जनवादी व्यवस्थामा हुने निर्वाचनमा जान हामी तयार छौँ : धर्मेन्द्र बास्तोला

  • काठमाडौं ।

ठुला भनिने राजनीतिक दलको नौ महिने आलोपालो सरकार भत्किने र बन्ने खेल चलिरहेको छ । लोकतान्त्रिक आन्दोलन पछिका नौ वर्षमा आठ ओटा सरकार बदलिइसकेका छन् । कतिपयले यसको कारण दलहरुको अपरिपक्वता हो भनेका छन् भने संसदीय व्यवस्थाको देन भनेर मुल्याङ्कन गर्नेहरुको सख्या पनि धेरै छ ।

आखिर जसरी विश्लेषण गरे पनि संसदीय व्यवस्थाको परिणामस्वरुप देश र जनताले अस्थिरता, गरीबी, पराधिनता र कुशासन झेल्नु परेको छ । संसदीय व्यवस्थालाई ‘खसिको टाउको देखाएर कुकुर मासु बेच्ने’ थलो हो भन्दै यसलाई ध्वस्त पारेर नयाँ जनवादी क्रान्ति मार्फत समाजवाद स्थापना गर्ने भनेर २०५२ सालमा हतियार उठाएको माओवादीका अध्यक्ष प्रचण्ड अहिले उही संसदीय व्यवस्थामा फर्किएर दोस्रो पटक प्रधानमन्त्री बनेका छन् ।

मानिसहरुको बुझाइमा जनतालाई ठुलो आकाङ्क्षा र सपना देखाएको माओवादी जनयुद्ध अन्ततः अर्थहिन जस्तै बन्न पुगेको छ । शान्ति प्रक्रियामा आए पछि ५ पटक माओवादी पार्टी विभाजन भएर छेत विच्छेद बनेको माओवादी आन्दोलनको एउटा हिस्सा प्रचण्डको नेतृत्वमा संसदीय व्यवस्थामा पसेको छ भने नेपाल कम्युनिष्ट पार्टीले क्रान्ति गरी छाड्ने र वैज्ञानिक समाजवाद ल्याइ छाड्ने भन्दै संघर्षमा होमिएको छ ।

संसदीय व्यवस्थालाई पुरै अस्विकार गरेको उक्त पार्टीले हालको संविधानलाई अस्वीकार गर्दै आसन्न निर्वाचनलाई खारेज गर्न माग गरेको छ । एकातिर प्रचण्ड सरकार जसरी पनि चुनाव गराउने भनेर अघि बढिरहँदा भने नेकपाले भने सशक्त प्रतिरोध गर्ने बताउदै आएको छ । आसन्न स्थानीय तहको निर्वाचनको लागि नेपाल कम्युनिष्ट पार्टी प्रमुख सुरक्षा चुनौती रहको विश्लेषण गरिएका छन् । यस्ता विविध सन्र्दभमा उक्त पार्टीले बताएको खारेजीको औचित्य, उसका वैचारिक राजनीतिक संघर्ष र आगामी कार्यक्रमका विषयमा नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा अन्तराष्ट्रिय विभाग प्रमुख धमेन्द्र बास्तोला (कञ्चन) सँग बाबुराम भुसालले गरेको अन्तरवार्ताको सम्पादित अंश :

स्थानीय निकायको निर्वाचनको माहोलले देश तातेको छ । तर तपाइँहरुको पार्टी (नेपाल कम्युनिष्ट पार्टी) निर्वाचनको विरुद्धमा उभिएको छ । २० वर्षमा हुने भनिएको निर्वाचनलाई खारेज गर्नु चाहनुका औचित्य के हो ? 

पहिलो कुरा, यो चुनावको कुनै औचित्य छैन । जुन सत्ताको चुनाव गराउन खोजिएको छ, यो नेपाली जनताले २०५३÷५४ सालमै खारेज गरेको सत्ताको चुनाव हो ।

जनताले खारेज गरेको सत्तालाई उल्टाएर त्यही सत्तालाई निरन्तरता दिन खोजिएको छ । हामी निरपेक्ष रुपमा निर्वाचनको विरोधी होइनौ । तर यो सत्ता जनताको सत्ता होइन, दलालहरुको सत्ता हो । यो सत्तालाई विस्थापित गरेर जनताको सत्ता नल्याएसम्म जतिसुकै चुनाव गरेपनि त्यसले जनतालाई न्याय, अधिकार र वास्तविक रुपमा विकास दिन सक्दैन ।

