ओमनका साहुले बन्दुक देखाएर शरीरमा हात हाल्थे....



सन्जिता देवकोटा

दुई वर्ष कुवेतमा काम गरेर शिला (नाम परिवर्तन) फर्किएकी थिइन् । एक दिन सोल्टीसित भेट भयो । ती सोल्टी शिलाको भाउजुको भाइ पर्ने थिए । अर्थात भाउजूको फुपूका छोरा । घरमा आएका सोल्टीसित त्यस अघि चिनापर्ची थिएन ।

सोल्टी फर्केको केही दिन पछि भाउजुले शिलालाई सोल्टीसित विहेको प्रस्ताव ल्याइन् । तिमीहरुका धेरै कुरा मिल्छन्, विहे गर भनेर प्रस्ताव राख्दा शिला छक्क परिन । धेरै सोचिन् । तर अन्तिममा भाउजुको जीत भयो । भाउजुको प्रस्ताव शिलाले नाईं भन्न सकिनन । घर सल्लाह मै शिलाले साेल्टीसित विहे गरिन् ।

बेहुली बनेर भित्रिँदै दुई सन्तानकाे अामा
तेश्री श्रीमती भएर शिला नयाँ घरमा भित्रिएकी थिइन् । शिलाले आफू तेश्री श्रीमती रहेछु भन्ने बेहुली भएर श्रीमानको घर पुगको धेरै दिन पछि मात्रै थाहा पाइन् । उनी भन्दा अगाडी नै उनका श्रीमानको दुई जनासँग विहे भैसकेको रहेछ ।

अरु पट्टिका दुई वटा बच्चा पनि थिए । तर ती बच्चाका आमा कहाँ छन् भन्ने कुरा शिलालाई पत्तो थिएन् । शिलाले श्रीमानलाई कहिले सोधिनन पनि ।

दुई जना छोरालाई आमाको माया दिन पाउँदा उनी निकै खुसी थिइन् । छोराहरु सँगै उनका पनि सपना बढ्दै थिए । अभावमै पनि शिलाले सपनाको ठूलो घर बनाएकी थिइन् ।

तर शिलाका खुसी धेरै दिन टिकेनन् । उनले नयाँ घरलाई सिङ्गार्न नपाउँदै भत्कियो । जोडिएका सम्बन्ध टुटिसकेका थिए । सम्बन्ध जोड्नलाई उनले धेरै प्रयास पनि गरिन । तर दुनियाँलाई साँचि राखेर जोडिएको सम्बन्ध कति बेला तोडियो उनले पनि पत्तो पाइनन् ।

एजेन्टलाई दिएको पासपोर्ट फिर्ता गरेर ससुरालाई
घरको आर्थिक अवस्था राम्रो थिएन् । श्रीमानको कमाईले ६ जनाको परिवार चलाउन गाह्रो थियो । त्यसैले उनले श्रीमानकै सल्लाहमा विदेश जाने निधो गरिन । विदेश पठाउने एजेन्ट आफ्नै ससुरा थिए ।

शिला विदेशमा कम्पनीकाे काम गर्न चाहन्थिन् । अर्कै एजेन्टबाट साउदीको कम्पनीमा काम गर्न जानका लागि पासपोर्ट समेत बुझएकी थिइन् । तर उनका श्रीमानले आफ्नो बुवा मार्फत नगए सम्बन्ध तोड्ने धम्कि दिएपछि अर्कैलाई दिएको पासपोर्ट फिर्ता ल्याएर ससुरालाई दिइन् ।

पासपोर्ट बुझाएको १० दिनमा उनका ससुराले घरेलु कामका लागि भनेर दुवई उडाए । दुवईको विमानस्थलमा ओर्लिएपछि शिला छाँगाबाट खसे झैं भइन् । किनभने श्रीमान, सासु र ससुरा मिलेर बेचेको कुरा उनले त्यहाँ पुगेर थाहा पाइन् ।

पैसाको लोभमा आफन्तले बेचे 
दुवई विमानस्थलबाट उनलाई अरु नेपाली महिला राखेको ठाउँमा लगियो । त्यहाँ भेटिएका साथीहरुले भने पछि उनले आफू बेचिएको पत्तो पाइन् । शिलाले घरका दुई जना छोराका आमालाई सम्झिइन् । उनलाई लाग्यो पक्कै ती छोराका आमाहरु पनि यस्तै विपतमा छन् ।
‘मलाई श्रीमान, सासु र ससुराले बेचे । पैसाको लोभमा आफ्नैले बेचे,’ उनले भनिन् । उनले १० दिनमै कसरी जान मिल्यो भनेर सोध्दा महिलाका लागि विदेश जान बन्द हुन लाग्यो भनेका थिए ससुराले ।

पशुको झैं मान्छेको मोलमोलाई 
दुवईमा धेरै जना दिदीबहीनीलाई थुनेर राखिएको थियो । उनलाई पनि त्यही लगेर थुनियो । भोलिपल्ट बिहान सबैलाई कालो कपडाले मुख छोपेर लाइनमा राखियो । किन्न आउने मालिकले उनीहरुलाई छान्न थाले । शिलालाई अच्चम लाग्यो । गाउँमा पशु बेच्दा यस्ताे मोलमाेलाई हुन्थ्याे । उसरी नै मानिस किन्न आएका साहु उनको मोल गर्दै थिए ।

