आन्दोलनरत संयुक्त विद्यार्थी र शिक्षामन्त्रीबीच बार्ता, वृद्धि गरिएको शुल्क १५ दिनभित्र फिर्ता हुने

  • काठमाडौं, १५ बैसाख । 

निजी विद्यालयले बढाएको चर्को शुल्क घटाउनु पर्ने माग राख्दै चरणवद्ध आन्दोलनमा उत्रिएको संयुक्त विद्यार्थी सङ्गठन र शिक्षामन्त्री धनिराम पौडेलबीच वार्ता भएको छ ।

आन्दोलनरत विद्यार्थी संगठनले उठाउँदै आएका मागहरुका विषयमा आफु सकारात्मक रहेको भन्दै शिक्षामन्त्री पौडेलले विद्यार्थीहरुलाई आन्दोलनका कार्यक्रम रोकेर वार्तामा आउन आग्रह गरेका थिए ।

आन्दोलनरत संयुक्त विद्यार्थी संगठनका प्रतिनीति, नेता लगाएत शिक्षा मन्त्री एवं अन्य सरोकारवाला निकायबीचमा शुक्रबार लिखित सहमति भएको माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीका नेता डीबी साउदले बताए ।

बार्तापछि विद्यार्थी संगठनले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् भने चर्को शुल्क लिएर संचालन गरिएका निजी विद्यालयहरुलाई १५ दिन भित्र उक्त रकम फिर्ता गर्न मन्त्रालयले कडा निर्देशन दिने भएको छ ।

‘शिक्षा नियमावली २०५९ तथा संस्थागत विद्यालयहरुको शुल्क निर्धारण मापडण्ड निर्देशिका, २०७२ कडाईका साथ कार्यान्वयन गर्ने, संस्थागत विद्यालयले नियमावली तथा निर्देशन विपरित बढाएको शुल्क १५ दिन भित्र फिर्ता गर्न तत्काल निर्देशन गर्ने र उक्त निर्देशन कार्यान्वयन नगर्ने विद्यालयको दर्ता खारेजीसम्मको कार्वाही गर्ने गराउने छौ ।’ सहमति पत्रमा भनिएको छ ।

त्यसैगरी शिक्षाका समसाययिक विषयमा अन्तरक्रिया गरी शिक्षा मन्त्रालयलाई सुझाब दिन मन्त्रालयका सहसचिवको संयोजकत्वमा विद्यार्थी संगठनका प्रतिनिधि समेत रहनेगरी संवाद समिति पनि गठन गरिएको छ ।

वार्तामा शिक्षा मन्त्री पौडेंल, शिक्षा राज्यमन्त्री धनमाया वि.क, शिक्षा मन्त्रालयका सचिव सूर्य प्रसाद गौतम, सह सचिव हरिप्रसाद लम्साल, शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेल, निर्देशक केशव प्रसाद दहाल, काठमाडौंका जिल्ला शिक्षा अधिकारी जय प्रसाद आर्चाय लगाएतका ब्यक्तिहरु सहभागी थिए । 

यस्तै विद्यार्थीका तर्फबाट अखिल अध्यक्ष नबिना लामा, नेविसंघ अध्यक्ष नयन सिंह महर, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका उपाध्यक्ष रञ्जीत तामाङ, नेकपानिकट अखिल क्रान्तिकारीका महासचिव दिपेन्द्र चलाउने, अखिल छौटौंका केन्दीय सदस्य बसन्त खनाल लगाएतका विद्यार्थी नेताहरुको बार्तामा सहभागी थिए ।

संयुक्त विद्यार्थी संगठनले गत सोमबार पत्रकार सम्मेलन गरेर निजी विद्यालयहरुले मनमर्जि रुपमा शुल्क बढाएको भन्दै विराधका कार्यक्रम सार्वजनिक गरेका थिए भने बिहिबार मात्र दोश्रो चरणका कार्यक्रमहरु घोषणा गरेका थिए ।

,

प्रतिकृया दिनुहोस्

Loading...