प्रचण्डको आफ्नै नेतृत्वमा चलेको जनयुद्धले यो सत्तालाई खारेज गरेको कुरा सर्वविदितै छ । अहिले उहाँ स्वयं उही खारेज गरिएको व्यवस्था लाई निरन्तरता दिनको लागि पूरै आत्मसमर्पण गररे जसरी लाग्नु भएको छ, यसले के देखाउँछ भने जनयुद्धले उठान गरेका एजेण्डा र हाशिल गरेका उपलब्धी सबैलाई निमोठेर उहाँले चुनावको नौटङ्की गरिरहनुभएको छ । सरकार पूरै जनविरोधी भएर आएको छ ।

त्यसैले यो प्रतिक्रियावादी चरित्रको सत्ताले गर्ने निर्वाचन पनि प्रतिक्रियावादी नै हुन्छ । त्यसैले, नेपाल मुलुकलाई अग्रगती दिनका लागि र जनताका अधिकारलाई स्थापित गर्नका लागि हाम्रो पार्टीे यो कथित चुनावलाई खारेज गर्नका लागि सङघर्षरत छ । 

चुनाव मार्फत जनतका वीचमा आफ्ना एजेण्डा लगेर जनताको अभिमत जित्ने र आफ्ना योजना तथा कार्यक्रम लागू गर्ने विकल्प छँदाछँदै खारेजीमै जानुपर्ने कुरा कति तर्क संगत छ ? 

हा,े तपाइले भने जस्तै जनताको अभिमत लिने कुरा ठीक हो । तर संसदवादीहरुले जनताको अभिमत मानेका छैनन् । नेपाली जनताले जनयुद्धको प्रक्रियामा यो संसदीय सत्तालाई नै खारेज गरेका थिए । त्यो नै जनताको अभिमत थियो । तर उनीहरुले त्यो अभिमत लाई अपमान गरेर पुरानै अवस्थामा उल्टाएका छन् ।

यदि उनीहरुले जनताको मतलाई कदर गर्ने गरेको भए त पुरानो सत्तालाई बदल्नु प¥थ्यो, जनयुद्धले स्थापित गरेका मुद्धाका आधारमा चुनाव गर्नुप¥थ्यो । तर उनीहरुले वेइमानी गरिरहेका छन् । यो संसदीय व्यवस्थालाई खारेज गरेर त्यसको ठाउँमा जनवादी व्यवस्था स्थापना गरेर चुनाव गर्नु पर्छ । त्यो चुनाव मात्र जनताको पक्षमा हुन सक्छ ।

जनवादी सत्तामा मात्र देशको स्वाधिनता सुरक्षित हुन्छ । नेपाली जनता सर्वभौमसत्ता सम्पन्न हुन्छन् र नेपाली जनताको हक अधिकार स्थापित हुन सक्छ । तर, अहिलेकाे व्यवस्था दलालहरुको शासन चल्ने व्यवस्था हो । यो व्यवस्थाले नेपाली जनतालाई आत्मनिर्णय गर्न सक्ने अधिकार दिनै सक्दैन । जनतालाई पराधिन र दास बनाउँछ । तपार्इ नै भन्नोस्, के यो चुनावबाट निर्वाचित हुने प्रतिनिधिले नेपालमा भएको वैदेशिक हस्तक्षेप, सीमा अतिक्रमण र पराधिनताको अन्त्य गर्न सक्छन् ?

राजनैतिक व्यवस्था नै आफैमा दलाल भएपछि त्यसले गर्ने चुनावले जनतालई स्वाधिनता, आत्मनिर्णय, न्याय र समृद्धी दिन्छ ? दिदैन । त्यसैले, हामीले भनेको के हो भने, पहिले यो दलाल संसदीय व्यवस्थालाई खारेज गरौँ, र जनवादी व्यवस्था निर्माण गरौँ । जनवादी व्यवस्थामा हुने निर्वाचनमा जान हामी तयार छौँ ।

जनवादी व्यवस्थामा मात्र जनमतको सम्मान हुन सक्छ । तर संसदवादीहरुले बाहिर जनताको अधिकार र समृद्धीको कुरा गरेर व्यवहारमा झन् शोषण गर्ने, भ्रष्टाचार गर्ने र जनतालाई दास बनाउने काम गरेका छन् । हाम्रो अपिल छ, अव उनहिरुको भ्रममा जनता पर्नु हुँदैन । यो जनविरोधी चुनावको खारेजीका लागि उभिनुपर्छ । 

माओवादी जनयुद्धका मुख्य कमाण्डर प्रचण्ड जसरी पनि निर्वाचन गराउने अडानमा छन् । जनयुद्ध लडेको माओवादी (हाल नेकपा) ले यो निर्वाचनलाई खारेज गर्ने अडानमा देखियो । एकले अर्कालाई निषेध गर्ने यो व्यवहारले त फेरी द्धन्द चर्किने संकेत देखियो नी ? 

