फुटपाथका पसलमाथि महानगरले धावा बोल्यो, काटियो ७ दिने पत्र

  • काठमाडौं,२० माघ  । 

शहरको मुख्य बजारका सडक पेटीहरु फुटपाथ व्यापारीको कब्जामा छ । उनीहरु हिँडडुल गर्न नै अप्ठ्यारो हुने गरी सामान फिँजाएर बस्छन् र सार्वसाधारण भने सवारी साधनबाट जोगिँदै हिड्नु पर्ने बाध्यता छ ।

महानगर प्रहरीले बेला-बेला सामान उठाएर लैजान्छ । तर, फुटपाथ अझै व्यापारीकै कब्जामा छ । विना सम्झौता चलेका यस्ता पसलले महानगरलाई आम्दानी त दिएको छैन नै, यात्रुलाई सास्तीसँग शहरी सौन्दर्यता बिगारेको छ ।
सरकारले फुटपाथ हटाउन प्रयास पनि बेला-बेला गर्दै आएको छ । तर, ब्यापारीहरुको आन्दोलन र त्यसमा हुने राजनीतिका कारण सरकार पछि हट्दै आएको छ ।

अब काठमाडौं महानगरपालिकाले फुटपाथका पसलहरु हटाउन अभियान सुरु गर्दैछ । उनले यसलाई ‘सार्वजनिक सम्पत्तिको संरक्षण तथा सौन्दर्यता प्रवर्द्धन’ अभियान भनेको छ ।

काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङले अब जस्तोसुकै अप्ठयारो आएपनि यस्ता पसललाई हटाई छाड्ने बताएका छन् ।

महानगरपालिकाले विभिन्न स्थानमा सार्वजनिक स्थान अतिक्रमण गर्नेविरुद्ध आक्रमक नीति लिएको छ । पहिलो चरणमा विनासम्झौता विभिन्न सार्वजनिक स्थानमा सञ्चालन भएका सयभन्दा बढी पसल तथा शौचालयलाई हटाउने तयारी छ ।

यसका लागि महानगरपालिकाले त्यस्ता पसल सञ्चालकहरुलाई पत्र काट्दै हटाउनु नपर्ने कारण मागेको छ । ७ दिनभित्र त्यस्ता पसल सञ्चालकले महानगरपालिकामा सम्पर्क गरेर कारण पेश गर्नुपर्नेछ ।


महानगरपालिकाले उत्तर पश्चिमतर्फको शहरी सेवा केन्द्र, न्युरोडको गणेश मन्दिर पछाडिको टहरोमा सञ्चालित पसल, भसिको टोलको कपडा पसल, महाबौद्धभित्रको अस्थायी कपडा पसल, असनको ट्रान्सफर्मर मुनिको पसल र शान्तिबाटिकाको शौचालयलाई हटाउन पत्र काटेको छ ।

यस्तै भोटाहिटी सब-वेका पसलहरु, वीर अस्पताल पारीका पसलहरु, रत्नपार्कको शौचालय छेउको जुत्ता पसल, खुलामञ्चको उत्तर कुनाका पसलहरुका लागि महानगरले हटाउनुनपर्ने कारण मागेको छ ।


७ दिनभित्र पसल सञ्चालकले आफूलाई त्यहाँबाट हटाउनुनपर्ने प्रमाणसहितको चित्तबुझ्दो कारण पेश नगरे तीनलाई हटाएर सो स्थान खाली गराइने महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङले बताए ।

, , ,

प्रतिकृया दिनुहोस्

Loading...