अनलाइनबाटै हुन्डी कारोबार, अमेरिका जाने प्रलोभनमा यसरि ठगिन्छन युवा

  • काठमाडाैं, २३ चैत्र ।

अमेरिका जाने प्रलोभनमा काठमाडौंका एक युवक ठगिए । एक अमेरिकन व्यक्तिले उनीबाट ६ सय ६० डलर हात पारे । पैसा लिएपछि ती व्यक्ति बेपत्ता भए । ठगिएका युवक उजुरी लिएर महानगरीय अपराध महाशाखा टेकु पुगे । तर, पैसा लिने व्यक्ति को हुन् भन्ने उनलाई नै थाहा छैन । किनकि उनले पैसा पठाउन अवैध रूपमा अनलाइन गेटवे प्रयोग गरेका थिए । यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।

अमेरिकामा नेपालबाट पैसा पठाउन सहज छैन । हुन्डीबाट पठाउँदा उता रिसिभ गर्न गाह्रो थियो । त्यसकारण ती अमेरिकीले पर्फेक्ट मनीनामक पेमेन्ट नेटवर्कमार्फत पैसा पठाउन लगाए । नेपालमा रहेका व्यक्तिले उक्त नेटवर्कमा खाता खोल्न पाउँदैनन् । उनले आफ्ना एजेन्ट विकास शाहीमार्फत पैसा पठाएका थिए । अनलाइनबाटै अवैध तरिकाले अमेरिकामा पैसा पठाइएकाले प्रहरीले ठगी गर्ने गिरोहलाई पत्ता लगाउन सकेन ।

अनलाइन कारोबारको सरकारी निकायले नियमन गर्दैनन्

ठगी मात्र होइन, अन्य विभिन्न कारोबारमा पनि अवैध रूपमा अनलाइनबाट पैसाको कारोबार हुँदै आएको छ । हरेक दिन अनलाइनबाट यस्ता सयौँ कारोबार हुने गरेका छन्, जुन कारोबारको राज्यको कुनै पनि निकायबाट नियमन हुने गरेको छैन । नेपालमा दर्ता नै नगरी अनलाइन गेटवेमार्फत ठूलो मात्रामा अवैध डलर कारोबार भइरहेको छ । विदेशमा अवैध रूपमा पैसा पठाउन र कुनै सामान किनेर पेमेन्ट गर्न अवैध रूपमा अनलाइन कारोबार हुँदै आएको छ । यसरी करोडौँ रुपैयाँ अवैध बाटो हुँदै विदेश पुग्ने गरेको छ । सरकारी निकायले नियमन नगर्दा यस्तो कारोबार फस्टाउँदै गएको हो ।

महाशाखाले सुरु गर्यो अनुसन्धान

ठगिएका पीडित युवक उजुरी लिएर महाशाखा गएपछि प्रहरीले अवैध रूपमा भइरहेका कारोबारउपर छानबिन थालेको छ । प्रहरीले एजेन्टका रूपमा काम गर्ने शाहीलाई पक्राउ गरेको छ । उनको पेसा नै यही भएको खुलेको छ । उनले आफूजस्ता धेरै व्यक्तिले यस्तो काम गर्दै आएको बताएका छन् । महाशाखाका प्रमुख एसएसपी दिनेश अमात्यका अनुसार प्रहरी अनुसन्धान प्रारम्भिक चरणमै छ । अनुसन्धानका क्रममा कतिपयले कार्यालय नै खोलेर यस्तो अवैध कारोबारको धन्दा चलाइरहेका छन् ।

पेपाल, पर्फेक्ट मनी, स्क्रिल, पायोनियर, पेजा, नेटलर, वालेटजस्तो विश्वका प्रचलित अनलाइन पेमेन्ट गेटवे प्रयोग गरी नेपालबाट समेत हुन्डी तथा डलरको अवैध कारोबार हुँदै आएको छ । ती कम्पनीले नेपालमा कारोबारका लागि अनुमति लिएका छैनन् । तर, तिनै गेटवेहरू प्रयोग गरी ठूलो मात्रामा कारोबारहरू भइरहेको छ । अनुगमन र कारबाही गर्ने जिम्मेवारी भएको नेपाल राष्ट्र बैंकले यसमा चासो नै दिएको छैन ।

कार्यालय नै खोलेर कारोबार

स्रोतका अनुसार ठमेललगायतका क्षेत्रमा कार्यालय नै खोलेर केहीले यस्तो कारोबार गर्र्दै आएका छन् । ट्राभल एजेन्सी, आइटीसम्बन्धी काम गर्ने कार्यालय खोलेर उनीहरूले डलरको अवैध कारोबार गर्दछन् । अनलाइन गेटवेबाट विदेशमा पैसा पठाउने मात्र होइन, उनीहरूले डलरको समेत अवैध खरिदबिक्री गर्दै आएको अनुसन्धानमा आबद्ध एक प्रहरी अधिकारीले बताए ।

सामाजिक सञ्जालमा खरिद–बिक्री

अनलाइन कारोबारका लागि सामाजिक सञ्जाल फेसबुकमा विभिन्न समूहहरू बनाइएको छ । सोही समूहबाट पेपाललगायत अकाउन्टहरू खरिदबिक्रीसमेत हुने गरेको छ । पेपाललगायत अन्तर्राष्ट्रिय कम्पनीले नेपालमा बस्ने व्यक्तिहरूको अकाउन्ट अस्वीकार गर्ने भएकाले विदेशमा बस्ने व्यक्तिले अकाउन्ट खोलेर बेच्ने गर्दछन् । त्यस्तै, पेपाललगायत अकाउन्टमा भएको ब्यालेन्सको समेत खरिदबिक्री हुने गरेको छ । सोही समूहले बिटक्वाइनको समेत कारोबार गर्ने महाशाखाका एसपी श्याम ज्ञवालीले बताए । 

फेसबुकलगायत सामाजिक सञ्जालमा ग्रुपहरू बनाएर डलरको अनलाइन किनबेच हुने गरेको महाशाखाका एसपी ज्ञवाली बताउँछन् । हालै नेपाल राष्ट्र बैंकले पेमेन्ट सिस्टमलाई नियमन हेर्न पेमेन्ट सिस्टम विभाग नै गठन गरेको छ । उक्त विभागले अनलाइनबाट हुने अवैध कारोबारमाथि अनुगमन थालेको राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले बताए ।

,

प्रतिकृया दिनुहोस्

Loading...