विमलको गोलले थ्रीस्टारले जित्यो बोर्डोलोई ट्रफी

काठमाडौँ, १५ असोज।

नेपालको थ्रीस्टार क्लबले भारतको गुवाहाटीमा भएको ६४ औँ संस्करणको बोर्डोलोई ट्रफी फुटबल प्रतियोगिताको उपाधि शुक्रबार राति जितेको छ ।

गुवाहाटीस्थित नेहरु रङ्गशालामा अबेर राति सकिएको खेलमा नेपाली राष्ट्रिय लिग विजेता थ्रीस्टारले इस्ट बङ्गाल फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि माथि कब्जा जमाएको हो ।

थ्रीस्टारले एक गोलले पछि परेको स्थिति उल्ट्याउँदै उपाधि भिडन्तमा घरेलु टोलीइस्ट बङ्गाललाई निरास बनाएको हो ।

निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि थपिएको अतिरिक्त समयको आठौँ मिनेटमा विमल घर्ती मगरले गोल गर्दै थ्रीस्टारलाई जित दिलाएका हुन् । मध्यभागबाट बल अघि बढाउँदै मगरले गरेको कडा प्रहार गोलमा परिणत भएको हो ।

यसअघि निर्धारित समयमै हारको नजिक पुगेको थ्रीस्टारका लागि अन्तम मिनेटमा देवेन्द्र तामाङले गोल गर्दै टोलीलाई खेलमा फर्काएका थिए ।

रोजिन धिमालको फ्रिकिकमा तामाङको सटिक प्रहार गोलमा परिणत भयो । खेलको ८३ औँ मिनेटमा इस्ट बङ्गालले युरोपेली एडिलेजाको हेड गोल मार्फत खेलमा अग्रता लिएको थियो ।

खेलको नवौँ मिनेटमा दुवै टोली १० खेलाडीमा सीमित बनेका थिए । विवादका कारण थ्रीस्टारका विजय गुरुङ र इस्ट बङ्गालका सामदअली रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए ।

थ्रीस्टारले यो उपाधि पहिलो पटक जितेको हो । सन् २०१० को प्रतियोगितामा थ्रीस्टार उपविजेतामा सीमित बनेको थियो । ट्रफीसँगै थ्रीस्टारले रु १६ लाख प्राप्त गरेको छ ।

उपविजेतामा सीमित इस्ट बङ्गालले रु आठ लाखमा चित्त बुझायो । विजयी गोल गरेका थ्रीस्टारका मगर ‘प्लेयर अफ दि फाइनल’ घोषित भए । 

डिफेन्डर विजय धिमाल प्रतियोगिताकै उत्कृष्ट खेलाडी चुनिए । थ्रीस्टारकै फर्वार्ड मार्टिन चार गोल गर्दै सर्वाधिक गोलकर्ता घोषित भए ।

,

प्रतिकृया दिनुहोस्

Loading...