जयबहादुर चन्दलाई आईजीपी सिफारिस गर्न गृहमन्त्रीको निर्देशन

- काठमाडौं २७ माघ ।
नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) कसलाई बनाउने भन्नेबारेमा विवाद भइरहेका बेला गृहमन्त्री विमलेन्द्र निधी जयबहादुर चन्दको पक्षमा उभिएका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवाको वचन हार्न नसकेपछि गृहमन्त्री निधीले गृहसचिव लोकदर्शन रेग्मीलाई डीआईजी जयबहादुर चन्दका नाममा प्रस्ताव तयार पार्न बिहीबार निर्देशन दिएका छन् ।
‘गृहमन्त्रीज्यूले डीआइजी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षकमा नियुक्तिका लागि टिप्पणी उठाउन गृहसचिवज्यूलाई निर्देशन दिनुभएको छ,’ गृहमन्त्रालय स्रोतले भन्यो, ‘अब आइतबार बस्ने मन्त्रिपरिषद बैठकले त्यसमाथि निर्णय गर्नेछ ।’
गृहमन्त्री निधीले बिहीबार साँझ बसेको क्याबिनेट बैठकमै चन्दलाई आइजी बनाउने प्रस्ताव ल्याउन लागेका थिए । तर, समयाभावले प्रस्ताव पेश हुन नसकेको र आइतबारसम्म सरेको स्रोतले बतायो ।
प्रहरी महानिरीक्षकका दाबेदारहरुमध्ये चन्द तेस्रो बरियताका डीआईजी हुन् । पहिलो बरियताका डीआइजी नवराज सिलवाल र दोस्रो बरियताका डीआइजी प्रकाश अर्यालको रोलक्रम मिचेर चन्दलाई आइजीमा सिफारिस गर्न लागिएको हो ।
प्रधानमन्त्री प्रचण्ड प्रहरीको चेन अफ कमाण्ड बिगार्न नहुने अडानमा छन् । यही अडानका कारण देउवासँग विवाद चर्किएपछि प्रधानमन्त्रीले विहीबार बिहानै मुख्यसचिव सोमलाल सुवेदीलाई बालुवाटारमा बोलाएर क्याबिनेट बैठक स्थगित गर्न भनेका थिए ।
तर, सत्य निरुपण आयोगको म्याद बिहीबार नै थप्नुपर्ने बाध्यकारी अवस्थाका कारण विहीबार अपरान्ह मन्त्रिपरिषद बैठक त बस्यो, तर त्यसले आइजीपीबारे कुनै छलफल गरेन ।
प्रतिकृया दिनुहोस्
Loading...
