सर्वोच्चले देशलाई ठूलो दुर्घटनाबाट जोगायो : माधव नेपाल


  • काठमाडौं, २० पुस ।

नेकपा एमालेका नेता माधवकुमार नेपालले संविधान संशोधनसम्वन्धी सर्वोच्चको आदेशले देशलाई ठूलो दुर्घटनामा जोगाएको बताएका छन् । 

प्रेस चौतारी नेपालले बुधबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले संशोधन असंवैधानिक भएको एमालेको दाबीलाई पुष्टि गरेको बताए ।

पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले पाँच नम्बर प्रदेशको सीमांकन हेरफेर गर्ने प्रस्ताव देश टुक्राउने सुरुवातमात्रै भएको दाबी गरे । जनभावना विपरित सरकार अघि बढ्न खोजेकाले आफूहरुले विरोध गरेको नेता नेपालले बताए ।

 ‘यो देशलाई द्वन्द्वमा लैजाने सरुवात मात्र हो, देशलाई चक्रव्यूहमा फसाउने सुरुवात मात्र हो,’ उनले भने, ‘प्रचण्डको यो कदम जनभावना बिपरित र गलत छ ।’

उनले संशोधन प्रस्ताव सके फिर्ता लिएर, नभए थाति राखेर चुनावमा केन्द्रित हुन सरकारलाई सुझाव दिए ।

प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड दबाव र प्रभावमा परेर संविधान संशोधन प्रस्ताव ल्याएको नेता नेपालको दाबी छ । उनले त्यसलाई रोक्न सत्ता साझेदार दल कांग्रेसको नेतृत्वलाई समेत सुझाव दिए ।

उनले राष्ट्रिय सहमतिको सरकार गठनका लागि छलफल गर्न एमाले तयार रहेको पनि बताए ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...