प्रचण्डले शेरबहादुरलाई सत्ता सुम्पिए मधेसी मोर्चा स्थानीय तहको चुनावमा आउने

  • काठमाडौं, २० फागुन । 

प्रधानमन्त्री पदबाट राजीनामा दिएर प्रचण्डले शेरबहादुर देउवालाई सत्ता सुम्पिने हो भने मधेसी मोर्चा स्थानीय तहको चुनावमा आउने मधेसी मोर्चाका एक नेताले दाबी गरेका छन् ।

त्यसरी देउवाको नेतृत्वमा बन्ने सरकारमा माओवादी केन्द्र, राप्रपा र फोरम लोकतान्त्रिक दगायतका दलहरु सहभागी हुने र त्यो सरकारमा दुई तिहाइ पुग्ने मोर्चाका ती नेताको दाबी छ ।

मधेसी मोर्चामा आवद्ध गणतान्त्रिक फोरममा अध्यक्ष राजकिशोर यादवले भने- ‘प्रचण्डजीले काम गर्न सक्नुभएन, त्यसैले अब मोर्चालाई पनि स्थानीय चुनावमा आउने बाटो खोल्ने हो भने उहाँले तत्काल राजीनामा दिएर शेरबहादुरजीलाई सत्ता सुम्पनोस्, त्यो सरकारमा माओवादी, कमल थापा र विजय गच्छदारजीलाई पनि ल्याऔं र संविधान संशोधन गरेर चुनावमा जाऔं ।’

केपी ओली नेतृत्वको सरकार ढालेर आफूले सत्ता सम्हाल्नेवित्तिकै प्रचण्डले कमल थापा र विजय गच्छदारलाई समेट्न सकेको भए अहिलेको जस्तो परिस्थिति नआउने यादवले बताए । 

प्रचण्डले छाडेपछि बन्ने सरकारमा नेकपा एमाले पनि सामेल भयो भने त्यो राम्रो हुने र सर्वदलीय सरकार बनेको अवस्थामा झनै राम्रो हुने यादवले बताए । तर, एमाले सरकारमा आएन भने पनि थापा र गच्छदारसहितको सरकार गठनपछि संविधान संशोधनमा दुई तिहाइ पुग्ने उनको तर्क छ ।

मोर्चाका नेता यादवले प्रचण्डको राजीनामा र देउवाको नेतृत्वमा सरकार गठनको माग गरे पनि मधेसी मोर्चाले यसलाई आफ्नो औपचारिक एजेण्डा बनाइसकेको छैन । तर, यसबारे मोर्चाभित्र आफूले छलफल चलाइरहेको यादवले अनलाइनखबरलाई बताए ।


, , ,

प्रतिकृया दिनुहोस्

Loading...