जहाँ कम्युनिष्ट पार्टीको झण्डा मुनि प्रहरी कार्यालय छ

पुष्प न्यौपाने ।
रोल्पाको सुदुर उत्तरी गाऊँ थवाङ आज पनि समाजवाद र कम्युनिष्ट व्यवस्थाप्रति पूर्ण विश्वस्त छ । यतिवेला रोल्पाले सभामुख, उपराष्ट्रपति अर्थ तथा उप प्रधानमन्त्री पाएको छ ।
राजकिय संरचनाका यी सम्मानित र कार्यकारी पदहरु आफ्नै माटोको उत्पादन हुँदा लिवाङ गौरवान्वित छ । चिल्ला सडकहरुमा अटो रिक्साहरु गुडाउन पाउँदा लिवाङ गर्वले फुल्ने नै भयो ।
तर आज जुन रोल्पाली जे स्थानमा पुग्यो त्यसलाई त्यहाँ पुर्याउन सवैखाले त्याग, समर्पण र वलिदानको कोटा चुक्ता गर्ने थवाङ शान्तीपूर्ण राजनीति, सत्तासिन माओवादीका गतिविधि र रोल्पाली नेताहरुको वदलिएको दृष्टीकोणसंग सन्तुष्ट छैन ।
थवाङ विचारको स्रोत हो, ऊ फराकिलो छ, ऊ आस्थाको धरोहर हो थवाङसंग दृष्टीकोण छ ऊ कुनै सामान्य गाउ मात्रै होइन । यहि फरक छ लिवाङ र थवाङमा । लिवाङ राजकिय पदधारीहरुको स्वागतमा ओर्लन्छ र थवाङ विद्रोहको गर्भ वोक्दै परिवर्तनको चल्ला कोरल्ने अथक कोशिसमा छ यहि आधारभुत फरक हो लिवाङ र थवाङको ।
लिवाङ राजकिय कानुनको मातहतमा छ । थवाङले राजकिय कानुन र संरचनाहरुलाई आज पनि आफ्नै नियन्त्रणमा राखेको छ । थवाङको मध्य गाउँमा एक प्रहरी चौकी छ । प्रहरी चौकीमा हँसिया हथौडा अंकित रातो कम्युनिष्ट झण्डा छ । थवाङका माओवादी नेता कार्यकर्ताहरुको अनुमति विना प्रहरीले कुनै कानुनी कारवाही वा कदम अगाडि वढाउन पाउँदैन ।
थवाङमा हँसिया हथौडा अंकित कम्युनिष्ट झण्डा विना कुनै कार्यालय राख्न प्रतिवन्ध छ । प्रहरीको हकमा जनताले निश्चित दायरा कायम गरेका छन र प्रहरी त्यसभन्दा अगाडि वढेर कुनै कदम चाल्न पाउँदैन । थवाङ प्रहरीले जनताका यीनै सर्तलाई स्विकार गर्दै कार्यालय राखिएको घरमा झण्डा फहराएको अवस्थालाई स्विकार गरेको हो । प्रहरीसंग थवाङको हकमा त्यसको कुनै विकल्प छैन ।
दश वर्षिय जनयुद्धको आधारभुमी रोल्पा र रोल्पाको पनि थवाङ आज पनि डगमगाएको छैन । तमाम, लोभ, प्रलोभन र घुर्कि धम्कीलाई धोती लगाउँदै आफ्नो स्पष्ट दृष्टीकोणका साथ अघि वढेको छ थवाङ ।
विघटन भएको कम्युन, विघटन भएको माओवादी आन्दोलन र विचलनको नजिक पुगेको समाजवादी दृष्टीकोणलाई पुन संगठित गर्ने नेतृत्वको खोजी गर्दै जलजलाको फेदीमा निर्भिकताका साथ अडिएको थवाङलाई सलाम ।
एक हजार नेता कार्यकर्ताहरुलाई शान्तीपूर्ण राजनीति पश्चात पनि घरमै राखेर राता लालिगुँरासले स्वागत गर्दै कम्युनिष्ट व्यवस्थाको लडाइमा अविचलित अघि वढ्न प्रेरणा दिने थवाङको आँटलाई प्रशंसा गर्ने कुनै शव्द छैन र सहि व्यवहार मात्रै थवाङप्रतिको सच्चा उच्च सम्मान हुनसक्छ ।
एशियन समाचारबाट
प्रतिकृया दिनुहोस्
Loading...