सपनामै बिलायो आशा, पोल नपाउदा बत्तीमुनि अँध्यारो


जाजरकोट, ९ मङ्सिर ।

बिजुली बाल्ने सपना बोकेर बसेका जाजरकोटको एक दुर्गम गाउँका स्थानीयवासीको आशा सपनामै बितेको छ ।

वर्षौंदेखि जिल्लाको खगेनकोट–५ र ६ का तीनसयभन्दा बढी घरधुरी विद्युत्का पोल नपाउँदा अन्धकारमा बस्न वाध्य भएका छन् । 

गाउँ नजिकै खमाउरे खोलाबाट निक्लिएको १५ किलोवाट विद्युत् खेर गएको भएपनि पोल किन्नका लागि रकम नहुँदा बत्तीमुनिको अँध्यारोमा बस्न बाध्य भएको खगेनकोट–६ का नारायण खत्रीले बताए ।

अधिकांश दलितको बसोबास रहेका यी दुई वडामा रकम अभावमै विद्युत् बाल्न नपाएका हुन् । टोपबहादुर रायमाझी ऊर्जामन्त्री हुँदा पोलको माग गर्न सिंहदरबार पुगेका यहाँका स्थानीयवासीलाई काम हुन्छ भनी आश्वस्त पारिएको थियो ।

जिविसलाई यहाँका स्थानीयवासीले पटकपटक पोलको माग गरेपनि कसैले कुरा नसुन्दा बिजुली बाल्ने धोको सपनामै सीमित भएको अर्का स्थानीयवासी वीरबहादुर खत्रीले बताए ।

ट्रान्समिटर र विद्युत्को तार, पोल गरी करिब ३२ लाखसम्म लाग्ने भएपछि स्थानीयवासी हैरान भएका हुन् । सबैले हुन्छ भन्छन् तर काम कसैले गर्दैनन् हामी दिक्क भइससे, हल्चौरका रामप्रसाद खत्रीले बताए । गाविसका अन्य वडामा बिजुली बलेर झिलीमिली भएपनि हल्चौर गाउँ भने अन्धकार नै रहेको छ ।

, , , ,

प्रतिकृया दिनुहोस्

Loading...