यो चुनाव त सहज हुने कुरा छैन । किनभने यसमा ठुलो विश्वासघात भएको छ । सहीदको सपना माथि हिलो छ्याप्ने काम भएको छ । सहीद परिवार माथि धोका भएको छ । त्यसकारण, नेपाली जनताले सहज तरिकाले यो चुनाव हुन दिने छैनन् ।

खास गरी प्रचण्ड–भट्टराईले जनता प्रति गरेको विश्वासघात जनताले विर्सेका छैनन् । उनीहरुलाई जनताले त्यत्तिकै छोड्ने कुरा हुन्न । जनता परिवर्तनका आकाङ्क्षी छन् । यो व्यवस्था बाट पूरै असन्तुष्टी छ । जनतामा विद्रोहको भावना पैदा भएको छ । चाहे त्यो काङ्ग्रेस, एमाले .....को होस् वा मधेश, पहाड र हिमालको नै किन नहोस् जनतामा देशभक्ती, स्वाधिनता र अधिकारको लागि सङ्घर्ष गर्ने भावना विकास भएको छ ।

हाम्रो पार्टीको कुरा के छ भने, यो व्यवस्था नेपाली जनताको शत्रु भएकाले यसलाई खारेज गर्नका लागि जनताका आशा, आक्रोश र विद्रोहको भावनालाई नेतृत्व प्रदान गरेर संगठित रुपमै विद्रोह गर्ने कुरा छ र कथित चुनावको प्रतिरोध गर्ने कुरा छ ।

प्रतिरोधको कुरा गर्नुभयो । प्रतिरोधको स्वरुप कस्तो हुन्छ ? 

प्रतिरोधको स्वरुप त मुख्य रुपमा राजनीतिक वैचारिक प्रतिरोध नै हुन्छ । प्रतिरोध स्वरुप हामीले पनि जनपरिषदद्धारा चुनाव गराउँदै अघि बढ्छौँ । 

जनपरिषदको चुनाव गर्ने भन्नुभयो । सरकारले गर्ने चुनाव र तपाइहरुको जनपरिषद्ले गराउने चुनावको अन्तर के हुन्छ ? 

सत्ताकै अन्तर हुन्छ । यो सत्ता भनेको एकाधिकारवादी पूँजीवादीहरुबाट संचालित भारतीय र अमेरीकी साम्राज्यवादबाट परिचालित दलाल सत्ता हो । यसले बाहिर जनतालाई भ्रमित नारा दिएर शोषण गर्ने, भ्रष्टचार गर्ने र सिमित नेता र व्यक्तिहरुलाई अरवपति बनाउने तर जनतालाई कंगाल बनाउने र देशका श्रोतसाधन विदेशीलाई दिएर कमिसन खाने काम गर्छ । नेपाली जनताले देखेका छन्, यो देशलाई कङ्गाल कसले बनायो त ? 

अर्कोतिर जनताले निर्माण गर्ने सत्ताको कुरा छ । यो सत्ता स्वाधिन र समृद्ध नेपाल निर्माण गर्ने सत्ताको भु्रण हो । यो कसैको पञ्जाभित्र वा कुनै विदेशी नियन्त्रणमा छैन । यो स्वाधिन र सार्वभौम छ । यसले राष्ट्रिय स्वाधिनताको प्रतिनीधित्व गर्छ । संसदवादी सत्ताले उसको चुनाव अघि बढाउँदै छ र जनपरिषदले जनताको सत्ताको चुनाव गर्दै अघि बढ्छ एउटा सत्ताले अर्को सत्ताको चुनावलाई खारेज गर्ने प्रक्रियामा अघि बढ्दै जाँदा एउटा विन्दुमा झडप हुन सक्दछ । 

तपाईहरुले निर्वाचन खारेज गर्न प्रचार प्रसार गरिरहँदा दर्जनौ कार्यकर्ताहरुलाई प्रहरीले हिरासतमा लिईसकेको छ नि । पोष्टरहरु पनि च्यातिएका छन् । के भन्नुहुन्छ ? 

