कार्यकर्तालाई ओलीको निर्देशन– ‘आँधीबेहरी’ सिर्जना गर्न तयार रहनुस्



  • काठमाडाैं, १० मंसिर ।
प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीले राष्ट्रिय हितमा तलमाथि गर्ने प्रयास भइरहेको दाबी गर्दै ‘आन्दोलनको आँधीबेहरी’ सिर्जना गर्नका लागि तयार रहन कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् । 

अन्य राजनीतिक दलका नेताहरूसमेत सहभागी गराएर एमालेकै भ्रातृ संगठन युवा संघ र अनेरास्ववियुले बिहीबार प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको संविधान संशोधनसम्बन्धी बहसमा ओलीले संविधान संशोधन विधेयक दर्ता गरेर देखाउन सरकारलाई चुनौतीसमेत दिए । यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ।

‘एमालेका सबै कमिटी जनवर्गीय संगठनसहित आम जनसमुदाय राष्ट्रियताको पक्षमा चनाखो हुनुहोस्,’ ओलीले भने, ‘कुनै पनि समय राष्ट्रिय हितमा तलमाथि हुन नदिन आन्दोलनको आँधीबेहरी सिर्जना गरेर राष्ट्रलाई जोगाउनुपर्ने हुन सक्छ, त्यसका लागि तयार भएर बस्नुहोस् ।’ वर्तमान सरकार नै प्रायोजित ढंगले बनेको र यो सरकार निर्माणको उद्देश्य नै घातक रहेको भन्दै ओलीले त्यही मिसन पूरा गर्न संविधान संशोधन गर्न लागिएको उल्लेख गरे । ‘तर, याद रहोस् संसद्मा हामी पनि छौं,’ उनले भने ।

मुलुकलाई संविधान संशोधन नभई निर्वाचन चाहिएको भन्दै ओलीले त्यतातर्फ ध्यान नदिई संशोधनको कुरा मात्र गर्नु गलत भएको बताए । ‘संविधानमा कतिपय कुरा नमिलेका छन्, मिलाउनुपर्नेछ, ती काम गर्न सकिन्छ तर मुख्य काम त निर्वाचनसम्बन्धी कानुन ल्याउने, निर्वाचन क्षेत्र निर्धारण आयोग बनाउने हो । यी कामका लागि त एक पाइलो पनि अघि सारिएको छैन,’ ओलीले भने, ‘संविधान संशोधन गर्नुपर्ने थियो भने पनि यी काम गर्दै गर्न सकिन्थ्यो नि ।’

उनले गत वर्ष गरिएको संविधानको पहिलो संशोधन पनि आवश्यकता नभई बाध्यता भएको बताए । ‘त्यो संशोधन अर्थहीन भयो, अहिले पनि त्यस्तै हुन्छ,’ उनले भने, ‘उहाँहरूले केही वाचा कबुल गर्नुभएको छ । आदेश अरूकै हो, कुराचाहिँ देशका गर्ने ? नत्र केका लागि संशोधन गर्ने ? देशलाई कहाँनिर फाइदा हुन्छ ? के–के हुन् तराईका समस्या ? मान्नुपर्नेचाहिँ के ?’

कार्यक्रममा ओलीअघि बोलेका तमलोपा नेता हृदयेश त्रिपाठी र फोरम लोकतान्त्रिकका नेता जितेन्द्र देवले मधेसका समस्या तत्काल समाधान गर्नुपर्ने बताए ।

त्रिपाठीले ओली प्रधानमन्त्री बन्दा नै संशोधनको कुरा गरेको र उनले त्यसबेला पठाएका चिठी आफूहरूसँग सुरक्षित रहेको बताएका थिए । ‘कतिपय ननपेपर त हामीलाई नदिई दिल्ली पुर्‍याइयो, चार बुँदामा के थियो ? किन उता पुर्‍याइयो ?’ त्रिपाठीले प्रश्न गरे ।

संघीयता मधेसले लडेर ल्याएको उल्लेख गर्दै उनले अखण्डता र स्वतन्त्रताको धेरै चिन्ता नगर्न ओलीलाई आग्रह गरे । तराईमा छुट्टै प्रदेश भयो भने टुक्रिन्छ भन्ने अभिव्यक्तिप्रति त्रिपाठीले आपत्ति जनाए । ‘त्यसो हो भने प्रदेश नम्बर २ चाहिँ किन दिएको ? टुक्र्याउन ?’ उनले भने ।

देशमा सामाजिक सौहार्दता रहेको तर राजनीति गर्नेहरूको नियत खराब रहेको भन्दै त्रिपाठीले लालबाबु पण्डितलाई पाँचथर र विमलेन्द्र निधिलाई काभ्रेबाट चुनाव जिताएर देखाउन चुनौती दिएका थिए ।

ओलीले त्रिपाठीको यो चुनौतीको जवाफमा भने, ‘तपाईं मेरो तेह्रथुममा १० वर्ष बसेर हेर्नुहोस् कति गाह्रो छ, थाहा हुन्छ, खाली साम्प्रदायिक भावना भडकाउने कुरा मात्र गर्ने ?’ ५५ वर्षदेखि आफू झापामा बसेकाले त्यहींबाट चुनाव लडेको र माधव नेपाल पुस्तौंदेखि रौतहटमा बसेकाले त्यहींबाट चुनाव लडेको भन्दै उनले यसमा प्रश्न गर्ने हैसियत कसैको नभएको बताए । ‘माधव नेपालजी र हृदयेश त्रिपाठी, राजेन्द्र महतोजी को पहिलेदेखि बसेको हो तराईमा ? ओलीले भने ।

, , , ,

प्रतिकृया दिनुहोस्

Loading...