वरिष्ठ साहित्यकार दीक्षितको विद्युतीय शवदाह गृहमा अन्त्येष्टि

- काठमाडौं, १४ पुस ।
वरिष्ठ साहित्यकार कमलमणि दीक्षितको अन्त्येष्टि गरिएको छ । ८७ वर्षको उमेरमा बिहीबार बिहान पौने ३ बजेतिर निधन भएका दीक्षितको पशुपति आर्यघाटमा विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिएको हो ।
केही महिना यता श्वासप्रश्वास सम्बन्धी समस्या देखिएका दीक्षितको ललितपुरको पाटनढोकामा रहेको निवासमा निधन भएको हो । मदन पुरस्कार पुस्तकालय तथा मदन पुरस्कार गुठीका अध्यक्ष समेत रहेका दीक्षितले ६ दर्जनभन्दा धेरै पुस्तकको लेखन तथा सम्पादन गर्नुभएको छ । उहाँका दुई हजारभन्दा धेरै फुटकर रचना प्रकासित छन् ।
लेखनको सुरूवातका वर्षमा अनुसन्धानमुलक लेख तथा पुस्तकका कारण चर्चित दीक्षित पछिल्लो समय नियात्रा, निबन्ध, संस्मरण तथा पुस्तक र प्रकाशन क्षेत्रका विषयमा फुटकर लेख तथा स्तम्भ लेखनमा सक्रिय थिए ।
उनी मदन मेमोरियल स्कुल, साझा प्रकाशन, गोरखापत्र संस्थान, रोटरी क्लब, जनक–जानकी सभा, बीपी कोइराला संग्रहालय समिति, बिपी कोइराला नेपाल–भारत प्रतिष्ठान आदि जस्ता दर्जनौं भाषिक, साहित्यिक, साँस्कृतिक संस्थामा आवद्ध थिए । दीक्षितका दुई छोरा र एक छोरी छन् । छोराहरु कुन्द र कनकमणी दीक्षित पत्रकारितामा सक्रिय छन ।
प्रतिकृया दिनुहोस्
Loading...
