सुपसेवा समाज कतारले बिरामी बिष्टको उपचारार्थ पठायो ५० हजार नगद, पत्रकार र कलाकारले गरे हस्तान्तरण

  • राजीव चन्द, काठमाडौं।
सुदूरपश्चिम सेवा समाज कतारले बिगत ४ बर्षदेखि बिरामी परेर काठमाडौंमा उपचार गराइरहेकी डडेलधुरा परसुराम नगरपालिका ११ की गौरादेवि बिष्टलाई ५० हजार १६ नगद सहयोग गरेको छ । 

समाजले पठाएको नगद मंगलबार इमान्दार मिडियाका अध्यक्ष कमल बुढा, सम्पादक दिया चन्द, कलाकार तथा संचारकर्मी दम्पती द्वय चाँदनी मल्ल र संकरसिंह बिष्टले बोनास्थालीस्थित बिरामी गौरा देवीको निवासमै पुगेर हस्तान्तरण गरेका हुन् ।

बिगत ४/५ बर्षपहिलेदेखी बिरामी गौरादेवीको सबैभन्दा पहिले पाठेघरमा समस्या देखिएपछि डाक्टरको सल्लाहमा पाठेघर नै फालिएको उनका पति किशन सिंह बिष्टले बताए । पाठेघर फालिएपछि किड्नी र पित्त थैलीमा समेत पत्थरीकाे समस्या देखिएकाे उनकाे भनार्इ छ ।

'पाठेघर फालेपछि ठिक हुन्छ की भन्ने लागेको थियो तर समस्या जस्ताको तस्तै छ । त्यसपछि किड्नीमा पत्थरी देखियो त्यसको पनि अपरेसन गरियो ।' बिष्टले इमान्दार मिडियासँग भने - ' त्यसपछि पनि सन्चो नलागेपछि फेरी जचाँउन जाँदा पित्त थैलीमा पत्थरी देखियो र त्यसको पनि अपरेसन गर्यौं ।' 

गौरादेबीको अहिलेसम्म बिभिन्न चरणमा ४ वटा अपरेसन भइसकेको छ । तर ज्यानलाई अझै बिशेक भएको छैन । 'दुखाइ उस्तै छ, सन्चो हुदैन, चारवटा अपरेसन गरिसकियो ।' गौरादेवीले इमान्दार मिडियासँग भनिन् - ' मेरो कारणले सबैले दुख खप्नु परेको छ ।'

डाक्टरका अनुसार गौरादेवीलाई अहिले पित्तथैलीसँगै जोडिएको नशामा पुनः पत्थरी देखिएको किशनसिंहले बताए । नशासंबन्धित रोग नेपालमा सिक्षण असपताल महाराजगन्जमा मात्र हुने भएकाले त्यहाँ पनि उपचार हुन नसकेको र अब नेपाल बाहिर लग्नसके उपचार हुनसक्ने डाक्टरहरुको सल्लाह रहेको उनले बताए ।

सुदूरपश्चिम सेवा समाजका अध्यक्ष अमृत शाहीले लामो समय देखि विभिन्न रोगबाट ग्रसित आमाको उपचार गर्दा गर्दै सबै सम्पती सकिएको तर रोग सन्चो हुन नसकेको भन्दै आफ्नो सस्थाले सक्दो सहयोग रकम पठाएको बताए । 
'बिरामी आमाका जेठा छोरा खडक बिष्ट सुदूरपश्चिम सेवा समाज कतारका केन्द्रीय सदस्य पनि हुनुहुन्छ । उहाँले आमाकै उपचार खर्च जुटाउन लागि भनेर खाडी मुलुकमा आफ्नो जीवन संघर्षको मैदानमा घसेट्दै आउनु भएको छ ।' अध्यक्ष शाहीले भने - ' आमालाइ औषधि खर्च बाफत ५० हजार १६ रुपियाँ मात्र सहयोग प्रदान गर्न सक्यौं।'

'सामाजिक सेवामा समर्पित भावना भएका मनकारी व्यक्तित्वहरुले सबैलाइ सहयोग गर्छन । आफ्नो सामाजिक सहयात्रीलाई किन सहयोग नगर्ने ?' उनले थपे ।

रोजगारी तथा अन्य कारणले बाहिरीएर बिभिन्न देशमा छरिएर बसेका सुदूरपश्चिमेलीहरुले सुदूरपश्चिम सेवा समाज गठन गरेका थिए । सुदूरपश्चिमेलीहरु जहाँ रहेपनि सुदुरको सास्कृतिक, सामाजिक र पर्यटकीय विकासका लागि सधैं एकजुट रहन्छन् भन्ने सन्देश प्रवाह गर्न यो सस्थाको गठन भएको सुप सेवा समाज कतारका अध्यक्ष शाहीले इमान्दार मिडियालाई बताए ।

हाल त्यसलाई बिस्तार गर्दै अन्तर्राष्ट्रिय सुदूरपश्चिम सेवा समाज समेत गठन भइसकेको छ । सुदूरपश्चिम सेवा समाजको आउदो असोजमा सुदूरपश्चिमको तराईजिल्ला कैलालीमा बृहत सम्मेलन हुदै छ ।

रकम हस्तान्तरण गर्न पुगेका पत्रकार द्वय बुढा तथा चन्द र कलाकार द्वय मल्ल तथा बिष्टले गौरादेवीको सिघ्रस्वास्थ्य लाभको कामना गर्दै सुदूरपश्चिम सेवा समाजले थालेको यस प्रकारको सामाज सेवाको अभियान उच्च सम्मानयोग्य रहेको  प्रतिक्रिया दिए ।

,

प्रतिकृया दिनुहोस्

Loading...