यो सत्ताको चरित्र ठिक छैन भनेर शान्तिपूर्ण तरिकाले पर्चा पम्प्लेट टाँस्दा, नारा लेख्दा र जनतालाई अपिल गर्दाखेरी नै जसरी यो सरकारले हाम्रा नेता कार्यकर्तालाई पक्राउ गरेको छ । यसैबाट प्रष्ट हुन्छ कि यो सरकार फासीवादी छ । यो सत्ता जनताको पक्षमा छैन र स्वाधिन तथा स्वतन्त्र छैन । सरकारको हरकतले नै यो सत्ता प्रतिक्रियावादीहरुको भएको पुष्टि गरेको छ ।

नत्र हामीले यसो भनिरहँदा यो सत्ताले जनतालाई जवाफ दिन सक्नु पथ्र्यो । यो सत्ता जनताको पक्षमा छ भनेर कन्भिन्स गर्न सक्नु पथ्र्यो । यो नयाँ सत्ता हो भनेर राजनीतिक प्रतिवाद गर्न सक्नु पथ्र्यो । तर सकेन । यो सरकार न्यूनतम राजनीतिक मुल्य र मान्यता भन्दा तल गिरेर जनतामाथि दमन गर्ने मनस्थितिमा गएको प्रतित भएको छ । हामीले यसका हरेक दमनको प्रतिरोध गछाैं । यसलाई tit for tat को जवाफ दिन्छौँ । 

यस्तो जवाफ दिने भनिरहँदा सरकारले निर्वाचनलाई शान्तिपूर्ण रुपले सफल पार्न भन्दै तीन घेरामा प्रहरी, सशस्त्र प्रहरी र सेना तैनाथ गर्ने भनेको छ । यसलाई कसरी चुनौती दिन सक्नुहुन्छ ? 

दलाल शासकले सेना र प्रहरी परिचालन गर्दैमा, सेना प्रहरीले जनतामाथि दमन गरिहाल्छन् भन्ने हामीलाई लागेको छैन । यो व्यवस्थाले जनताका आकांक्षाहरुलाई संबोधन गरेको छैन भन्ने सेना प्रहरीलाई पनि थाहा छ । उनीहरुले पनि जनताका कुरा सुन्छन् र सुन्नुपर्छ भन्ने हामीलाई लाग्छ । किनभने उनीहरुपनि जनताका छोरा छोरी हुन् ।

विगतको युद्धको प्रक्रियाबाट सेना, प्रहरी पनि प्रभावित भएको छ र सबै वर्ग, समुदाय र कर्मचारीतन्त्र प्रभावित भएका छन् । त्यत्रो जनयुद्धबाट जनताले परिवर्तन पाएनन् । धोका पाए भन्ने सबैले बुझेका छन् । जनआन्दोलन र राजनीतिक उथलपुथल पछि पनि जनताले केहि पाएका छैनन् भन्ने सबैले बुझेका छन् । र, सेना प्रहरीले पनि बुझेको छ । देश झन् झन् पारधिनतामा पर्दै गएकाले एउटा ठूलो परिवर्तन आवश्यक छ भन्ने सबै जनताले महशुस गरेका छन् । हामीले भनेको tit for tat चाँही राजनीतिक प्रतिरोधको विषयसँग सम्बन्धित छ । तर उनीहरु जवरजस्ती हतियार लिएर दमन गर्नै आए भने त्यतिवेला हामीपनि त्यहि रुपमा तयार हुन्छौँ । नेपाली जनता तयार हुन्छन् । 

चुनावको प्रतिरोध गरिरहँदा चुनावमा उठ्ने उमेद्वारलाई के भन्नु हुन्छ ? 

यो चुनाव स्वाधिन र समृद्ध नेपालको पक्षमा छैन भन्ने थाहा हुँदाहुँदै, परिवर्तन र जनताको अधिकार चाहने कुनै नेपाली जनताले यो चुनावमा उम्मेद्वार बन्ने कुरा आउँदैन । यो चुनावमा उठ्नु भनेको पुरानो सत्तालाई पुनःस्थापित गर्ने र त्यसलाई वैधता दिने अपराध गर्नु हो । यो चुनाव विदेशीको स्वार्थमा उनीहरुकै पैसामा र विदेशी योजना लागु गर्ने चुनाव हो । यसमा प्रतिनीधि बन्नुको अर्थ विदेशीकै सेवक बन्नु हुन्छ । यो चुनाव भयो भने जनता अधिकार सम्पन्न हुन्छन् र समृद्धी हुन्छ भन्ने भ्रम फैलाइएको छ । यो सर्वथा गलत छ ।

