एमाले नेता झलनाथलाई माताले फोन गरेर झस्काएपछि…

  • काठमाडौं, २० बैसाख ।
प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाभियोग लाग्नु केही घण्टापहिले एमाले वरिष्ठ नेता झलनाथ खनालको मोबाइल बज्यो । फोन थियो, केही सफल भविष्यवाणी गरेर चर्चामा आएकी माताको । भनिन्, ‘म १०–१२ दिनदेखि राम्रो सपना देखिरहेकी छैन ।’

माता हुन्, धनकुटा, ताङ्खुवा स्थायी घर भई काठमाडौं सीतापाइला बस्दै आएकी सविता आचार्य (सरु) को । ‘त्यस्तो के देख्नुभयो त ?’ झलनाथले सोधे । उनले भनिन्, ‘नेताको बीचमा धेरै नराम्रो खटपट पर्दै छ । त्यसपछि मारपिट पनि हुन्छ ।’ झलनाथले पत्याएनन् । ‘होइन होला’ भन्दै कुरा टुंग्याए । तर, केही समयमै प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद्मा महाभियोग प्रस्ताव दर्ता भएसँगै उनी पदबाट स्वतः निलम्बनमा परिन् ।

यसपछि बल्ल झलनाथ झस्किए । सायद, अघि भएको कुराकानी सम्झेर हुनुपर्छ, आफैँले माता सवितालाई फोन गरेर भने, ‘तपाईंले त कुरा मिलाउनुभयो त ?’ सविताले अघि भन्न छुटाएका कुरा सुनाउन थालिन् ।

मलेखुका एमाले राजकुमार त्रिपाठीको सीतापाइलास्थित घरमा डेरा बस्ने यी माताले सपनामा गोली चलेको, मान्छेहरू रगतपच्छे भएर ढलेको, म्यादी प्रहरीले ती ढलेका मान्छे बोक्दै एकातिर लगेकोजस्ता दृश्य अझै देखिरहेकी छन् । यस्तो कुरा राजकुमारलाई पनि सुनाइन् । उनले पत्याएनन् । अनलाइन न्युज पोर्टल क्यानाडा–नेपाल डटकममा पनि उनले यस्तै भविष्यवाणी गरेकी थिइन्, एक साताअघि ।

अर्थात्, हिजोबाट प्रक्रिया शुरु भएको स्थानीय निर्वाचन शान्तिपूर्ण हुन नसक्ने उनको भविष्यवाणी छ । स्मरणीय छ, यिनै माताले ०७१ चैतमा जनआस्थालाई दिएको अन्तर्वार्तामा ०७२ असारभित्र देशमा ठूलो विपत्ति आउने बताएकी थिइन् ।

विपत्ति वैशाखमै आयो, १२ गतेको महाभूकम्प । उनले नेपालमा विकसित राजनीतिक घटनाक्रमबाट जनतामा वितृष्णा बढ्ने र त्यसबाट राजतन्त्रप्रतिको जनमत सकारात्मक बन्ने बताउन थालेकी छन् । उनका अनुसार कुनै न कुनै रूपको राजसंस्था नेपालमा पुनःस्थापित हुनेछ । अहिले पनि कुनै ठूलो पदमा रहेका नेतामाथि ठूलै अनिष्ट हुने लक्षण देखेकी छन् । जनआस्था साप्ताहिकमा खबर छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...