नेपाली महिला टोलीले आज मलेसियासँग मैत्रीपूर्ण फुटबल खेल्दै


  • काठमाडौं, २  पुस ।

नेपाली महिला टोलीले शनिबार मलेसियाको राष्ट्रिय महिला टोलीसँग मैत्रीपूर्ण फुटबल खेल्दैछ । 

भारतको सिलिगुढीमा पुस ११ गतेदेखि हुने महिला साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपालले मलेसियाको महिला फुटबल टोलीसँग खेल्न लागेको हो । खेल दिउँसो दुई एन्फा कम्लेक्स सातदोबाटोमा हुनेछ । 

नेपाली टोलीका मुख्य प्रशिक्षक कुमार थापाले मैत्रीपूर्ण खेलमा केही नयाँ खेलाडीलाई डेब्यु गराउने जानकारी दिएका छन् । प्रशिक्षकका रुपमा आफूलाई यो खेलमा चुनौती र अवसर दुवै रहेको उनको भनाई छ ।

उनले भने ‘प्रतियोगिताको अघि राम्रो टिमसँग खेल्न पाउनु राम्रो कुरा हो । यो खेलमा हाम्रो बलियो र कमजोर पक्षका बारेमा थाहा पाउने छौं । यसले प्रतियोगितामा राम्रो नतिजा ल्याउन सहयोग गर्ने छ ।’ साफ च्याम्पियनसिपका लागि आफूले चयन गरेको टोलीमाथि पूर्ण विश्वास रहेको प्रशिक्षक थापाले बताए । कप्तान रेनुका नगरकोटीले तयारी राम्रो भएकाले नतिजा पनि आफ्नो पक्षमा पर्नेमा विश्वस्त रहेको बताइन् ।

यस्तै मलेसियाका प्रशिक्षक मोहद एसराफ अब्दुल्लाहले नेपालसँगको खेललाई नयाँ अनुभवको रुपमा लिएको बताएका छन् ।

साफ च्याम्पियनसिपमा सार्कका सात देशको सहभागिता छ । प्रतियोगितामा पाकिस्तानले सहभागिता जनाएको छैन । नेपाल रहेको समूह ‘ए’ मा श्रीलंका, माल्दिभ्स र भुटान छन् । यस्तै समूह ‘बी’ मा आयोजक भारतसँगै बंगलादेश र अफगानिस्तान छन् । प्रतियोगिता पुस २० गते सकिने छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...