गोर्खाल्याण्डका लागि नेपाली भाषीहरूले उठाए कठोर कदम, पूरै भारत तरंगित

  • दार्जिलिङ । 
भारतको पश्चिम बंगालमा अलग गोर्खाल्यान्ड राज्य मागसहित नेपाली भाषीको आन्दोलन चर्किंदै जाँदा शुक्रबार गोर्खा टेरिटोरियल एडमिनिस्ट्रेटिभ (जीटीए) का सभासदहरूले संयुक्त रूपमा राजीनामा दिएका छन् ।

गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष तथा जीटीए प्रमुख विमल गुरुङ, महासचिव रोशन गिरी, सहसचिव विनय तामाङ, नारी मोर्चा प्रमुख आशा गुरुङसहित ४३ सभासद्ले राजीनामा दिएको मोर्चाकी नेत्री निरा शर्माले जानकारी दिए । जीटीएमा रहेका ३५ सदस्यमध्ये प्रकाश गुरुङले दुई महिनाअघि नै राजीनामा दिएका छन् । 

अर्का सभासद् सतिष पोखरेललाई केही दिनअघि बंगाल प्रहरीले पक्राउ गरेको छ। पोखरेलले पनि भोलिसम्ममा हिरासतबाटै राजीनामा दिने नेत्री शर्माले बताउनुभयो । तीन दिनअघि दार्जिलिङमा सम्पन्न सर्वदलीय बैठकले जीटीए खारेज गर्ने निर्णय गरेका थिए । मोर्चाले आउँदो आइतबार केन्द्र सरकार, राज्य सरकार र मोर्चाबीच सन् २०११ अक्टोबर १८ मा भएको सम्झौता जलाउने कार्यक्रम तय गरेको छ ।

सम्झौतापछि जीटीए निर्वाचनमा विजयी सबै सभासद्ले राजीनामा दिएपछि जीटीएको औचित्य सकिएको मोर्चाको भनाइ छ । जीटीएलाई मोर्चाले गोर्खाल्यान्ड प्राप्त गर्ने श्रेणीको रूपमा स्वीकार गर्दै निर्वाचनमा भाग लिएको थियो । अन्य दलले जीटीए खारेज गरेर सामूहिक नेतृत्वमा आन्दोलन अघि बढाउनुपर्ने अडान राखेपछि मोर्चाले पछिल्लो कदम चालेको हो ।

पहाडको विकासका केही अधिकार प्रदान गरेको जीटीएले दार्जिलिङ, कालेबुङ, खर्साङ, मिरिक क्षेत्रमा काम गर्न पाउने अधिकार पाएको थियो । गोर्खाल्यान्डको माग गर्दै नेपाली भाषी भारतीयले ११० वर्ष बिताइसकेका छन् ।

सन् १९०७ देखि आजसम्म त्यहाँका बासिन्दाले आश्वासन मात्र पाएको दार्जिलिङमा घर भएर इलामको एक विद्यालयमा कार्यरत राजनमाइकल गुरुङ बताउनुहुन्छ । गोर्खाल्यान्डमा डेढ करोड नेपालीभाषी भारतीय नागरिक रहेको मोर्चाको दाबी छ ।

भारत स्वतन्त्रताको पहिलो अध्यायदेखि नै गोर्खाहरूले गोर्खाल्यान्ड माग्दै आएका छन् । पछिल्लो विकल्प ‘जीटीए’मा पुगेर रोकिएको आन्दोलन अब नरोकिने मोर्चाले जनाएको छ ।

यसअघिका आन्दोलन कहिले छैटौं अनुसूची, कहिले दाजिलिङ गोर्खा पार्वतीय परिषद्को नाममा रोकिएको थियो । बंगाल सरकारले कक्षा १ देखि ८ सम्म बंगाली भाषा अनिवार्य पढ्नुपर्ने व्यवस्था गर्न लागेपछि सुरु भएको आन्दोलन गोर्खाल्यान्डको एक मात्र एजेन्डा बनेर अघि बढेको मोर्चाले जनाएको छ ।

मोर्चाको आह्वानमा शनिबार हुने भनिएको सर्वदलीय बैठक आवश्यक तयारीका लागि बिहीबारसम्मलाई सारेको नेत्री शर्माले जानकारी दिनुभयो ।

बंगाल प्रहरीले असार १ मा गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष एवं गोर्खा टेरिटोरियल एडमिनिस्ट्रेटिभ (जीटीए) प्रमुख विमल गुरुङको दार्जिलिङस्थित घरमा छापा मारेर तोडफोड गरेपछि भाषा आन्दोलन गोर्खाल्यान्डप्राप्तिको एक मात्र एजेन्डाको रूपमा बढेको हो ।

मोर्चाले आह्वान गरेको अनिश्चतकालीन बन्दका कारण नवौं दिन पनि दार्जिलिङसहित सबै पहाड ठप्प रहेको मोर्चाले जनाएको छ। बन्दक्रममा प्रदर्शनमा उत्रेका मोर्चाका कार्यकर्ता र प्रहरीबीच असार ३ गते झडप हुँदा तीन जनाको ज्यान गइसकेको छ ।

बंगाल प्रहरीले मोर्चाका २५ नेताविरुद्ध मुद्दा दर्ता गरेको भारतीय सञ्चारमाध्यमले जनाएको छ । आन्दोलन चर्किएपछि ममता बेनर्जी नेतृत्वको बंगाल सरकारले पहाडमा इन्टरनेटसहितका सुविधा बन्द गरेको छ । गुरुङसहितका नेता भूमिगत भएका छन् । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...