काठमाडौंमा विप्लव एमाले गठबन्धनले जित्यो पत्रकार महासंघको चुनाव


  • काठमाडौं, ११ वैशाख । 
नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाको चुनावमा विप्लव एमालेको संयुक्त प्यानिलले जितेको छ । 

नेकपा एमाले र नेत्र विक्रम चन्द विप्लव नेतृत्वमा रहेको कम्युनिष्ट पार्टी निकट पत्रकारहरुको गठबन्धनले सत्तारुढ कांग्रेस र माओवादी केन्द्र निकट संगठनको संयुक्त प्यानललाई हराएको छ ।

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको आइतबार सम्पन्न मतदानमा एमाले निकट प्रेस चौतारी नेपाल र कम्युनिष्ट पार्टी निकट क्रान्तिकारी पत्रकार संगठन नेपालको प्यानलले कांग्रेस निकट प्रेस युनियन र माओवादी केन्द्र निकट प्रेस सेन्टर लगायत संगठनको संयुक्त प्यानललाई हराएको हो ।
  • को-को विजयी ?
सत्तारुढ गठबन्धनलाई ११ मतले पराजित गर्दै प्रेस चौतारीका उम्मेदवार शान्त राम बिडारी अध्यक्षमा विजयी भएका छन् । बिडारीले ४२९ तथा प्रेस युनियन र प्रेस सेन्टर गठबन्धनका रामकृष्ण अधिकारीले ४१५ मत पाए ।

उपाध्यक्ष (खुला)मा सूर्य सुवेदी, महिला उपाध्यक्षमा सीता पोखरेल, सचिवमा मोहनराज पन्त, कोषाध्यक्षमा रामचन्द्र बस्नेत, सहसचिवमा रामशरण माझी, समावेशी सहसचिवमा अमिर लामा निर्वाचित भएका छन् ।

खुला सदस्यमा सुलोचना अर्याल, पुष्कर बस्नेत, रामचन्द्र दुलाल, राजेश भण्डारी, फणिन्द्र फुयाल, अजित अधिकारी, मुकुन्द भूसाल, विष्णुकुमार गिरी निर्वाचित भएका छन् । 

समावेशी सदस्यमा हेमबहादुर राना ‘कमल’, महिला सदस्यमा अम्बिका घिमिरे, मधेसी सदस्यमा विनयकुमार महतो र दलित सदस्यमा शर्मिला विश्वकर्मा निर्वाचित भएका छन् ।

एमाले र कम्युनिष्ट पार्टीको सयुक्त गठबन्धन विरुद्ध सत्तारुढ नेपाली कांग्रेस, माओवादी, राप्रपा, राजावादी समुहको नेतृत्व गरेका युवराज विद्रोही समुह र बाबुराम भट्टराईको नयाँ शक्ति पार्टी निकटका संगठनहरुले काठमाडौं शाखाको चुनावमा गठबन्धन बनाएका थिए ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...