मनोनयन दर्ताकै दिन प्रचण्ड र वैद्य माओवादीका पोलिट्ब्यूरो सदस्यसहित दर्जन नेताहरुद्वारा पार्टी परित्याग

  • काठमाडौँ, १९ बैशाख । 
नेकपा (माओवादी केन्द्र) का पोलिट्ब्युरो सदस्य श्यामबहादुर बोहरा ‘अटल’ले पार्टी परित्याग गरेका छन् ।

पुरानो संसदीय व्यवस्थालाई सुदृढ गर्ने दिशामा अगाडि बढेको, इमान्दार नेता–कार्यकर्ताभन्दा ठेकेदारहरुको हालिमुहाली बढेकोले अाफूहरुले माओवादी केन्द्र परित्याग गर्नु परेको अटलले बताए ।

मंगलबार संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पोलिट्ब्युरो सदस्य अटलले माओवादी केन्द्रका नेताहरु पार्टी र सरकारको माथिल्लो निकाय पुग्न जाल, झेल र तिकडम गरिरहेको बताउँदै भने, ‘पार्टीको उपल्लो निकायमा पुग्न सफल चंखे–चतुरे, व्यक्तिवादी, महत्वकांक्षी नेताहरु लुट र घुसबाट आर्जित अकूत सम्पति आर्जन गर्न प्रतिस्पर्धा गरिरहेका छन् ।’

माओवादी केन्द्रको आन्तरिक जीवनलाई हेर्दा कम्युनिस्ट पार्टी नरहेको बताउँदै ‘आफूजस्ता इमान्दार नेता–कार्यकर्ताको माओवादी केन्द्रमा भविश्य नभएका कारण पार्टीबाट विद्रोह गर्न बाध्य भएँ’ अटलले भने ।

‘नेकपा (माओवादी केन्द्र)का नेताहरुले क्रान्तिकारी कार्यकर्ता र जनतालाई झुक्याउन सर्वहारा वर्गको मुक्ति र समाजवादको नारा फलाक्न छोडेका भने छैनन् । मालेमाको मर्म र जनयुद्धको भावना विपरित व्यक्तिवादी, स्वार्थी, परिवारवादी, नातावादी, पक्षपाति, भ्रष्ट, अकुत सम्पत्तिका मालिक बन्नु उनीहरुको कर्म बनेको छ’ पोलिट्ब्युरो सदस्य अटलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

जनयुद्ध लडेका इमान्दार कार्यकर्ता र क्रान्तिकारीहरुको बेहाल भएको बताउँदै अटलले प्रचण्डको नेतृत्वमा माओवादी केन्द्र एमालेको बाटोमा अघि बढेको दाबी गरे ।

त्यसैगरी नेकपा (क्रान्तिकारी माओवादी) दाङ सह-सेक्रेटरी खम्बु चन्द ‘समीर यात्री’को नेतृत्वमा आधा दर्जन नेता–कार्यकर्ताले पनि विद्रोह गरी पार्टी त्याग गरेका छन् । पार्टी नेतृत्व विचारको संरक्षण गर्ने नाममा मोहनविक्रमको बाटोमा लागेको बताए ।

‘क.किरणबाट पार्टीलाई ठोस दिशा निर्देश गर्ने, ठोस परिस्थितिको ठोस विश्लेषण गरी ठोस निर्णय लिँदै पहलकदमी लिने र राजनीतिक हस्तक्षेप बढाउने जस्ता महत्वपूर्ण विषयमा कमजोर भूमिका देखिदै आयो । अन्तरसंघर्षलाई उचित ढंगले व्यवस्थापन गर्दै तत्काल सही निर्णय लिनुको सट्टा लामो समयसम्म अनिर्णयको बन्दी बन्ने, अकर्मण्यतामा फस्नेजस्ता समस्याले पार्टीलाई गम्भीर क्षति पुर्‍याउँदै आएको छ । यही समस्याले पार्टीलाई गतिहिन र दिशाविहिन बनाएको छ’ पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा भनिएको छ ।

उनले क्रान्तिकारी माओवादीको नेतृत्वमा अब कुनै पनि क्रान्ति नहुने बताउँँदै त्यहा बसिरहनु समय बर्बाद पार्नु मात्र भएको तर्क गरे । समिरले क्रान्तिकारी माओवादीले चुनाव उपयोग गर्ने नीति अक्रमर्णयताको उपज भएको समेत बताए ।

पत्रकार सम्मेलनमा बोल्दै समिरले क्रान्तिकारी माओवादीमा बसेर समय बर्बात नगरेर विद्रोह गर्न सबै नेता–कार्यकर्तालाई आग्रह समेत गरे ।

विद्रोह गर्ने नेताहरुले नेपाल कम्युनिस्ट पार्टीले अगाडि सारेको एकीकृत जनक्रान्तिको कार्यदिशाले मात्र अबको क्रान्ति पूरा गर्ने विश्वास व्यक्त गरे ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...