किन बचाउने रारा ?

रारामा पुगेका एक चिनियाँ पर्यटकले भनेका थिए, ‘मानसरोवर सधैँ ठूलो र राम्रो लाग्थ्यो तर राराको तुलनामा मानसरोवर हरेक हिसाबमा तल रहेछ ।’ ०२० सालमा राजा महेन्द्र रारा पुग्दा राराको सुन्दरताप्रति लोभिँदै राराकी अप्सरा शीर्षकको कवितासमेत रचना गरेका थिए । सोही वर्ष जिल्ला पञ्चायतको बैठकबाट रारालाई महेन्द्र तालको नामकरणसमेत गरिएको थियो ।
अनुपम प्राकृतिक उपहार रारा समुद्री सतहबाट २९ सय ९० मिटर उचाइमा छ । पाँच किमि लम्बाइ, तीन किमि चौंडाइ, १६७ मिटर गहिराइ र १०.८ वर्गकिमि क्षेत्रफलमा फैलिएको रारा नेपालको सबैभन्दा ठूलो ताल हो । सन् २००७ मा विश्व रामसार सूचीमा सूचीकृत राराताल नेपालको बहुमूल्य पुँजी हो । तर, रारालाई यतिवेला अनेक आँखाले हेरिरहेका छन् । कसैले मनको उद्गारको रूपमा त कसैले मनोरञ्जनका रूपमा । निश्चल राराको नाममा राज्यका केही उच्चपदस्थले कमाई खाने भाँडो पनि बनाउन खोज्दै छन् ।
कर्णालीका फोटा बेचेर खान पल्केका एनजिओ–आइएनजिओहरूले राराको बाटो धेरै ओहोरदोहोर गरे । तर, कहिल्यै राराको संरक्षणमा ध्यान दिएनन् । कर्णालीको पर्यटन विकास गर्ने ठेक्का लिएको कणार्ली क्षेत्र पर्यटन प्रवद्र्धन समिति आफ्ना कार्यकर्ता र कर्मचारी पाल्न व्यस्त छ । समग्र कर्णाली तथा राराका पर्यटकीय क्षेत्रको नाम जप्दै धेरै राजनीतिक दलका नेता मन्त्री भए । तर, उनीहरूले कहिल्यै कर्णाली र रारालाई न्याय दिन सकेनन् ।
राराको बुई चढेर सत्तामा पुगेका नेताले राराको मूल्य कहिल्यै बुझेनन् । बँदेलको सिकार गर्न रारा गएका वेला राराको रूप देखेर मन्त्रमुग्ध भएका राजा महेन्द्रले ०३२ मा रारा राष्ट्रिय निकुञ्ज घोषण गरे । ०३५ सालमा त्यहाँ रहेका तीन सय ३५ घरधुरीलाई बाँकेको चिसापानी, गावर र बानियावार स्थानान्तरण गरियो ।
राराको समग्र विकासका लागि एउटा अधिकार सम्पन्न रारा विकास बोर्डसमेत गठन गरेर जान नसकेको स्थितिमा विभिन्न तारे होटेलका नाममा कौडीको मूल्यमा बेचिँदै छ । हामी रारावासी विकासका बाधक होइनौँ । तर, कमाउन र नियमित दुहुनु गाई बनाउन केही उच्चपदस्थहरू विभिन्न होटेल रेस्टुराँहरूको सम्झौता गर्दै छन् । अन्य विकासका पूर्वाधार तयार नपारी केबल होटेलतिर लाग्नु रारालाई दुर्गन्धित बनाउने बाटोमा डोर्याउनु हो ।
रारामा विभिन्न होटेलको योजना अगाडि बढाइरहँदा अनेक प्रश्न उब्जिएका छन् । राराको भविष्यका लागि होटेलका प्रभाव के–कस्ता रहन्छन् ? निकुञ्जभित्र होटेल वा रेस्टुराँ राख्न उचित कि अनुचित ? उचित हो भने यहाँ रहेको बस्ती किन हटाइयो ? होटेल थप्नुभन्दा जनतालाई प्रत्यक्ष प्रभाव राख्ने गरी सरकारी विकासे आयोजना थप्नु जायज पो हुन्छ कि ? सरोकारवाला स्थानीयवासीको मनोभाव बुझ्नुपर्छ कि पर्दैन ?
