सुनसरीमा हात्ती आतङ्क, स्थानीय रातभर जाग्राम

- सुनसरी, २० पुस।
सुनसरी पश्चिम कुशाहा गाविस–४ का योगेन्द्र उराव रातिको समयमा चयनले सुत्न पाएनन् । दिनभरि काममा थाकेर आराम गर्नका लागि घर आउने योगेन्द्रको आराम गर्ने सपना करिब चार महिनादेखि पूरा भएको छैन ।
कारण एउटै हो, जङ्गली हात्तीको आतङ्क । कोसी टप्पु वन्यजन्तु आरक्षबाट दैनिकरुपमा राति र दिउँसोको समयमा निस्कने हात्तीको आतङ्कले उनी मात्रै होइनन्, यहााका धेरै नागरिक आतंकीत छन् ।
हात्तीले आएर घरमा तोडफोड गर्नुका साथै स्थानीयवासीको बाली र मौका परेको बेला मानवीय क्षतिसमेत गर्ने भएका कारण आफूहरु रातभर जाग्राम बस्न बाध्य भएको पश्चिम कुशाहा–४ का रामनारायण सिंहको गुनासो छ ।
आरक्षबाट प्रत्येक दिन रातको समयमा तीन/चार वटाको समूहमा निस्कने जङ्गली जनावरका कारण स्थानीयवासी जङ्गली जनावर धपाउन र वन्यजन्तुको आक्रमणबाट जोगिन रातभर जाग्राम बस्न बाध्य भएका छन् ।
आरक्ष क्षेत्रमा सोलार फेन्सीङको केही क्षेत्रमा व्यवस्था गरेको भएपनि कमजोर तारबारका कारण जङ्गली जनावर निर्बाधरुपमा निस्केर गाउँ पस्ने गरेको र गाउँमा आतङ्क मच्चाउने गरेको श्रीपुरका धर्मेन्द्र मेहताको भनाइ छ ।
स्थानीयवासी मात्र नभई आरक्षबाट दैनिकरुपमा आउने जङ्गली हात्तीका कारण आफूहरु समेत समस्यामा परेको आरक्षका कर्मचारीको गुनासो छ । रातिको समयमा हात्तीले सुतेको कोठाअगाडि आएर बितण्डा मच्चाउने गरेका कारण रातिको समयमा ज्यान जोगाउन समस्या भएको आरक्षका सहायक संरक्षण अधिकृत झोलाइ चौधरीले बताए ।
स्थानीयवासीलाई काठ दाउरा र चरीचरनबाट रोक लगाउने गरेको भएपनि आरक्षले जङ्गली जनावर रोक्न नसकेकोमा स्थानीयवासीले आक्रोश पोखेका छन् । आरक्षमा रहेको समस्या समाधान गर्न आरक्ष प्रशासन उदासीन रहेको स्थानीयवासीले बताएका छन् ।
आरक्षले आफ्नो क्षेत्रमा जनतालाई प्रवेश गर्न नदिने तर जङ्गली जनावर गाउँ पसेर बाली खाने, कुल्चिदिने, नष्ट गरीदिने गरेको भएपनि त्यसलाई रोक्न ध्यान नदिएको आरक्ष क्षेत्रका सर्वसाधारणको गुनासो छ ।
प्रतिकृया दिनुहोस्
Loading...