के यो चुनावबाट चुनिने प्रतिनीधिले माथिल्लो कर्णाली, अरुण तेस्रो, कोशी हाइ ड्याम, महाकाली जस्ता असमान सन्धि सम्झौता खारेज गरेर नेपालको सम्पत्ति फिर्ता गर्न सक्छन ? १९६० र १९६५ को सन्धीले नेपाली सेना र प्रहरीलाई भारतको सेना प्रहरी बनाउँछ । के अहिले जित्ने प्रतिनिधिले त्यसलाई खारेज गर्न सक्छन् ? के ती प्रतिनिधिले १९५० लगायतका नेपाल भारत असमान सन्धी खारेज गराउन सक्छन् ? के तिनले राष्ट्रिय स्वाधिनताको ग्यारेण्टि गर्न सक्छन् ? सक्दैनन् ।

हामीले यो चुनावका उमेद्वारहरुलाई सोध्ने प्रश्नहरु यी हुन् । उनीहरुले यही पराधिन र शोषक शत्ताको सेवक बन्नका लागि चुनावमा उठ्ने र जित्ने कुरा हुन्छ । उनीहरुले जनताको मतको दुहाई दिँदै नेपालका स्रोत साधन बेच्ने, व्यहोरामा लाहछाप लगाउन सक्छन् । हामीले त्यसको प्रतिरोध गरेका छौँ । त्यसैले हामी उनीहरुलाई अपिल गर्दछौँ, देश बेच्ने, जनतालाई कङ्गाल बनाउने र पराधिन बनाउने अपराधमा तपाईहरु सहभागि नबन्नुस् । पद पैसाको दुरुपयोग गरेर जनता विरुद्ध जवरजस्ती गर्नेलाई हामीले जनताकै माझमा भण्डाफोर गछौँ । 

जनयुद्धको महत्वपूर्ण नेतृत्व र भुमिका निभाएका कतिपय नेताहरुले नेपालमा क्रान्ति सम्पन्न भयो भन्छन् । तर तपाईहरु क्रान्ति गर्ने भन्दै सङघर्षमा होमिनु भएको छ । के अहिलेको युगमा जनवादी क्रान्ति सम्भव छ ? 

मुख्य कुरा जनतालाई क्रान्ति चाहिएको छ । क्रान्ति चाहिएकै कारण दशौँ हजार जनताले वलिदानी गरेका छन् । तर विडम्बना, प्रचण्ड र बाबुराम डरले क्रान्ति प्रति गद्धारी गरे । जनतालाई धोका दिए । उनीहरुले गद्धारी गरेपछि अलपत्र परेको क्रान्तिलाई पूरा गर्नका लागी हामीले नयाँ कार्यदिशा सहित यो ऐतिहासिक पहलकदमी लिनु परेको हो ।

यो विषय जनतामा स्पष्ट नै छ । जहाँसम्म उनीहरुले पूँजिवादी क्रान्ति सम्पन्न भयो भन्ने भ्रम फिजाएका छन्, त्यो सत्य होइन । उनीहरुले बुझिकन पनि जनतालाई ढाँट्दै छन् । पूँजीवादले विकास र समृद्धीको कुरा गर्छ, न्यायको निम्ति युद्धको कुरा गर्छ । तर अहिले नेपालमा त्यस्तो छैन । देश नै स्वाधिन भएको छैन । राष्ट्रिय पूजि दलाल र निगम पूजिको दवदवामा छ । शासन सत्ता विदेशीको, दलालको हातमा छ । सरकार बनाउने र गिराउने हैसियत देश भित्रका शक्तिहरुसँग छैन ।

साम्राज्यवादीहरुको योजनामा सरकार बन्ने र सञ्चालन हुने भइरहेको छ । राष्ट्रिय उद्योगहरु समाप्त पारिएका छन् । यो सत्ता साम्राज्यवादीहरुको दलाल सत्ता हो । उनीहरुलाई जनताले दलाल भनिरहेका छन् । त्यसैले अत्मरक्षाका लागि उनीहरुले यो व्यवस्थालाई पुँजीवादी भनेका छन् । यो आत्मरती गर्नेमा अहिले काङग्रेस, एमाले र मालेका मान्छेहरु र अरु पनि छन् । यो व्यवस्था समाजवाद उन्मुख हुने कुरा छोडौँ, पुजीवाद तर्फ पनि उन्मुख छैन । यो त दलाल पुँजीको वरीपरी फन्को मारिरहेका छन् । लुटतन्त्रको धन थुपार्ने, विदेशमा धन लुकाउनेहरुको शासन हो यो ।

