कालिकोटमा पुग्यो प्लेन, जहाँ तत्कालिन शाही सेनाले लिएको थियो ३५ मजदुरको ज्यान

  • कमल बुढा ।
कालिकोटस्थित सुनथराली बिमान स्थल सुचारु भएको छ । निर्माण कार्य सुरु भएको ३१ बर्षपछि तारा एयरलाइन्सको बिमान शनिबार बिहान पहिलोपटक सुनथराली विमानस्थलमा अवतरण भएको हो ।

बिमानमा पर्यटन मन्त्रालय र नेपाल नागरिक उड्डयनका अधिकारीसहित इन्जीनियरहरुको टोली पनी सहभागी रहेको कालिकोटबाट पत्रकार रुपेन्द्र ऐडीले जानकारी दिएका छन् । 

ऐडीका अनुसार जिल्लामा पहिलोपटक बिमान अवतरण भएपछि उत्साहित भएका स्थानीय बासिन्दाले फूलमालासहित स्वागत गरेका थिए ।

आकाशमा उडेको बिमान मात्र देखेका कालिकोटेका आफ्नै आँखा अगाडी बिमान अवतरण भएपछि हेर्न स्थानीयहरुको भिड लागेको थियो ।

विमानस्थल बनाउँदा ३५ मजदुरले बगाए रगतको खोलो

सुन थराली विमानस्थल निर्माण कार्यमा खटिएका ३५ जना मजदुरलाई तत्कालिन शाही नेपाली सेनाले लाइन लगाएर गोली हानी हत्या गरेको थियो ।

एक ६ महिने नाबालकसहित सुन्थराली विमानस्थल निर्माणमा संलग्न रहेका धादिङ्गका १७ र देशका अन्य जिल्लाका गरी ३५ जना मजदुरलाई ओवादी भन्दै २०५८ फागुन १२ गते तत्कालिन शेरबहादुर देउवा नेतृत्वमा रहेको सरकारी सेनाले लाइन लगाएर गोली हानी हत्या गरेको थियो । 

हत्या भएका सबैजसो धादिङका अति विपन्न चेपाङ र एक दलित परिवारका सदस्यहरु रहेका थिए ।

को को मारिएका थिए ३५ जना मजदुर ?

०५८ फागुन १२ गते कालिकोटको कोटबाडामा माओवादी भन्दै तत्कालिन सरकारी सेनाले ३५ जना मजदुरहरुलाई लाइन लगाएर गोली हान्दै एक-एक गरी हत्या गरेको थियो । 

जसमध्ये ६ महिने नाबालक नबिन बिस्टसहित लालबहादुर कठायत, भीमबहादुर कठायत, गोर्खे कठायत, गणेश विष्ट, टेक विष्ट र गंगा विष्ट कोटवाडाकै स्थानीय बिसिन्दा हुन् ।

त्यस्तै मारिने अन्य मजदुरहरुमा धादिङ्ग जोगीमाराका सानुकान्छा चेपाङ, रामबहादुर चेपाङ, विकास चेपाङ, शेरबहादुर चेपाङ, कुम्ले चेपाङ, चित्रबहादुर (तिलु) चेपाङ, दिलबहादुर चेपाङ, बुद्धराज चेपाङ, टंकबहादुर गुरुङ, गोकण गुरुङ, ज्ञानबहादुर थापा, मञ्जु थापा, टेकबहादुर विक, सानुकान्छा (सूर्य) विक, राजकुमार विक, राजकुमार श्रेष्ठ, काभ्रे दोलालघाटका प्रेम (माइला) तामाङ, काभ्रे सानोबाङथलीका पासाङ तामाङ, रामेछाप नागदहका हर्कबहादुर तामाङ र ताकुकोट गोरखाका कुमार बराम रहेका छन् ।

२०४२ सालमा निर्माण कार्य सुरु गरिएको विमानस्थल ३१ बर्षपछि सुरु त भयो तर निरन्तर हवाई सेवा सुचारु गर्ने बारे अझै सरकारले कुनै ठोस योजना भने बनाएको छैन ।


२०७३ माघ २९ गते प्रकाशित ।

, , , , , ,

प्रतिकृया दिनुहोस्

Loading...