पुसको ठण्डीमा प्रधानमन्त्री प्रचण्डले यसरि रोपे धान

मेशिनको सहायताले धान रोप्दै प्रधानमन्त्री प्रचण्ड । तस्वीर: प्रधानमन्त्रीको सचिवालय


  • झापा, १९ पुस । 


पुस-माघको ठण्डी याममा हिलोआली गरेर धान रोपेको सुन्दा नेपाली किसानलाई निकै अनौठो लाग्न सक्छ ।

मंगलबार झापामा प्रधानमन्त्री प्रचण्डले धान रोपेको सुनेपछि धेरैले यस्तै प्रश्न गरे- पुसमा पनि कहीँ धान रोपिन्छ र ? यो के नाटक गरेको हो ?

तर, यो कुनै नाटक होइन । अब नेपालमा पुस-माघको जाडोमा रोपाइँ गरेर फागुन-चैतमा धानको भात खान पाइने नयाँ बिऊ भित्रिएको छ ।

बंगलादेशबाट नेपालमा भित्रिएको यो धानलाई ‘बोरो राइस’ भनिन्छ । प्रधानमन्त्री प्रचण्डले मंगलबार बनियानीमा यही ‘बोरो राइस’ जातको धान रोपेका हुन् ।

झापामा घोषित ‘सुपरजोन’ परियोजनाका इकाइ प्रमुख मेघनाथ तिमल्सिनाका अनुसार बोरो जातको धानको बेर्ना १५ दिनमा तयार हुन्छ । १५ दिनमा रोप्नका लागि तयार हुने यो धान रोपेको १०५ दिनमा पाक्छ ।

अहिलेसम्म एक बाली वा दुई बालीमात्रै धान रोपिँदै आएको झापा- मोरङमा अचेल पुस-माघमा समेत धान रोप्ने प्रविधि र बिऊ भित्रिन थालेको किसानहरु बताउँछन् ।

मोरङको रंगेलीमा केही किसानहरुले अहिले पुस महिनामा धान रोप्न हिलोआली गरेका छन् । झापा जिल्ला धान खेतीका लागि प्रख्यात भए पनि यहाँका किसानहरुले प्रायः एक बालीमात्रै धान लगाउने गरेका छन् । 

असार साउनमा धान रोप्ने र कात्तिक मंसिरमा बाली उठाउने गरिँदै आएको छ । बाँकी समय झापामा अधिकांश खेत बाँझै रहन्छ भने केही ठाउँमा गहूँ, मकै र दलहन लगाउने गरिएको छ ।

जग्गा प्लटिङ गर्ने प्रचलनको उल्टो यतिबेला झापामा सामुहिक खेती फस्टाउन थालेको छ । गौरादहका ५४ परिवार किसानले मेसिनको प्रयोगबाट सामुहिक खेती सुरु गरेका छन् ।

५३ हेक्टरमा सामुहिक खेती गर्न थालिएपछि सरकारले यसलाई धानको कृषि ब्लक घोषणा गर्ने आश्वासन दिएको छ ।

अब आर्थिक क्रान्तिको पालो आयो : प्रचण्ड

प्रधानमन्त्री प्रचण्डले धान रोप्ने क्रममा अब राजनीतिक क्रान्ति सकिएको भन्दै आर्थिक क्रान्तिको पालो आएको बताएका छन् । धानखेतीको सुपरजोन उद्घाटन गर्दै उनले भने, ‘आर्थिक क्रान्तिका लागि नेपालको कृषि क्षेत्रको विकास पहिलो सर्त हो ।’

दश वर्षभित्रमा झापाबाट नेपालभरिलाई पुग्ने धान उत्पादन गर्ने उद्देश्यसहित सुपरजोनको योजना थालिएको उनले बताए । प्रधानमन्त्रीले कृषकहरु देशको गहना भएको जिकिर गरे ।

व्यवसायिक कृषिका लागि स्वदेशी श्रम र शक्ति आवश्यक रहेको भन्दै उनले भने, ‘अब युवा जमातले कृषि कर्मको नेतृत्व लिनुपर्छ ।’

प्रतिकृया दिनुहोस्

Loading...