टिम नै सखाप हुनेगरी अहिलेसम्म भएका ठूला पाँच विमान दुर्घटना

 एजेन्सी, १५  मंसिर ।


 ब्राजिलको फुटबल टिम चापेकोएन्सका खेलाडी चढेको चाटर्ड विमान कोलम्बियाको मेडेल्लिनमा मंगलबार दुर्घटनाग्रस्त भयो । खेलाडी, अरु यात्रु तथा चालक दलका सदस्य गरी ७७ जना रहेको विमान दुर्घटना भएको हो । ६ जना बाँच्न सफल भएपनि अरुको ज्यान गयो ।

चापेकोएन्सका खेलाडी साउथ अमेरिकी क्लब कपको फाइनलमा कोलम्बियाको टिम एथ्लेटिको नेसिओनलसँग खेल्न गएका थिए । 

खेलाडी चढेको विमान दुर्घटना भएको यो पहिलो पटक भने होइन । विमान दुर्घटनामा आफ्ना धेरैजसो खेलाडी गुमाउने टिमको सूचीमा ब्राजिलको फुटबल टिम चापेकोएन्स पनि समावेश भएको हो । 

यसअघि विमान दुर्घटनाको सिकार बनेका खेल क्लब

१) लोकोमोटिभ यारोस्लेवल आइस हकी टिम–२०११

रुसको लोकोमोटिम यारोस्लेवल आइस हकीमा तीनपटक च्याम्पियन बनेको टिमका खेलाडी चढेको विमान सन् २०११ को सेप्टेम्बरमा दुर्घटनाग्रस्त भएको थियो ।

यसमा टिमका सबै खेलाडीको ज्यान गएको थियो । सिजनको पहिलो खेलका लागि खेलाडी लिएर बेलारुस जाँदै गरेका बेला विमान दुर्घटना भएको हो । 

दुर्घटनापछि विमानमा आगो लागेको थियो । विमानको केही भग्नावशेष तथा शव तुनोशना नदीमा फेला परेको थियो । चालक दलका सात सदस्य तथा ३६ खेलाडी तथा पदाधिकारी यो दुर्घटनामा मारिएका थिए ।

२) जाम्बिया राष्ट्रिय फुटबल टिम–१९९३


सन् १९९३ को अप्रिल २८ मा जाम्बियाको राष्ट्रिय फुटबल टिमका १८ सदस्य विश्वकप छनौट खेलका लागि सेनेगल जाँदै गरेको विमान दुर्घटनाग्रस्त भएको थियो । 

जाम्बियाको एयरपोर्सको विमान गेबान नजिक दुर्घटनाग्रस्त भएको हो । यसमा सबै खेलाडीको ज्यान गएको थियो ।

३) एलियान्जा लिमा–१९८७


पेरुको सबैभन्दा सफल फुटबल टिम एलियान्जाका खेलाडी जढेको विमान लिमाबाट फर्कने क्रममा सन् १९८७ मा दुर्घटनाग्रस्त भएको थियो । 

अवतरणको केही अघि मात्रै विमान दुर्घटनाग्रस्त भएको हो । विमानमा रहेका ४३ जनासहित एलियान्जा लिमा टिमका सबै खेलाडी दुर्घटनामा मारिएका थिए । यसमा विमानका पाइलट भने बाँच्न सफल भएका थिए ।

४) वल्ड क्रिश्चियन रग्बी टिम–१९७२


सन् १९७२ को अक्टोबर १३ मा उरुग्वेको रग्बी टिम वल्ड क्रिश्चियनका खेलाडी चढेको विमान दुर्घटनाग्रस्त भएको थियो ।उरुग्वेको राजधानीबाट चिलीको सान्टियागो जाँदै गरेको विमान हराएको थियो । दुई महिनापछि चिलीको वायुसेनाले दुर्घटनामा बाँच्न सफल भएका १४ जनाको खोजी गरेको थियो । यो दुर्घटनामा बाँच्न सफल भएको विषयमा किताब लेखिएको छ । त्यही किताबमा आधारित भएर चलचित्र पनि बनेको छ ।

५) अमेरिकाको फिगर स्केटिङ्ग टिम–१९६१

सन् १९६१ मा भएको विमान दुर्घटनामा अमेरिकाको फिगर स्केटिङ्ग टिमका १८ खेलाडीसहित विमानमा रहेका सबै ७३ यात्रुको ज्यान गएको थियो । विमान ब्रसेल्सको विमानस्थलमा अवतरणको क्रममा दुर्घटना भएको हो ।

टिमका खेलाडी विश्व च्याम्पियनसिपमा भाग लिन प्राग, तत्कालिन चेकोस्लोभाकिया जाँदै थिए । अमेरिकी टिमले यो प्रतियोगितामा सन् १९५० देखि दबदबा कायम गरेको थियो । तर दुर्घटनामा धेरैजसो खेलाडी तथा प्रशिक्षक गुमाएको टिमलाई माथि उठ्न निकै वर्ष लागेको थियो । 

– एजेन्सीको सहयोगमा

, ,

प्रतिकृया दिनुहोस्

Loading...