सरकार र मधेशी मोर्चा बीचको बैठक बालुवाटारमा सुरु

  • काठमाडौं, ७ फागुन ।
सरकार र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।

बिहान ११ बजे सुरु भएको बैठकमा संविधान संशोधन प्रस्ताव र स्थानीय तहको निर्वाचनमा केन्द्रित भएर छलफल चलिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका महामन्त्री डा. सशांक कोइराला, गृहमन्त्री विमलेन्द्र निधि, मधेशी मोर्चाका नेताहरु उपेन्द्र यादव, महन्त ठाकुर, राजेन्द्र महतो, अशोक राई लगायतका नेताहरु सहभागी छन् ।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार चक्रपाणि खनालले मधेस केन्द्रित दलका नेताकै सहमतिमा निर्वाचनको मिति घोषणा गर्ने तयारी स्वरुप छलफलका लागि आमन्त्रण गरिएको जानकारी दिए । 

उनले सबै पक्षको सहमतिमा नै स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने र मुलुकलाई निर्वाचनमा केन्द्रित गर्ने सरकारको तयारी रहेको बताए ।

प्रमुख तीन दलका बीचमा स्थानीय तहको निर्वाचन घोषणा गर्ने विषयमा प्रारम्भिक सहमति भइसकेको र उक्त सहमतिमा मधेस केन्द्रित दलका नेतालाई समेत सहमत गराउने सरकारको तयारी छ ।

सरकारले निर्वाचन आयोगलाई यही फागुन ८ गते स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने तयारी भएको जानकारी गराएको छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...