आलु उत्पादनमा लागे डडेल्धुराका किसान

डडेल्धुरा, २८ असोज ।

आलुबाट राम्रै फाइदा हुने भएकाले डडेल्धुराका किसान व्यवसायिक रुपमा आलुखेतीमा लागेका छन् । अन्य अन्न बालीको तुलनामा आलुखेतीबाट बढी आम्दानी हुनेभएकाले किसानहरु यसतर्फ आकर्षित भएका हुन् । 

आफूले करिब चार रोपनीमा आलु लगाएको अमरगढी–२ चन्द्रबहादुर ऐरले बताए । ऐरले आलुसँगै बन्दा, काउली, गोलभेडा र अन्य तरकारीसमेत लगाए । 

पहिले गहुँ खेती गरेको जग्गामा सुख्खा बढ्न थालेपछि व्यावसायिक रुपमा आलुखेतीतर्फ लागेको समैजी–९ का किसान माधवी भण्डारीले बताए । यतिबेला डडेल्धुराका सबैजसो किसानले आलुखेती सुरु गरेका छन् । 

यहाँ उत्पादन भएको आलु तराईलगायत पहाडी जिल्लामासमेत बिक्री गर्ने गरेको तूफानडाँडाका तरकारी व्यापारी वीरबहादुर शाहले बताए । 

जिल्लामा ८०० हेक्टर क्षेत्रफलभन्दा पनि बढी जमिनमा आलुखेती हुने गर्दछ ।

जिल्लाको अमरगढी नगरपालिकाको डोला मनाना भत्काडालगायत असिग्राम, पोखरा, सोल्परी, बगरकोट, गाङखेत, समैजी कोटेली आलिताल गाविसलगायतका किसान व्यावसायिक रुपमै आलुखेती गर्दै आएका छन् । 

डडेल्धुरा जिल्लामा हिउँद र वर्षादको समयमा गरी दुईपटक आलुखेती गर्ने गरेको पाइन्छ ।

, , , , , , ,

प्रतिकृया दिनुहोस्

Loading...