स्थानीय चुनाव - हेटौँडामा चारपक्षीय भिडन्त

  • मकवानपुर, २१ चैत्र ।

स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै हेटौँडा उपमहानगरपालिकामा चुनावी माहोल तातेको छ । ०४६ सालमा नगरपालिका स्थापना भएको हेटौँडा संघीय संविधान जारी भएपछि स्थानीय तह पुनर्संरचनाको क्रममा उपमहानगरपालिका बनेको हो । त्यसैले हेटौँडा नगरमा प्रभावशाली राजनीतिक झन्डा गाड्न एमाले, कांग्रेस, माओवादी केन्द्र र राप्रपा कम्मर कसेर लागेका छन् ।

राप्रपा अध्यक्ष कमल थापाको गृहजिल्ला भएका कारण पनि हेटौँडाको निर्वाचनले विशेष रौनक थपेको छ । ठूला दल मात्र होइनन्, पहिलोपटक निर्वाचनमा होमिन लागेको नयाँ शक्तिदेखि अन्य साना दलका तर्फबाट पनि सम्भावित उम्मेदवारीको चर्चा सुनिएको खबर आजको नयाँ पत्रिकामा छ ।।


दलहरू उम्मेदवार चयनका लागि आन्तरिक छलफलमा व्यस्त भएका छन् । उम्मेदवारका आकांक्षीहरू पनि आफूलाई बलियो दाबेदारका रूपमा देखाउँदै कार्यकर्तासँग छलफल र माथिल्ला नेतासँग लबिङमा लागेका छन् । पार्टी कार्यालयहरूमा नेता–कार्यकर्ताको जमघट बढेको छ । चिया–चौताराको विषयवस्तु आसन्न निर्वाचन नै भएको छ ।

साना–ठूला जमघटमा उपमहानगरपालिकाको पहिलो निर्वाचित मेयर र उपमेयर को बन्ला भन्ने अड्कलबाजी भइरहेको सुनिन्छ । उपमहानगरपालिका घोषणा भएपछि फैलिएको नगरका वडा–वडामा पार्टी प्रवेश गर्नेको लर्को छ । वडा कमिटी गठनदेखि माथिल्ला कमिटीले टिकटका लागि सम्भावितहरूको सूची बनाएर छलफल अगाडि बढाइसकेका छन् । हालसम्मको स्थिति हेर्दा कांग्रेस, एमाले, माओवादी र राप्रपाबीच मुख्य प्रतिस्पर्धा देखिएको छ ।

मकवानपुर
-मतदान स्थल १६४
-मतदान केन्द ३०७
-जम्मा मतदाता २,२८,९२७

हेटौंडा उपमहानगरपालिका
-मतदान केन्द्र ९७
-मतदाता ८३,९५१

कांग्रेसबाट पराजुली, अर्याल र शाक्यको चर्चा

मेयरका लागि कांग्रेसबाट तीनजना आकांक्षी देखिएका छन् । नगर सभापति आनन्दराम पराजुली, पार्टीका पूर्वजिल्ला सभापति रामचन्द्र अर्याल माइकल र पूर्वनगर अध्यक्ष अशोक शाक्यले मेयरका लागि दाबेदारी प्रस्तुत गरेका छन् । यी तीनमध्ये पराजुलीको सम्भावना बढी रहेको कांग्रेस वृत्तमा चर्चा छ । जिल्ला अधिवेशनबाट नगर सभापति भएका पराजुलीले त्यही वेला नै मेयरमा उठ्ने बताएका थिए ।

संस्थापन पक्षका अधिकांश केन्द्रीय नेतासँग नजिकको सम्बन्ध राख्ने जिल्ला नेतामध्येका एक पराजुली निर्माण व्यवसायी संघको अध्यक्षसमेत हुन् । मेयरका अर्का बलिया दाबेदार रामचन्द्र अर्याल माइकल हुन् । लामो समयदेखि जिल्लाको राजनीतिमा सक्रिय अर्याल संस्थापन पक्षधरकै नेता हुन् । कांग्रेसमा उपमेयरका आकांक्षी भने अहिलेसम्म देखिएका छैनन् । पार्टी सभापति तथा सांसद् इन्द्रबहादुर बाँनिया गृहराज्यमन्त्री भएसँगै नगर क्षेत्रमा कांग्रेस प्रभाव बढेको अनुमान गरिएको छ ।

बलराम बल माओवादी केन्द्रका उम्मेदवार

माओवादी केन्द्रले भने हेटौँडा उपमहानगरको मेयर र उपमेयरका उम्मेदवारको टुंगो लगाएको छ । पार्टी जिल्ला सचिवालय बैठकले मेयरमा बलराम बल र उपमेयरमा कमला पौडेलको नाम प्रदेशसमक्ष सिफारिस गरेको छ । सिफारिस गरिएका उम्मेदवारबारे प्रदेश कमिटीले टुंगो लगाउने जिल्ला संयोजक प्रेमबहादुर पुलामीले बताए । मेयरमा सिफारिस हेटौँडा–१ निवासी बल पार्टीका केन्द्रीय सदस्य हुन् भने नगर इन्चार्ज हुन् । सुकुम्बासी समस्या समाधान आयोगको जिल्ला समिति मकवानपुर अध्यक्षसमेत भइसकेका बल माओवादी शान्ति प्रक्रियामा आएपछि एकता केन्द्रबाट माओवादीमा आएका हुन् । उपमेयरमा सिफारिस पौडेल केन्द्रकी केन्द्रीय सल्लाहकार र क्रान्तिकारी महिला संघकी जिल्ला अध्यक्ष हुन् । हेटौँडा–९ निवासी पौडेल पार्टीभित्र सक्रिय महिलाका रूपमा चिनिन्छिन् ।

