एमालेका उम्मेदवार किर्ते काम गर्दागर्दै रंगेहात पक्राउ

  • काभ्रे ।

काभ्रेपलाञ्चोक जिल्लाको भूम्लू गाउँपालिका वडा नं. ७ का एमालेको तर्फबाट वडाध्यक्ष पदको उम्मेदवार बनेका रमेशराज खरेललाई प्रहरीले पक्राउ गरिएको केही घण्टामा नै उन्मुक्ति दिएको छ । 

उनले आईतवार सो गाउँपालिकाको ७ नं. वडा कार्यालयको सचिवद्धारा हस्ताक्षरित खाली लेटरप्याडमा भूकम्प पीडितको नाममा आएको रकम निकासाको लागि सिफारिस लेखिरहेको क्रममा प्रहरीले बनेपास्थित लक्ष्मी बैङ्कबाट पक्राउ गरिएको थियो ।

स्थानीयका अनुसार खरेलले भूकम्प पीडितको नाममा आएको पहिलो किस्ता बापतको रकम निकासाको लागि सिफारिस गर्न खाली लेटरप्याड प्रयोग गरि उसैले सिफारिस लेख्दै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालयबाट खटिएका प्रहरीको टोलीले पक्राउ गरेको हो । 

पक्राउपछि प्रहरीले आवश्यक छानविनको लागि भन्दै जिल्ला प्रशासन कार्यालयमा बुझाएका थिए । जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सहकुलबहादुर थापाले भने ‘हामीलाई जानकारी आएपछि पक्राउ गरी आवश्यक कार्वाहीको लागि भनेर सिडिओ कार्यालयमा बुझाएका छौं, नियम अनुसार उहाँले गर्नुहुन्छ ।’ थापाले भने, ‘त्यो काम निर्वाचन आचार संहिता विरुद्ध भएको छ ।’

उता प्रमुख जिल्ला अधिकारी शिव प्रसाद सिमखडाले भने आफुहरुले गर्नुपर्ने काम गरेर मुख्य निर्वाचन अधिकृत कहाँ बुझाएको बताए । ‘हामीले मुख्य निर्वाचन अधिकृतकहाँ बुझाएका छौं, अब उहाँले के गर्नुहुन्छ !’ सिंखडाले भने ।

मुख्य निर्वाचन अधिकृत मेदनीप्रसाद पौड्यालले भने वडा कार्यालयको सचिवको हस्ताक्षरित खाली लेटरप्याड प्रयोग गरेर त्यसमा दुई लाईन मात्रै लेखेको अवस्थामा पक्राउ परेकाले खासै समस्या नदेखिएको बताए । ‘खाली लेटरप्याडमा लेखिरहेको अवस्थामा पक्राउ गरेको रहेछ, खासै त्यस्तो लेखेको नपाएकाले सचेत गराएर पठायौं ।’ मुख्य निर्वाचन अधिकृत पौड्यालले भने । वडा सचिवको हस्ताक्षरित खाली लेटरप्याड प्रयोग गरेको अवस्थामा प्रहरीले पक्राउ गरिएका खरेललाई मुख्य निर्वाचन अधिकृतले सचेत मात्रै गराएर आईतवार नै मुक्त गराएको छ ।

भुम्लु गाउँपालिकाको ७ नं. वडा सचिव अर्जुन बहादुर कार्कीले खरेलालई खाली लेटरप्याडमा हस्ताक्षर गरी दिएको पाईएको छ । खाली लेटरप्याड हस्ताक्षर गरेर दिने वडा सचिवलाई भने प्रमुख जिल्ला अधिकारीले विभागीय कारवाहीको सिफारिस गरेका छन् ।

भुम्लु गाउँपालिकाको ७ नं. वडा सचिव अर्जुन बहादुर खत्रीले खरेलालई खाली लेटरप्याडमा हस्ताक्षर गरी दिएको पाईएको छ । खरेल स्थानीय बागदेवी माविका प्रावि शिक्षक हुन् । उनी निर्वाचनमा उम्मेदवारी बन्नका लागि शिक्षण पेशाबाट राजीनामा दिएर एमालेको तर्फबाट ७ नं. वडाको वडाध्यक्षको उम्मेदवार बनेको ब्यक्ति हुन् ।

प्रतिकृया दिनुहोस्

Loading...