स्थानीय चुनावमा ६३ दलले मात्र भाग लिन पाउने, १६ दल फेल

  • काठमाडौं, ३१ चैत ।

निर्वाचन आयोगमा ६३ वटा दलले मात्र आफ्नो उम्मेद्वार सिफारिस गर्ने आधिकारिक हस्ताक्षरको नमुना बुझाएका छन् । योसंगै स्थानीय चुनावमा ६३ दलले मात्र भाग लिन पाउने भएका छन् । 

निर्वाचन आयोगले ७९ वटा दललाई चुनावमा भाग लिन स्वीकृती दिएपनि १६ वटा दलले उम्मेद्वार सिफारिस गर्ने आधिकारिक हस्ताक्षर नबुझाएपछि चुनाव लड्न नपाउने भएका हुन् । बाँकी दलले चुनावमा भाग लिन नपाउने आयोगका प्रवक्ता सुर्यप्रसाद शर्माले जानकारी दिए। 

सबैजसो ठूला र संसदमा प्रतिनिधित्व गर्ने दलले सिफारिस गर्ने व्यक्तिको आधिकारिक नाम हस्ताक्षर बुझाएका छन् । बुधबार नै चुनावमा भाग नलिने घोषणा गरेको मधेसी मोर्चामा आबद्ध संघीय समाजवादी फोरम नेपालले भने उम्मेद्वार सिफारिस गर्ने व्यक्तिको नाम र हस्ताक्षर बुझाएको छ । मोर्चामा रहेका अरु दलले भने हस्ताक्षर नबुझाएको आयोगले जनाएको छ । 

यस्तै मुख्य निर्वाचन अधिकृतका लागि सञ्चालन भएको चुनाव परिचालन सम्बन्धि तालिम बिहीबार सकिंदैछ । देशका ७ ठाउँमा चलिरहेको तालिम सकेपछि प्रमुख निर्वाचन अधिकृत कार्यस्थलमा खटिने आयोगले जनाएको छ ।

यसैबीच प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आर्थिक अनुशासनको परिधिभित्र रहेर निर्वाचनका कार्यक्रम सञ्चालन गर्न आग्रह गरेका छन् । 

धनुषा र महोत्तरी जिल्लामा स्थानीय तहको निर्वाचनका लागि खटिने मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई बुधबार यहाँ सम्बोधन गर्दै उनी निर्वाचन प्रयोजनका लागि आवश्यक जनशक्ति परिचालन गर्दा जिल्लाभित्रका कर्मचारीलाई प्राथमिकता दिन पनि सुझाव दिए । 

निर्वाचनको सुुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी सुरक्षा निकायको समन्वयमा कर्मचारीको सुरक्षा प्रबन्ध गरिएको पनि उनले जानकारी दिए । 

तराईका जिल्लाका मतदान केन्द्रमा महिलाका लागि छुट्टै मतदान केन्द्र सञ्चालन गर्न पनि उनले निर्देशन दिएका छन्। 

, ,

प्रतिकृया दिनुहोस्

Loading...