एमालेमा आधा दर्जन आकांक्षी, उपमेयरमा एकजना

राष्ट्रिय राजनीतिमा दोस्रो ठूलो दल एमाले मकवानपुरको सन्दर्भमा पहिलो बलियो राजनीतिक दल हो । त्यसैले नगर क्षेत्रमा समेत एमालेको बलियो प्रभाव रहेको छ । उपमहानगर क्षेत्रमा हजारौ“ सांगठनिक सदस्य रहेको एमालेको प्रभाव र पकड प्रत्येक वडामा देखिन्छ । तर, उम्मेदवार चयनका दृष्टि भने एमालेलाई निकै सकस परेको छ । बलियो सांगठनिक उपस्थिति र प्रभावका कारण विजय सुनिश्चित रहेको निष्कर्षसहित धेरै नेताले मेयरमा दाबेदारी प्रस्तुत गरेका छन् ।

एमाले जिल्ला अध्यक्ष मुनु सिग्देल, सचिव एकालाल श्रेष्ठ, पूर्वमेयर डोरमणि पौडेल, पूर्वउपमेयर हरिबहादुर महत, अनेमसंघकी केन्द्रीय सचिव विष्णु ओझा, मोर्चा प्रमुख श्रीधर पोखरेल र पूर्वजिल्ला सचिव गोपाल श्रेष्ठ आकांक्षी छन् । पौडेल र महत दुईपटक मेयर÷उपमेयर भइसकेका छन् । पूर्वमेयर पौडेलले टिकटका लागि बढी दौडधुप नगरे पनि उपमेयर भइसकेका महत भने टिकट पाउन दौडधुप गरिरहेका छन् । ओझा, राष्ट्रपति विद्यादेवी भण्डारीसँग नजिक रहेकाले बाजी मार्ने सम्भावना बढी रहेको बताइन्छ । पोखरेल र श्रेष्ठ पनि दाबेदारी बलियो बनाउन लागिपरेका छन् । मेयरमा आधा दर्जन आकांक्षी देखिएका वेला उपमेयरमा भने जुनेली श्रेष्ठको मात्र चर्चा छ ।

राप्रपाबाट सिंहसँगै गणेश थापाको चर्चा

राष्ट्रिय राजनीतिमा चौथो शक्तिका रूपमा रहे पनि राप्रपा यहाँ बलियो शक्ति मानिन्छ । उसका आकांक्षी उम्मेदवार पनि बलिया छन् । दीपकबहादुर सिंह, मधु अधिकारी, गणेश थापा र नवराज विष्टको नाम अहिले चर्चामा छ । सिंह पार्टीका निर्वाचित केन्द्रीय सदस्य हुन भने थापा अध्यक्ष कमल थापाका कान्छा भाइ हुन् । सांसद रहेका थापा अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष पनि हुन् ।

०५४ को स्थानीय निर्वाचन र ०७० को संविधानसभा निर्वाचनमा उम्मेदवार बनेका सिंहले दोस्रो स्थान हात पारेका थिए । संसदीय निर्वाचनमा पटकपटक पराजित भए पनि उनी राप्रपा मकवानपुरका लोकप्रिय नेता भएकाले उनी नै मेयरका प्रमुख दाबेदार रहेको राप्रपा स्रोतको दाबी छ । उपप्रधानमन्त्री तथा स्थानीय विकासमन्त्री थापाको गृहजिल्ला भएकाले राप्रपाका लागि हेटौँडाको निर्वाचन प्रतिष्ठाको विषय पनि हो ।

नेकपा मालेमा महतको एकल चर्चा

मालेको तर्फबाट मेयरका लागि एक मात्र दाबेदार देखिएका छन् । युवा पुस्तामाझ लोकप्रिय पार्टी सचिव भीमसेन महतलाई उम्मेदवार बनाउन मालेको केन्द्रीय नेताहरूले नै जोड गरेको बताइन्छ । उनी एमालेका तर्फबाट उम्मेदवारका दाबेदार हरिबहादुर महतका भाइ हुन् ।

मालेको केन्द्रीय सदस्यसमेत रहेका महत तत्कालीन हेटौँडा नगरपालिकाभित्रका विकृति विसंगतिविरुद्ध लामो समयदेखि लड्नै आएका व्यक्ति हुन् । हेटौँडा–काठमाडौं सुरुङ मार्गका नाममा स्थानीय जनतामाथि भएको आर्थिक शोषणको विषयमा पनि उनले लगातार बहस चलाउ“दै आएका छन् । स्थानीय सञ्चारमाध्यमस“ग राम्रो सम्बन्ध बनाएका उनलाई विकासका कार्ययोजनासमेत भएका नेताका रूपमा हेरिन्छ । तर, नगर क्षेत्रमा मालेको सांगठनिक अवस्था भने बलियो छैन ।

नयाँ शक्तिमा मैनाली आकांक्षी

पहिलोपटक निर्वाचनमा भाग लिन लागेको नयाँ शक्तिका तर्फबाट मेयरमा राजन मैनालीले आकांक्षा राखेका छन् । उनी हालसम्मका एकल दाबेदार देखिएका छन् । माओवादी सशस्त्र द्वन्द्वको समयमा मानवअधिकारवादी संस्थामा समेत क्रियाशील रहेका मैनाली स्थानीय उद्योगी पनि हुन् ।

, , ,

प्रतिकृया दिनुहोस्

Loading...