स्वर्गसँग तुलना गरिने राराको प्राकृतिकपनको संवद्र्धन र प्रवद्र्धन अहिलेको अहं आवश्यकता हो । रारा पुग्ने हरेकजसो स्वदेशी तथा विदेशी पर्यटकको एउटै सुझाब छ, ‘राराको प्राकृतिक सौन्दर्य जोगाउनुपर्छ । रारालाई सधैँ यत्तिकै सुन्दर राख्न सके यहाँ पुग्ने पर्यटकको संख्या निरन्तर बढ्छ ।’ स्वदेशी तथा विदेशी पर्यटकको आगमन पछिल्ला वर्षमा बढ्दै गएको छ ।
एकातिर स्वदेश तथा विदेशमा राराको चर्चा बढ्दै गएको छ भने अर्कोतिर राराको प्राकृतिक सुन्दरताको अनुचित लाभ लिने उद्देश्यका साथ ठूलो चलखेल पनि । विभिन्न प्रलोभनको भ्रम छर्दै राराकिनारमा काठमाडौंका भन्दा महंगा तथा ठूला होटेल खोल्न सरकारले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन संशोधन गरी शंकास्पद रूपमा रारामा स्टार होटेल खोल्ने व्यवसायीलाई सबै खालको कर छुट दिने निर्णयसमेत गरिसकेको छ । यसखालको परिघटनाबाट रारा र राराको प्राकृतिकपन मात्र होइन, रारानजिकको एक मात्र गाउँ मुर्मा पनि सिकार हुने निश्चित छ ।
मुगुको जिल्ला परिषद्बाट रारा राष्ट्रिय निकुञ्जको कार्यालय, निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको ब्यारेक, सोका गेस्टहाउस पनि तालको किनारबाट उपयुक्त स्थानमा सार्ने सर्वसम्मत निर्णय भइसकेको अवस्थामा राराभन्दा बाहिर सीमित होटेल खोल्न दिने र मुर्मालगायत अन्य गाउ“लाई होमस्टे गाउ“को रूपमा विकास गर्नु हितकर र वैज्ञानिक हुने देखिन्छ । जलवायु परिवर्तनलगायत विभिन्न प्राकृतिक प्रकोपका कारण बर्सेनि रारातालको पानीको सतह घटिरहेको छ । तालका किनारा बगरजस्तै देखिन थालेको सत्यलाई समेत आत्मसात् गर्दै सरोकारवाला निकाय, राजनीतिक दलका नेता–कार्यकर्ता, व्यवसायी तथा हामी सम्पूर्ण मुगुवासी सचेत हुनु अहिलेको आवश्यकता हो ।
हामीलाई थाहा छ, राराको सही पर्यटन विकासले मात्रै पनि सिंगो कर्णाली सबल र समृद्ध बन्न सक्छ । राराको दिगो विकास तथा प्रवद्र्धन गर्दै कर्णाली राजमार्गको स्तरोन्नति गरी चाइनाको नाक्चालाग्नसम्म सडक विस्तार, से–फोक्सुन्डो, बडिमालिका, खप्तड रारा र हुम्ला हुँदै मानसरोवरसँग रारालाई जोड्न सके मुगाली मात्र होइन, मध्य–सुदूरपश्चिमका हजारौँ नागरिक प्रत्यक्ष रूपमै लाभान्वित हुने देखिन्छ । यसर्थ पनि राराको दिगो विकास गर्न राराको पर्यटन विकासमा अधिकार सम्पन्न भरपर्दो संयन्त्र रारा पर्यटन विकास बोर्डको गठन गरिनु जरुरी छ । २६ फागुनमा बस्ने सरकारको मन्त्रीस्तरीय बैठकले अधिकार सम्पन्न रारा विकास बोर्ड वा प्राधिकरणको स्थापना गरोस् । कर्णाली राजमार्गको स्तरोन्नतिसँगै रारालाई चीनसँग जोड्न मितेरी पुलका लागि नाक्चेलाग्न सडक विस्तार गरी पर्याप्त बजेटको व्यवस्थापन गरोस् । सुन सिरानी हालेर नुनको खोजीमा भाैँतारिइरहेका कर्णालीवासीमा नेपाल सरकारको रारामा हुने मन्त्रीस्तरीय बैठकले आशा जगाएको छ ।
(रोकाया रारा पर्यटन विकास समितिका अध्यक्ष तथा रारा बचाउ अभियान्ता हुन्
प्रतिकृया दिनुहोस्
Loading...