यसले साम्राज्यवादी दलाल पुँजीको सहयोगमा जनतालाई उनीहरुको उत्पादन गरेका मेसिनको रुपमा उपयोग गर्ने र मेसिन बनाउँछ । यसले पुँजीवादीहरुको पनि नाश गर्दछ । अहिले नेपालका लगभग ४० हजार उद्योग बन्द भएका छन् । राष्ट्रिय उद्योग व्यवसाय बन्द हुँदै गएका छन् । औँलामा गन्न सकिने राष्ट्रिय उद्योगहरु पनि अर्धमृत अवस्थामा पुगेका छन् । त्यसैले प्रमाणित गर्दछ कि नेपाल पुँजीवादमा होइन, दलाल पुँजीको कब्जामा छ । 

जनयुद्धले जनताको अपेक्षा पुरा गर्न नसकेपछि जनतामा आक्रोस पैदा भएको देखिन्छ । तपाईहरुले पनि प्रचण्ड–बाबुरामले धोका दिए भन्दै हुनुहुन्छ । अब तपाईहरु कसरी अघि बढ्र्नुहुन्छ ? 

हो, प्रचण्ड बाबुरामले नेपाली जनतालाई धोका दिएका हुन् । अहिले उनीहरु जसरी बदनाम भएका छन् त्यो उनहिरुको विचलन र पलायनको उपज नै हो । उनीहरु जनताबाट नाङगीएका छन् । जहाँ सम्म हाम्रो पार्टीले उनीहरुलाई कसरी हेर्ने भन्ने कुरा छ , हामीले उनीहरुलाई गद्धार घोषणा गरेका छौँ । उनीहरु काङग्रेस एमालेकै ठाउँमा अर्थात संसदबादी सुँगुरको खोरमा पसिसकेका छन् । हामीले यी विषयहरुमा राजनीतिक रुपमै डिल गछौँ । मुख्य कुरा जनयुद्धले उठान गरेका एजेण्डालाई सफल पार्ने कुरा हो । त्यो त पुरा गर्ने छौँ । वैज्ञानिक समाजवाद स्थापनाका खातिर जनवादी क्रान्तिले यी सबै कुराको हल गर्नेछ । 

नेकपाले नयाँ जनवादी क्रान्ति पश्चात तत्काल वैज्ञानिक समाजवाद लागु गर्ने बताउँदै आएको छ । तर विश्वमा समाजवाद असफल भएका उदाहरणहरु पनि छन् । के नेपालमा वैज्ञानिक समाजवाद स्थापना गर्न सकिएला ? 

विगतको विश्व इतिहासमा समाजवाद लागु गर्ने क्रममा कमि कमजोरी रहे । जनतामाथि अलि बढी अधिनायकत्व थोपरियो । नीजि स्वामित्वको प्रश्नलाई सही ढंगले व्यवस्थित गर्न नसक्दा जनताको स्वतन्त्रता कुण्ठीत हुन गएका कतिपय उदाहरणहरु छन् । रुसमा ४० वर्ष पछि ख्रुश्चेवको पालामा समाजवाद ढल्यो । त्यस्तै चिनमा पनि प्रतिक्रान्ति हुनुमा कतिपय कमजोरी रहे । समाजवाद उन्नत व्यवस्था भए पनि यो टिक्न नसक्नुमा केहि गम्भिर त्रुटिहरु भए ।

पहिलो त जनवाद र अधिनायकत्वलाई ठीक ढंगले लागु गर्न सकिएन । अब त्यसलाई ठीक ढंगले लागु गर्नुपर्छ । क्रान्ति सम्पन्न गर्नु मात्र ठुलो उपलब्धी रहेन । त्यसलाई टिकाउनु उत्तिकै महत्वपुर्ण छ । कम्युनिष्ट पार्टी विश्वका शोषित पिडित जनताको प्रतिनिधि भएकाले त्यो वर्ग र जनताको राजनीतिक आर्थिक र सांस्कृतिक मुक्ति तथा स्वतन्त्रतालाई कम्युनिष्ट पार्टीले रक्षा गर्नु पर्छ । के बाट भ्रम मुक्त हुनुपर्छ भने कम्युनिष्ट पार्टी सर्वहारा वर्गको मात्र होइन यो त त्यस भन्दा माथि उठेको हुन्छ । यी विषयलाई विगतका समाजवादी व्यवस्थाले सम्वोधन गर्न सकेनन् । समाजवादमा आर्थिक अधिकार कुन्ठित हुन्छन, राजनीतिक स्वतन्त्रता हँुदैन र जनता माथि तानाशाही लादिन्छ भन्ने गलत भ्रमहरु फैलिए ।

