हारबाट जोगियो आर्सनल, बोर्नमाउथसँग ३–३ को बराबरी


  • काठमाडौँ २० पुस ।
इंग्लिस प्रिमियर लिग अन्तर्गत मंगलबार राति भएको खेलमा आर्सनल हारबाट जोगिन सफल भएको छ । ५८ औं मिनेटसम्म ३–० ले पछि परेको आर्सनलले खेलमा पुनरागमन गर्दै बोर्नमाउथसँग ३–३ को बराबरी खेलेको हो ।

घरेलु मैदानमा भएको खेलमा १६ औं मिनेटमा ड्यानिएल्स, २० औं मिनेटमा विल्सन तथा ५८ औं मिनेटमा फ्रासरको गोलबाट बोर्नमाउथले ३–० को अग्रता लिएको थियो । तर त्यसपछि आर्सनल खेलमा फर्कियो । आर्सनलले खेल सकिन २० मिनेट बाँकी हुँदा खेलमा पुनरागमन गरेको हो । 

७० औं मिनेटमा एलेक्स सान्चेजले तथा ७५ औं मिनेटमा लुकास पेरेजले गोल गर्दै खेल ३–२ को अवस्थामा ल्याए । ८२ औं मिनेटमा फ्रान्सिस रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि बोर्नमाउथ १० खेलाडीमा सीमित भयो । ३–२ ले पछि परेको आर्सनलका लागि इन्जुरी समयमा ओलिभर जिरउडले बराबरी गोल फर्काए । 

बराबरीपछि चौथो स्थानको आर्सनलको २० खेलबाट ४१ अंक भएको छ । यो खेलमा जित निकालेको भए म्यानचेस्टर सिटीलाई पछि पार्दै आर्सनल तेस्रो स्थानमा उक्लने थियो । म्यानचेस्टर सिटीको ४२ अंक छ । 

प्रिमियर लिग अन्तर्गत राति नै भएको खेलमा स्वान्सी सिटीले क्रिष्टल प्यालेसलाई २–१ ले हरायो । नयाँ प्रशिक्षक पल क्लेमेन्टको प्रशिक्षणमा खेलेको स्वान्सी सिटीको पछिल्ला पाँच खेलमा पहिलो जित हो । अर्को खेलमा स्टोक सिटीले वाट्फोर्डलाई २–० ले हरायो ।

,

प्रतिकृया दिनुहोस्

Loading...