अनुसार अर्को वर्षको असोजसम्ममा काम सक्नुपर्नेछ । विश्व बैंकको ९० प्रतिशत ऋण सहयोग र १० प्रतिशत सरकारको गरी करिब ५ अर्बको लगानीमा यो सडकखण्ड चौडा पार्न थालिएको हो ।

, , ,

प्रतिकृया दिनुहोस्

Loading...