सुदूरपश्चिमका चर्चित पत्रकार कर्ण बोहराको निधन, श्रीमतीको अवस्था पनि चिन्ताजनक

काठमाडौं, १० मंसिर ।

सुदूरपश्चिमका चर्चित पत्रकार कर्ण बोहराको ३६ वर्षको उमेरमा शुक्रबार निधन भएको छ ।

विगत एक वर्षदेखि राजधानीको भेनस इन्टरनेशनल हस्पिटलमा श्रीमतीको उपचार गराउँदै आएका बोहरा शुक्रबार दिउँसो अस्पतालको बेडमा मृत अवस्थामा फेला परेका हुन् ।

अस्पताल पुगेका पत्रकार दीपक ओलीका अनुसार श्रीमतीको कुरुवा रहेका बोहरा शुक्रबार दिउँसो १ बजे श्रीमतीको बेडनजिकैको अर्काे बेडमा सुतेका थिए र तीन बजे डाक्टर पुग्दा मृत भेटिएका थिए । बोहराको निधनको कारण खुल्न सकेको छैन् ।

बोहराको घरबाट आफन्त आएपछि शनिबार दाहसंस्कार गरिने पत्रकार ओलीले बताए । उनका अनुसार बोहराको निधनपछि उनकी श्रीमतीको अवस्था चिन्ताजनक छ । उनलाई आइसियुमा भर्ना गरिएको छ ।

नेपाल पत्रकार महासंघ शाखाका कञ्चनपुरका पुर्व अध्यक्ष समेत रहेका बोहरा करिब दुई दशकदेखि पत्रकारितामा सक्रिय थिए ।

बझाङको स्याडी गाविस घर भएका बोहरा लामो समयदेखि कञ्चनपुरमा बसेर पत्रकारिता गर्दै आएका थिए ।

पत्रकार बोहराको निधनपछि सुदूरपश्चिमका पत्रकार, उद्योगी, व्यापारी तथा राजनीतिज्ञले गहिरो दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा पत्रकार बोहराप्रति सबैले समवेदना व्यक्त गरिरहेका छन् ।

यहाँ फलो गर्नुहोस 

, ,

प्रतिकृया दिनुहोस्

Loading...