तिहारमा पाला माग बढ्यो तर उत्पादन घट्यो !

  • भक्तपुर, ९ कात्तिक ।

दोस्रो महान् चाड तिहार नजिकिएपछि भक्तपुरमा माटोका भाँडा बनाउँदै आएका कुमाले समुदायलाई यतिखेर भ्याइनभ्याई छ । 
मागअनुसारको पाला बनाउन भक्तपुरको बोलाछे, तालाको, च्यामासिंह, जगाते, सूर्यविनायक, कमलविनायक, थिमिको नगदेश, बोडे, चपाचो, पाँचोलगायतका क्षेत्रका प्रजापतिलाई भ्याइनभ्याई भएको हो । 

माटोको अभाव हुने, तिहारमा मात्रै पाला, धुपौरालगायतको माग बढ्ने र अरु बेलामा माटोको भाँडाको माग कम हुनथालेपछि यो पेसामा सम्लग्न कुमाले विस्थापित हुँदै गएकाले उत्पादनमा समेत कमी आएकोे छ । 



यसवर्ष पाला बनाउने प्रजापतिको सङ्ख्या घटेपछि पेसा अङ्गाल्दै आएकाहरुलाई भने पाला बनाउन भ्याइनभ्याई भएको हो । 
तिहार नजिकिँदै गएको र मागअनुसारको पाला, धपौरो दही राख्ने ठेकी बनाउन पनि भ्याइनभ्याई भएको भक्तपुर नगरपालिका–१२ पोटरीस्क्वायरका राजेश प्रजापतिले बताए । 

गतवर्ष ६० हजार पाला बिक्री गरेको बताउँदै उनले भने– “धेरै जना यो पेसाबाट विस्थापित भएका छन्, पालाको माग बढेको छ, तर उत्पादन कम छ, मेरो छजनाको परिवार अहिले बिहानदेखि बेलुकासम्म खटेको छ ।” 
पाला बनाउँदै आएका न्हुछेकुमार प्रजापतिले परिवारमा नौजना भए पनि अन्य पेसामा लागेकाले आफू एक्लैले यो पेसालाई निरन्तरता दिएको बताए । 

पालाको माग बढे पनि माटोको अभाव र काम गर्ने मान्छे नहुँदा मागअनुसारको उत्पादन हुन नसकेको बताउँदै उहाँले यसवर्ष माग र मूल्य दुवै बढेको बताए । 

विगत ४० वर्षदेखि माटोका भाँडा बनाउँदै आएका बुद्धिराम प्रजापतिले यो पेसाबाट वर्षभरि गुजारा चलाउन नसक्ने र माटो पनि नजिक नपाइएपछि टाढाबाट किनेर ल्याउनुपरेकाले यो व्यवसाय नै सङ्कटमा परेको बताए । 

तिहारका लागि माटोको पाला बनाएर बिक्री गर्दै आएका स्थानीयवासी सुजन प्रजापतिले भूकम्पले पनि यो पेसालाई विस्थापित गरेको बताए । 

भक्तपुरमा यसवर्ष होलसेलमा एउटा पालाको एक रुपैयाँ ५० पैसा र खुद्रा मूल्य रु दुईमा बिक्री भइरहेको बताए । 

गतवर्षको तिहारमा एउटा पालाको ७५ पैसादेखि एक रुपैयाँसम्ममा बिक्री गरे पनि यसवर्ष भने यसको मूल्य बढेको उनीहरु बताउँछन् । भक्तपुर र थिमिमा उत्पादन भएको पाला, काठमाडौँ, पोखरा, नुवाकोट, नेपालगन्ज, भैरहवा, काभ्रे, जिरी, दोलखालगायतका जिल्लामा खपत हुने गरेको छ ।

प्रतिकृया दिनुहोस्

Loading...