यी विषयमा भयो बाबुराम र मधेसी नेताबीच छलफल

- मंसिर,३० काठमाडौं ।
नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई र मधेसी मोर्चाका नेताहरुबीच बिहीबार छलफल भएको छ । र, नेताहरुले पुरानै संरचनामा स्थानीय चुनाव गरे प्रतिगमनको गम्भीर सुरुवात हुने विश्लेषण गरेका छन् ।
बबरमहलस्थित नयाँ शक्तिका नेता केशवमान शाक्यको घरमा भएको छलफलमा मधेसी मोर्चाका महन्थ ठाकुर, राजकिशोर यादवसहितका नेताहरु सहभागी थिए ।
बैठकमा पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले प्रमुख तीन दल संविधान संशोधन विधेयकलाई थाती राखेर पुरानै संरचनामा स्थानीय चुनाव जान खोजेको आशंका गरे ।
पछिल्लो पटक भएको भेटमा प्रधानमन्त्री प्रचण्डले संशोधन विधेयक परिर्माजन गरेर अघि बढ्ने बताएको तर, पछिल्ला ३/४ दिनको घटनाले शसकीत बनाएको उनले बताए । पुरानै संरचनामा स्थानीय चुनाव गर्नु संघीयतालाई नै समाप्त पार्ने खेल हुने भन्दै उनले मधेसी मोर्चाको धारणा के छ भनेर सोधेका थिए ।
तमलोपा अध्यक्ष ठाकुरले आफूहरुले पनि यसबारे प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवासँग कुराकानी गर्न चाहेको तर, सम्भव नभएको बताए । आफूहरु संशोधनलाई परिर्माजन गरेर अघि बढ्न चाहेको भन्दै उनले यसलाई थाँती राखेर चुनावमा जान खोजे बहिस्कार गरेर आन्दोलनमा जाने उनले बताए ।
रामसपाका महासचिव केशव झाले आफूहरुले शशर्त पुरानै संरचनामा स्थानीय चुनाव गर्न सहमति दिएको बताए । संविधान संशोधनसँगै स्थानीय तहलाई प्रदेश मातहतमा ल्याउनु पर्ने र निर्दलीय चुुनाव हुने भए पुरानै संरचनाकै चुनावमा पनि आफूहरु सहमत हुने भन्दै उनले यथास्थितिमा भने स्वीकार्य नहुने बताए ।
बैठकमा भोलिसम्म प्रचण्ड र देउवासँग छलफल गरेर आधिकारिक धारणा बुझ्ने सहमति भएको छ । र, यदि संशोधनलाई थाँती राखेर पुरानै संरचनामा स्थानीय चुनाव गर्न खोजे संयुुक्त रुपमा विरोध गर्ने निर्णय भएको नेता केशव झाले बताए ।
प्रमुख दलहरले यदि पुरानै संरचनामा स्थानीय चुनाव गर्न खोजे प्रतिगमनको गम्भीर सुरुवात हुने बैठकको निर्णय रहेको नयाँ शक्तिका नेता पासाङ शेर्पाले बताएका छन् ।
प्रतिकृया दिनुहोस्
Loading...
