भुकम्प पीडितहरुद्वारा सरकार बिरुद्ध मुद्दा, अदालतले दियो कारण देखाउ आदेश


काठमाडौँ । 

भुकम्प पीडितहरुका लागि सहुलियत दरमा ट्याक्सी उपलब्ध गराउने निर्णय तत्कालका लागी रोकिएको छ ।
सहुलियत दरमा ट्याक्सी उपलब्ध गराउने नाममा आर्थिक चलखेल भएको भन्दै पीडितहरुले अदालतको ढोका घचघच्याएपछि सम्पूर्ण प्रकृया रोकिएको हो।
पीडितहरुले अदालतमा दिएको निवेदनउपर पाटन पुनरावेदन अदालतले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ । उक्त आदेशसँगै ट्याक्सी वितरणको सबै प्रक्रिया रोकिएको हो । 

सहुलियत दरमा भुकम्प पीडितलाई ट्याक्सी उपलब्ध गराउने नाममा करोडौंको रकम लेनदेन भएको आरोप पीडित चुडा बहादुर खड्कासहित ३ जनाले अदालतमा निवेदन दिएपछि सो आदेश जारी भएको हो ।

निवेदकहरुले सरकारले हचुवाका भरमा मन्त्री स्तरीय निर्णय गरी सवारी आपूर्ति कम्पनी र विपक्षीहरुको मिलेमतोमा ठूलो आर्थिक चलखेलबाट पीडितको नाममा गाडी भित्र्याउने र पहुँचवालाले मात्र पाउने आन्तरिक षड्यन्त्र भएको आशंका गरेका छन् । 

सरकारको उक्त कदम रोकी वास्तविक भुकम्प पीडितहरुले पाउने नीति अबलम्बन गर्न र शुन्य भन्सार दरमा ट्याक्सी उपलब्ध गराउनुपर्ने, बिना धितो सहुलियत ब्याजदरमा उपलब्ध गराउनेपर्ने लगायतका माग पीडितहरुको छ ।

न्यायधीश पदमराज भट्टको उक्त आदेशमा १५ दिनभित्र उच्च सरकारी वकिल कार्यालय, पाटनमार्फत लिखित जवाफ पेश गर्न पनि भनिएको छ । 


२०७४ जेठ ११ गते प्रकाशित




,

प्रतिकृया दिनुहोस्

Loading...