रियल र बार्सिलोनालाई पछ्याइरहेको एथ्लेटिकोले निकाल्यो प्रभावशाली जित

  • काठमाडाैं, ३ वैशाख ।

रियल मड्रिड र बार्सिलोनालाई पछ्याइरहेको एथ्लेटिको मड्रिडले स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा प्रभावशाली जित निकालेको छ । घरेलु मैदानमा भएको खेलमा एथ्लेटिकोले ओसासुनालाई ३–० ले पाखा लगायो ।

एथ्लेटिकोको जितमा यानिक काररास्कोले दुई तथा फिलिप लुइसले एक गोल गरे । ३० औं मिनेटमा काररास्कोले गोल गरेपछि एथ्लेटिकोले पहिलो हाफमा १–० को अग्रता लियो । ४७ औं मिनेटमा काररास्कोले अग्रता दोब्बर पारे ।

६१ औं मिनेटमा लुइसले गोल गरेपछि एथ्लेटिको ३–० ले विजयी भयो । जित निकाले पनि एथ्लेटिकोले दुई पेनाल्टीमा गोल गर्न भने सकेन । दुई गोल गरेका काररास्को पेनाल्टीमा चुके भने थोमस पार्टीले पनि पेनाल्टीमा गोल गर्न सकेनन् । जितपछि तेस्रो स्थानको एथ्लेटिकोको ३२ खेलबाट ६५ अंक भएको छ ।

एथ्लेटिको चौथो स्थानको सेभिल्ला भन्दा चार अंकले अघि छ भने दोस्रो स्थानको बार्सिलोना भन्दा सात अंकले पछि छ । शीर्ष स्थानको रियल मड्रिडको एक खेल कम खेलेर पनि ७५ अंक छ । राति नै भएको अर्को खेलमा डिप्रोटिभो डी लाकोरुनाले मालागालाई २–० ले हरायो ।

,

प्रतिकृया दिनुहोस्

Loading...