शरीर छाम्ने देखि उचाल्ने गरेपछि मोलमाेलाई गरेर एक जना साहुले उनलाई किने । ती साहु ओमनका थिए । उनलाई दुवईबाट ओमनमा लगियो ।

काम गर्ने ठाउँमा कामको दुःख सँगै साहुले दुर्व्यवहार गर्थे । ‘श्रीमती नभएको बेला उनलाई साहुले शरीर भरी छाम्थे । ‘ओके बाबा जेन’ भन्दै एकान्तमा लगेर शरीर भरी छाम्यो, नमाने मारिदिने धम्की दिन्थ्यो । ‘मैले ज्यान जोगाउन ओके बाबा जेन नै भन्थें’ यसको अर्थ तिमी साह्रै राम्री भनेको हो, साहुले कसरी दुर्व्यवहार गर्थे भन्ने सुनाइन् ।

बिरामी हुँदा पनि काम 
काम पनि सजिलो थिएन । दिनमा एकपटक मात्र खान दिन्थे । दिनभरी घर सफा गर्ने, आइरन लगाउने, घर पुछ्ने देखि लुगा धुने सबै काम शिलाले नै गर्न पर्थ्याे । काम गरेको भएन भन्दै उनलाई साहु र साहुनी दुवैले पिट्थे ।

खान नपाएपछि शिला बिरामी परिन् । घरको तलमाथि गर्न उनलाई गाह्रो पर्ने । त्यतिबेला पनि काम गरिनस् भनेर साहुनीले घिसार्दै पिटिन् । शिलाले काम गर्न नसक्ने भएपछि एजेन्टकोमा पुर्‍याइदिन साहुलाई आग्रह गरिन । तर साहुले सुनेको नसुनेको झैं गर्थे ।

उनलाई मारिदिन्छु भन्दै साहुले बन्दुक तेर्स्याउँथे । साहुले मारिदिन्छु भनेर बन्दुक देखाउँदा उनले बाँचेर फर्कने आशै मारेकी थिइन् ।
शिला धेरथोर अरबी भाषा जान्दथिन् । काम गर्न सकिन भनेर साहु साहुनीले मार्ने योजना बनाएको उनले आफ्नै कानले सुनेकी थिइन् । कुन दिन मार्ने हुन भन्ने डरले शिलाले काम गर्नै सकिनन् ।

नेपाली एजेन्टले पनि कुट्न छाडेनन् 
धेरै बिरामी परेपछि उनलाई साहुले नेपाली एजेन्टकोमा पुर्‍याइ दिए । घरमा काम गर्न नसकेको भन्दै नेपाली एजेन्टकोमा झनै पिडा दिइयो । ‘छातीमा मिनरल वाटरको बोतलले पिट्थे, जति रोएपनि पिट्न छाडेनन्, नेपालीले नै पिटे’ शिलाले भनिन् ।

नेपाली एजेन्टको बस्दा पनि सुख थिएन । साहु परिवर्तन गर्दै काम गर्न पठाउँथे । फेरि दुई चार दिनमा साहुले त्यही एजेन्टकोमा फर्काइ दिन्थे । यो क्रम चलिरह्यो ।

धामीलाई फुक्न लगाउने बहानामा उद्दार गर्न आग्रह 
शिलाले साहुलाई आफू बिरामी भएकाले नेपालबाट धामीले फुकेपछि निको हुने भन्दै नेपालमा फोन गरिदिन आग्रह गरिन । साहुले फोन लगाइदिए । फुक्ने बहानामा उनले बहिनीलाई फोन गरेर आफूलाई बचाउन भनिन् ।

यसअघि उहाँले श्रीमानलाई पनि आफ्नो अवस्थाको बारेमा बताएकी थिइन् । ‘बेच्नेले के फर्काउँथ्यो । अझ एजेन्टलाई पो कुरा लगाइ दिएछ । त्यही भन्दै एजेन्टले मलाई कति कुटे कुटे’ उनले भनिन् । दुःख बाहेक उनले विदेशमा एक रुपैयाँ पनि तलव पाईनन् ।

अहिले शिला बहिनीको सहयोगमा नेपाल फर्किएकी छिन् । फर्किंदा उनी श्रीमानको घर नै गइन् । तर श्रीमान् र सासुससुराले उनलाई स्वीकार गरेनन् । सासुले आफ्नो छोरासँग बस्न नदिने भन्दै धम्क्याइन् । ससुरा एक शब्द बोलेनन् ।

त्यसपछि आफ्नै दाइ भाउजूलाई गुहारिन् । तर कसैले उनलाई साथ दिएनन् । उनी फर्कंदा श्रीमानले अर्कै केटीसँग विहे गरिसकेका थिए ।
सपनाको घर भत्किए पनि शिला अरुकै घर बनाउने ठाउँमा हिजोआज ज्यामीका रुपमा काम गर्छिन् । काठमाडौंमा कोठा लिएर एक्लै बसेकी छिन् ।

(उज्यालोबाट साभार यो कथा एक जना नेपाली चेलीले वैदेशिक राेजगारीका क्रममा भोगेको वास्तविक भोगाइमा आधारित छ । व्यक्तिगत गोपनियताका लागि नाम परिवर्तन गरिएको छ । ठेगाना उल्लेख गरिएको छैन् ।)

,

प्रतिकृया दिनुहोस्

Loading...