त्यसले गर्दा समाजवादलाई असफल गराइयो । अब हामीले ती भ्रमहरुलाई चिर्दै वैज्ञानिक समाजवादको ओरिजीनालिटि लाई स्थापित गर्नुपर्छ । यो नै समाजवादको स्थापना गर्ने र टिकाउने सहि विधि हो । साम्राज्यवादी पँुजीवाद विश्वका सर्वहारा श्रमजीवि जनता माथि आतंक र उत्पिडन थोर्पदै गएकाले अबको विकल्प वैज्ञानिक समाजवादी व्यवस्था हुनुपर्छ । मानव सभ्यताको सवैभन्दा उन्नत र शोषणविहिन व्यवस्था वैज्ञानिक समाजवाद हो ।

नेपालको सन्र्दभमा, यहाँको समाजको विशेषता २०६३ पछि अर्धसामन्ती र अर्धऔपनिवेशिक चरित्रबाट वदलिएर दलाल पुँजीवादी र नव औपनिवेशीक अवस्थामा पुगेकाले यो व्यक्त हुने संघिय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थालाई अन्त्य गर्नु आवश्यक छ । र, त्यसको ठाँउमा जन गणतन्त्रात्मक वैज्ञानिक समाजवाद स्थापना गर्नुपर्दछ । अहिलेको दलाल संसदिय व्यावस्थाले नेपाली जनतालाई स्वाधिन स्वतन्त्र र समृद्ध बनाउन सक्दैन । त्यसैले नेपालमा वैज्ञानिक समाजवाद स्थापना गर्ने कुरा जनताको आवश्कता हो र यो सम्भव छ ।

तपार्इहरू हतियार र सेना सहितको राजनैतिक दलको पक्षमा उभिनु हुन्छ, के नेपाल जस्तो देशमा ?

अहिले चिनको न्म्ए २१ ट्रिलियन डलर छ जब कि समग्र युरोपको न्म्ए २० ट्रिलियन डलर मात्र छ । चिनको लागि यो वृद्धि र विकास त्यहाँको सेना र हतियार भएको कारणले नै सम्भव भएको छ । अमेरीका, जापान, बेलायत हतियार र सेनाका कारणले शक्तिशाली छन् । जोसँग सेना र हतियार छ , उसैसंग आत्मनिर्भरता, स्वाधिनता र समृद्धि छ ।

सेना र हतियार बनाउनु हुँदैन भन्ने दासहरु र दलालहरु सँग हामी पूर्ण रुपले असहमत छौँ । ३५ करोड जनसंख्या भएको अमेरिका सँग १०४ वटा आणविक केन्द्र छन् तर १ अरब ३० करोड जनसंख्या भएको भारत सँग ४ वटा आणविक केन्द्र छन् । भारतले एउटा थप आणविक केन्द्र बनाउनु प¥यो भने अमेरिकाको अनुमती लिनु पर्दछ । भारत स्वयं पनि अमेरिकी सेनाको बुट मुनि छ । यद्धपी भारत सँग सेना र हतियार छन् तर त्यो सेना र हतियार जनताको हितमा नभएर भारतीय गरिव किसान र श्रमिक जनतालाई दमन गर्नका लागि बनाइएको छ । राष्ट्रिय स्वाधिनता र देशको रक्षाको लागि छैन । 

आठौँ महाधिवेशनबाट तपाईहरुले भारतलाई साम्राज्यवादी भनेर व्याख्या गर्नुभयो । अरुअघि नेपालका कम्युनिष्ट दलले भारतलाई विस्तारवादी बताउँदै आएका थिए । पेरी तपाईहरु भारतप्रति एकदम आक्रामक देखिनु हुन्छ । के यति भारत विरोधी बन्दा राष्ट्रिवादी भईने अथवा देशलाई फाइदा हुने हो र ? 

हाम्रा पार्टीले आठौँ महाधिवेनबाट भारतलाई साम्राज्यवादी ठहर ग¥यो । यो २००६ सालमा ..... कम्युनिष्ट पार्टी स्थापना भए देखि नै पुण्यलाल या मनमोहन अधिकारी या मोहनविक्रम सिंह वा अरु कम्युनिष्टहरुले नै पहिल्यै गर्नु पथ्र्यो तर उनीहरुले भारतलाई साम्राज्यवादी भनेनन् र कमजोरी गरे । जाहाँ सम्म हाम्रो कुरा छ, हामीले सत्य जे हो त्यो भन्यौ र सत्य भन्ने आँट गर्न पर्दछ । भारतले वृटिश ले ......भन्दा पहिले स्वतन्त्रता दिएको मणिपुरलाई खायो, गोवालाई खायो, कस्मिरालाई खायो र सिकिमलाई पनि खायो ।

