वैद्य माओवादीका दुई दर्जन जिल्ला माओवादी केन्द्र र नेपाल कम्युनिस्ट पार्टीसँग मिसिँदै

  • काठमाडौं, २६ चैत्र ।
नेकपा (क्रान्तिकारी माओवादी) पार्टीका जिल्ला कमिटीहरु केन्द्रको नियन्त्रणभन्दा बाहिर गएका छन् । जिल्ला कमिटीहरुले आफू खुशी निर्णय गर्दै माओवादी केन्द्र र नेपाल कम्युनिस्ट पार्टीमा एकता गरिरहेका छन् ।

रुकुम, धादिङ माओवादी केन्द्रमा गाभिएका छन् भने धनकुटा जिल्ला पार्टी नेकपासँग । त्यसैगरी अछाम जिल्लामा बिउँमात्र राखेर सबै नेताहरु माओवादी केन्द्रमा प्रवेश गरिसकेका छन् । केही दिनअघि मात्र कर्णाली इन्चार्जसहित ठूलो नेता–कार्यकर्ताको संख्या माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

दोस्रो संविधान सभाको चुनाव बहिस्कार गरेको क्रान्तिकारी माओवादीले स्थानीय चुनावलाई ‘क्रान्तिकारी उपयोग’ भन्दै भाग लिने निर्णय गरिसकेको छ । तर, पनि नेता–कार्यकर्ता आफू खुशी पूरै कमिटी नै गाभिरहेका छन् ।

सप्तरी, सिराहा, इमाल, भोजपुर, सर्लाहीलगायत एक दर्जन जिल्ला कमिटीले नेपाल कम्युनिस्ट पार्टीसँग एकता गर्ने गरी छलफल भइरहेको बताइएछ । दुबै पार्टीका स्थानीय नेताहरुले छलफललाई अगाडि बढाएका छन् । त्यसैगरी कैलाली, दार्चला, डोटी, बाजुरालगायतका जिल्लामा माओवादी केन्द्रसँग एकताको तयारी भइरहेको एक नेताले जानकारी दिए ।

यो क्रान्तिकारी माओवादीमा देखिएको सांगठानिक अराजकता हो । यो केन्द्र पार्टीको नियन्त्रणभन्दा बाहिर गइसकेको छ ।

कारण एउटै मात्र

अर्को पार्टीमा प्रवेश गर्ने नेताहरुका अनुसार नेतृत्वमा देखिएको ढुलमुलका कारण आफूहरु पार्टी परित्याग गरेको बताउँछन् । ‘न चुनाव जित्ने कार्यक्रम, न विद्रोहको कार्यक्रम, कि चुनाव जित्नेमा जान्छौँ कि बहिस्कारको पक्षमा’ एक नेताले अनलाइन डबलीसँग भने ।

चुनावमा सहभगी हुने निर्णय गर्नुअघि कार्यकर्तालाई दोस्रो संविधानसभा चुनाव बहिस्कारको औचित्य पुष्टि गर्न नसक्नु र ढिलो निर्णय गर्नुले पनि स्थानीय पार्टी आफू खुशी निर्णय गर्न थालेका हुन् । यो पनि स्पष्ट कार्यक्रम दिन नसकेकै परिणाम हो ।

क्रान्तिकारी माओवादीभित्र बुझाईका आधारमा तीन समूह छन् । पहिलो, एक्लै चुनाव लडेर जित्न सकिने आधार नभएकाले माओवादी केन्द्रमै गएर चुनावमा सहभागी हुने ।

दोस्रो, पार्टीले विद्रोहका कार्यक्रमलाई अगाडि बढाउन नसकेकाले चुनाव खारेजीको निर्णय गरेको नेकपासँगै बहिस्कारमा सहभागी हुने ।

तेस्रो, माओवादी केन्द्र र नेकपाले लिएका लाइनले जनवादी क्रान्तिले पूर्णता नपाउने भन्दै क्रान्तिकारी माओवादीलाई सुदृढ गर्नुपर्ने, थोरै भएपनि विचार र सिद्धान्तको रक्षा गर्नुपर्ने । यो पनि पार्टीको स्पष्ट कार्यक्रम नभएकै कारण नेता-कार्यकर्ताको बुझाईमा अन्तर अाएको हो ।

तेस्रो बुझाईमा केन्द्रीय नेतृत्व एकमत छ । सत्य पनि कहिले कही अल्पमतमा पर्ने भएपनि पुष्टि भएरै छाड्ने उनीहरुको दाबी छ । जीवन बनाउने भन्दापनि सिद्धान्तको रक्षाको लागि आफूहरु लागेको केन्द्रीय नेतृत्वको भनाई छ ।

क्रान्तिकारी माओवादीका प्रवक्ता हरिभक्त कँडेलका अनुसार मिडियाले जानेको मात्र समाचार बनाएको र आउनेको कुरा लुकाएकोले यस्तो देखिएको बताउँछन् । कँडेलले पार्टी निकट एक अनलाइनलाई अन्तरवार्ता दिँदै अवसरवादीहरुले पार्टी छोडेको बताए । अरुलाई बोकेर क्रान्तिकारी माओवादीभित्र बस्नु भन्दा जानु नै ठिक भएको कँडेलको तर्क छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...