महिलालाई अभद्र टिप्पणी गरेपछि एक चर्चित टेलिभिजन कार्यक्रम बन्द (भिडियोसहित)

  • काठमाडौं, ११ मंसिर

टेलिभिजन कार्यक्रममा एकजना महिला पाहुनालाई अभद्र टिप्पणी गरेपछि केन्याको एक चर्चित टेलिभिजन कार्यक्रम बन्द भएको छ । 

सिएनएनका पूर्व पत्रकारसमेत रहेका जेफ कोइनांगेले सञ्चालन गरेको राजनीति सम्बन्धी कार्यक्रममा एकजना पुरुष पाहुनाले कार्यक्रममै निम्त्याइएकी महिलामाथि नराम्रो शब्द प्रयोग गरेका थिए ।

कार्यक्रमको बिचमा विज्ञापन बजिरहेका बेला ति पुरुष पाहुनाले कार्यक्रममा आएकी महिलामाथि टिप्पणी गर्दै भनेका थिए, ‘यिनी यति राम्री छिन् कि जो कोही पनि यिनको बलात्कार गर्न चाहन्छ ।’ 

यस्तो टिप्पणीयुक्त भिडियो इन्टरनेटमा भाइरल भएपछि दर्शकले कार्यक्रम सञ्चालकको समेत निकै आलोचना गरेको बताइएको छ ।

कार्यक्रममा पाहुनाका रुपमा आएका मिगुआना मिगुआना र एस्टर पासारिश दुबै गवर्नर पदका उम्मेदवार भएको बताइएको छ ।

मिगुआनाले एस्टरमाथि व्यक्तिगत आरोपहरु समेत लगाएका थिए । उनले कार्यक्रममा भनेका थिए, ‘तिमी प्रत्येक ठाउँ पुरुषलाई पछ्याइरहेकी हुन्छ्यौ, आफू राम्री छु भन्ने सोच्छौ, तर तिमी राम्री होइन, तिम्रो छालाको रंगभन्दा बाहेक तिमी केही पनि होइनौ ।’

मिगुआनाको यस्तो आलोचनापछि एस्टरले विभेदको कुरा गरेर नराम्रो काम गरेको बताएकी थिइन् । कार्यक्रम सञ्चालक जेफको आलोचना हुनुको मुख्य कारण भने मिगुआनाले मनपरि बोल्दा पनि उनले रोकेनन् ।


जेफले आफ्नो आलोचनापछि कार्यक्रम बन्द गर्ने निर्णय गरेको बिबिसीमा उल्लेख छ । उनले आफ्नो ट्वीटरमार्फत पनि कार्यक्रम बन्द भएको घोषणा गरेका छन् । उनले प्रत्यक्षप्रसारण हुने कार्यक्रम आफ्नो नियन्त्रणमा राख्न निकै अप्ठेरो हुने प्रतिक्रिया समेत दिएका छन् ।

भिडियो यहाँ क्लिक गरी हेर्नुहोस 

,

प्रतिकृया दिनुहोस्

Loading...