 ४ वटा राज्यलाई खाने देशलाई साम्राज्यबदी नभनेर के भन्ने ? उसको नियत नेपाल र भुटानलाई पनि खाने खालको छ । उसले वंगलादेश टुक्राउनका लागि खेलेको भुमिका साम्राज्यवादी भुमिका नै हो । हाम्रो देशमा भारतलाई चिढ्याउने भने सबै विग्रन्छ कि नेपाली जनता भोकै भर्छन् कि या अरु कुनै अप्ठ्यारो पर्छ कि भनेर जुन चिन्ता गरेको देखिन्छ यो कायरता र दारम्व हो ।

संसदवादी दलाललाई भारतको दमको विरोध गरे सत्तामा पुगिन्न कि, सत्ताबाट निक्लिनु पर्छ की भन्ने ठूलो डर छ । त्यसैले दर्जनौँ ठाएँमा नेपाली भुमी मिच्दा पनि भारतीय सेनाले नेपाली भूमिमा आएर नेपाली जनता मार्दा पनि नेपालका सम्पदा निल्दा पनि ती लाचार नेपाली जनता मुख खोल्न सक्दैनन् । यहाँ कतिपय वुद्धिजिवी भनाउँदाहरुले पनि नेपाल भारतसँग झुकेर जानुपर्छ, मिलेर जानुपर्छ भन्ने काथर र कुटनितिक विश्लेषण गर्दछन् । त्यो आवाज दलाल र दासहरुको हो ।

स्वाभिमानी नेपाली जनताको आवाज होइन । हामी यी विषयमा स्पष्ट छौ । जुनसुकै अवस्थामा पनि नेपाल कम्युनिष्ट पार्टीले भारतीय दादागिरी र साम्राज्यवादी हरकत को खुलला प्रतिकार गर्दछ । हाम्रो देश खाना खोज्नेलाई नेपाली जनतालाई कसैको गुलाम सोच्नेहरुलाई हाम्रो पार्टीले कुनै छुट दिन सक्दैन । यसको मतलव हामी भारत सँग लड्न चाहन्छौँ भन्ने होइन तर भारतसँग गरिएका सबै अस मान सन्धि सम्झौता खारेज गर्नुपर्छ । मिचिएको हाम्रा भुःभाग फिताए पाउनु पर्छ । र नयाँ दुई पक्षीय आधारमा सन्तुलित र मैत्री सम्बन्ध बनाउनु पर्छ भन्ने हाम्रो स्पष्ट दृष्टिकोण हो । 

पार्टी पुनगर्ठन अगावै शिखगढीमा भेला गरे देखि नै विप्लव नतृत्वको पार्टी तत्कालिन नेकपा माओवादी, हालकाे नेकपा युद्धमा फर्किन्छ भन्ने अड्कल बाजी भएका थिए । र ढिलो चाँडो तपार्इहरु हतियार सहितको युद्धमा जानु हुन्छ भन्ने अनुमान अहिले पनि गरिन्छ । फेरी तपार्इहरुका अभिव्यक्ती र गतिविधिले पनि यो आशंका लाई बल दिएका छन् ? तपाइहरु फेरी युद्धमै फर्कने हो ?

हामीले चाहेको क्रान्ति हो, युद्ध होइन । क्रान्ति साध्य हो । युद्ध साधन हो । हामी महान जनयुद्ध गरेर संसदवादी दलसंग अनिवार्य रुपमा क्रान्ति गर्ने शर्तमा शान्ति प्रक्रियामा आयौँ । शान्ति प्रक्रियामा आएपछि संसदवादी दलहरुले हामीलाई धोका दिए । प्रचण्ड र भट्टराईहरु पनि संसदवादमै आत्मसर्मपण गरेपछि क्रान्तिको रक्षा गर्नका लागि हामीले किरण जीको नेतृत्वमा पाटी विभाजन ग¥यौँ ।

किरणजीहरु पनि अवमान्यतामा भन्नु भयो । त्यसपछि हामीले फेरी क्रान्तिकारी पार्टी पुनगर्ठन ग¥या हौँ । अहिलेपनि हामी राजनीतिक रुपकै वार्ताबाटै क्रान्ति गरौँ भन्ने पक्षमा छौँ । यदि शान्तिपूर्ण रुपमा आग्रह गर्दा आन्दोलन गर्दा जनताको आवाजलाई सुनिदैन या दवाइन्छ भने त त्यही अनुसार सोच्न सुरु गर्न हामी तयार छौँ । हामी सकेसम्म राजनीतक ढंगबाट शान्तिपूर्ण रुपमै क्रान्ति सम्पन्न हासिल गर्नै पक्षमा छौँ ।

,

प्रतिकृया दिनुहोस्

Loading...