शेर्पा क्लव झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश
- काठमाडौं, १७ माघ ।
हिमालयन शेर्पा क्लव झापाको विर्तामोडमा जारी दोस्रो झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। टाइब्रेकरमा ३–२ गोलअन्तरले विभागीय टिम एपीपएफलाई हराउँदै शेर्पाले अन्तिम ४ मा स्थान पक्का बनाएको हो।
निर्धारित समय २–२ गोलको बराबरी भएपछि अतिरिक्त २० मिनेट समय थपिएको थियो। अतिरित्त समय पनि गोलरहितमा बराबरीमा सकिएपछि खेलको निर्णय ट्राईव्रेकरबाट गराईएको थियो। टाइब्रेकरमा हिमालयन शेर्पाका हेमन गुरुङ, निराजन खड्का र निशान लिम्बूले गोल गरे।
एपीएफका तर्फबाट नविन लामा र राजेन्द्र रावलको प्रहार मात्र जाली चुमेको थियो। टाइब्रेकरमा एपीएफका सुदिप सिख्रकर, कप्तान मिलन राई र सन्तोष कटुवालले गोल गर्न नसकेपछि पहिलो खेलबाटै एपिएफ घर फर्किएको हो।
हिमालयनका भूपाल गुरुङ र सुनिल बलको प्रहार गोलपोष्टबाटै बाहिरीएको थियो। पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा एपीएफले गोल गर्दे खाता खोलेको थियो। एपीएफका युवराज खड्काले ५९ औँ मिनेटमा पहिलो गोल गरेका थिए। श्याम नेपालीको पासलाई युवराजले हेडमार्फत सानदार गोल गरेका थिए।
युवराजले दोस्रो गोल ७५ औँ मिनेटमा गरेका थिए। नविन लामाको पासलाई सदुपयोग गर्दै उनले व्यक्तिगत दोस्रो गोल गरेका हुन्। जीत लगभग सुनिश्चितझैं ठानेर दोस्रो हाफको अन्त्यतिर एपीएफले गोलरक्षक परिवर्तन गर्यो । राजु योगीका स्थानमा अमृत चौधरीलाई गोल पोष्टको जिम्मा दियो।
तर, त्यसलगत्तै एकाएक खेलको माहोल परिवर्तन भयो। एपीएफको गोलपोस्टमा लगातार २ गोल वर्षिए। अन्तत शेर्पाको नजरमा एपिएफ निरीह सावित भयो हिमालयन शेर्पाले दुई मिनेटको अन्तरालमा २ गोल फर्काएपछि खेल बराबरीमा पुगेको थियो।
हिमालयन शेर्पाका लागि ८७औँ मिनेटमा सुनिल बल र ८८ औँ मिनेटमा निशान लिम्बूले गोल फर्काउँदै खेलमा फर्किए। खेलको म्यान अफ द म्याच हिमालयन शेर्पाका गोलरक्षक किशोर गिरी घोषित भए ।
मङ्गलबारको खेल रुपन्देही–११ र विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच हुने आयोजक समितिका अध्यक्ष महेन्द्रकुमार गिरीले सेतोपाटीलाई जानकारी दिए। त्रिभुवन आर्मी राष्ट्रिय खेलाडीले भरिएको टोली हो। आर्मीका खेलाडी भरत खवास, नवयुग श्रेष्ठ र विकेश कुथु मंगलबार मैदानमा उत्रदैछन्।
प्रतिकृया दिनुहोस्
Loading...