मोर्चाद्वारा अनिश्चितकालिन आम हड्ताल घोषणा, कुनैपनि हालतमा चुनाव हुन नदिने


  • काठमाडौँ ३ बैशाख । 
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र संघीय गठबन्धनले अनिश्चितकालीन आम हड्तालको घोषणा गरेको छ । स्थानीय तहको चुनावको विरोधमा मोर्चा र गठबन्धनले बैशाख १६ नेपाल बन्दको घोषणा समेत गरेको छ । 

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र संघीय गठबन्धनका नेताहरुले कुनैपनि हालतमा स्थानीय चुनाव हुन नदिने अठोट गरेका छन् । 

आइतबार राजधानीको संवाद डबलीमा संयुक्त रुपमा आयोजित पत्रकार सम्मेलनमा गठबन्धनका प्रवक्ता डा. ओम गुरुङले एक प्रेस विज्ञप्ति जारी गरेर स्थानीय चुनाव बिथोल्ने कार्यक्रम सार्वजनिक गरेका छन् ।

मोर्चालाई चुनावमा सहभागी गराउन भनी सरकारले दोस्रो संशोधन विधयेक दर्ताको तयारी गरिरहेको बेला मोर्चाले चुनाव बिथोल्ने कार्यक्रम सार्वजनिक गरेको छ । 

यस्ता छन् आन्दोलन सम्बन्धी कार्यक्रमहरू :
  • १. २०७४ बैशाख ५ गते – जिल्ला सदरमुकाम लगायत प्रमुख स्थानहरुमा मशाल जुलूश
  • २. २०७४ बैशाख ७ गते – जिल्लाका प्रमुख स्थानमा लाठी/सिटी जुलूश
  • ३. २०७४ बैशाख ९ गते – जनकपुर, उदयपुर, वीरगंज र काभ्रेमा आमसभा
  • ४. २०७४ बैशाख १० गते – विराटनगर, भैरहवा र पाल्पामा आमसभा
  • ५. २०७४ बैशाख ११ गते – नेपालगञ्ज, विर्तामोड र काठमाडौंमा आमसभा
  • ६. २०७४ बैशाख १२ गते – धनगढी, धरान र पोखरामा आमसभा
  • ७. २०७४ बैशाख १३ गते – गाउँ, शहर र मतदान केन्द्रहरुमा लाठी जुलूश प्रदर्शन
  • ८. २०७४ बैशाख १४ गते – जिल्ला सदरमुकाम लगायत प्रमुख स्थानहरुमा मशाल जुलूश
  • ९. २०७४ बैशाख १५ गते – मधेश/थरुहट र लिम्बूवान बन्द
  • १०.२०७४ बैशाख १६ गते – नेपाल बन्द
  • ११. २०७४ बैशाख १९ गते – मतदान केन्द्रहरुमा लाठी जुलूश प्रदर्शन
  • १२. २०७४ बैशाख २६ गते – जिल्लाहरुमा मशाल जुलूश प्रदर्शन
  • १३. २०७४ बैशाख २७ गते देखि आमहड्ताल एवं अनिश्चितकालीन नेपाल बन्द
१४. केन्द्रद्वारा तोकिएको कार्यक्रमका अतिरिक्त जिल्ला स्तरीय संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा/संघीय गठबन्धनले मतदात केन्द्र स्तरीय संघर्ष समिति गठन गरी संघर्षका कार्यक्रमहरुका साथै स्थानीय स्तरका आन्दोलन सम्बन्धी आ–आफ्ना अन्य कार्यक्रमहरु तय गरी परिचालन गर्ने/गराउने ।

माग पूरा नभएसम्म चुनाव बिथोल्ने सबैखाले आन्दोलन गर्ने र आन्दोलन जनपक्षीय र शान्तिपूर्ण हुने मोर्चाका नेताहरुले बताएका छन् । चुनावको चार दिनअघि बैशाख २७ गतेबाट अनिश्चितकालीन आमहडताल गर्ने विज्ञप्तिमा जनाइएको छ । 

मोर्चा र सरकारबीच विगतमा भएको पटकपटकको सम्झौता उल्लंघन गरेको भन्दै अक्षारस कार्यान्वय गर्न सरकारसँग आग्रह गरिएको छ । सरकारले दर्ताका लागि तयार गरेको संशोधन विधयेक जनविरोधी भएको निस्कर्ष मोर्चाको छ । 

कार्यक्रममा मोर्चाका नेताहरु उपेन्द्र यादव, महेन्द्र राय, राजेन्द्र, राजकिशोर यादव, शरदसिंह भण्डारी सर्वेन्द्रनाथ शुक्लालगायत उपस्थित थिए ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...