मध्यपुर्वको अनन्त युद्ध र कतार संकट


नरेन्द्र विश्वकर्मा

मध्यपूर्वका मुख्य ६ वटा देशहरु साउदी अरव, यूएई, वहराइन, लिविया, इजिप्ट, यमन र माल्दिभ्सले कतार संगको आर्थिक र कुटनैतिक सम्वन्ध विच्छेद गर्ने निर्णय गरेका छन् । यो निर्णयले विश्व राजनितिको ध्यान एक पटक फेरी मध्यपूर्वमा केन्द्रीत गरेको छ ।

मध्यपूर्व विगत लामो समयदेखी विश्व राजनीतिको केन्द्रमा रहदैँ आएको छ । यसको पछाडी यहाँ रहेको पेट्रोलियम पदार्थ, ग्यास आदी प्राकृतिक स्रोतहरुको प्रचुर मात्राको उपलव्धता र त्यसले पैदा गरेको आर्थिक केन्द्रीकरण र तिनको विश्ववजारमा बढीरहेको खपत र माग नै रहेको छ । 

साउदी अरवले कतारसंगको सिमाना वन्द गरेको छ भने अन्य देशमा भएका कतारीहरुलाई २ हप्ता भित्र आफ्नो देश फर्कन आदेश दिईएको छ । कतारको निम्ति यो एउटा निकै गम्भिर खतराको संकेत हो । कतार आफैमा पेट्रोलियममा धनि देश हो तरपनि खाध्यान्न लगायतका सामाग्रीहरु अन्य देशवाट साउदीको स्थल मार्ग भएर आयात गर्ने गर्दछ । यो निर्णयको दोस्रो दिन नै कतारको शेयर वजारमा ७.२ प्रतिशतको गिरावट आउनुले यस घटनाले कतारको आर्थिक प्रणालीमा गम्भिर संकट आउने संभावना देखिन्छ ।  क्षेत्र लामो समयदेखि युद्ध भुमिमा परिणत भईरहेको छ । 

सन् २००३ मा सुरु भई करिव साढे ८ बर्ष चलेकोे ईराक युद्ध, इजरायल र प्यालेष्टाइनबीचको लामो युद्ध र संघर्षहरु, सिरियाको गृहयुद्ध, कुर्दिस जातिले लडिराखेको युद्ध र पछिल्लो चरणमा अाइएसअाइए लगायतका ईस्लामिक अतिवादी संगठनहरुको उत्पति र तिनिहरुको विकास एवं प्रभाव र अहिले नयाँ सुरु भईरहेका अन्तरविरोधहरुलाई हेर्दा यो क्षेत्र अझै लामो समय अनिश्चित समयावधिको युद्धमा फस्ने कुरा प्राय निश्चित नै देखिन्छ ।

सिरियाको गृहयुद्धलाई मात्रै हेर्ने हो भने युद्द सिरियामा तर अमेरिका र रुसको विचमा युद्ध भईराखेको छ । जहाँ रुसले वसर अल असादको सरकारी पक्षलाई सहयोग गरिरहेको छ भने अमेरिका र साउदी अरव लगायतका मध्यपूर्वका देशहरुले विद्रोही पक्षहरुलाई आर्थिक एवं सैन्य सहयोग गरिरहेको छ । यहि युद्धमा मात्रै ६० लाख सिरियाली नागरिकहरु आन्तरिक रुपमा विस्थापित भएका छन् करिव ५० लाख मानिसहरु देश छोडी शरणार्थीको रुपमा यूरोपलगाएत अन्य देशहरुमा भागेका छन् । करिव ५ लाख मानिसहरुको ज्यान गईसकेको छ र करिव २० लाख मानिसहरु घाईते रहेका छन् । यि सवै आकँडाहरुले मध्यपूर्वको भयाभह जनजीवनबारे अन्दाज अगाउन सकिन्छ ।

१ महिना अगाडी कतारका अमिरले अमेरीका र साउदी अरवले ईरानमाथि गरेको व्यवहार र लिएको नितिको विरोध गरेका थिए । उनले अमेरीकाले ईरानलाई गरेको व्यवहार गलत र अनावश्यक रहेको भनि टिप्पणी गरेका थिए । साउदी अरव जो अमेरीकी निगरानिमा चल्दछ, उसले मध्यपूर्वमा एकछत्र साम्राज्य चलाउन खोजेको कुरा पनि स्पष्ट नै छ । साउदी अरव मार्फत अमेरीकाले मध्यपुर्वका क्षेत्रहरुलाई नियन्त्रण गर्ने गर्दछ । तर कतार आफैमा सम्पन्न रहेकोले उसको आफ्नै खालको सम्वन्ध ईरान र अन्य देशहरुसँग रहेको छ र नयाँ बनाउन पनि खोजिरहेको छ जुनकुरा अमेरीका र साउदी अरवलाई चित्त वुझेको छैन । समुन्द्री सिमानाबाट इरानसँग जोडीनु र कतारमा रहेको विश्वकै सवैभन्दा ठुलो ग्यास खानीको केही अंश इरानसँग साझेदारीमा रहनुले पनि यी दुई देशहरुको सम्वन्ध नजिक रहदैँ आएको छ । 

सन् २०११ को अरव स्प्रीङ्घमा ईजिप्टमा होस्नी मुवारकको शासनको अन्त्य भएपनि त्यहाँ मुस्लिम व्रदर्रउडको उत्पति भयो । जसलाई साउदी अरवले मान्यता दिएन र अस्वीकार गर्यो । किनकी उ मध्यपूर्वमा कुनै पनि क्रान्ति या परिवर्तनको पक्षमा थिएन । साउदी चाहन्थ्यो कि मध्यपुर्वमा स्थिर वातावरण वनि राखोस र सवै मिलेर ईरानका विरुद्धमा जान र एकल्याउन पाईयोस र आफ्नो राज मध्यपुर्वमा सधै चलिराखेस् । कतारले मुस्लिम व्रदर्रहुडलाई निरन्तर समर्थन गर्दै आयो । यसभन्दा अगाडी २०१४ मा पनि साउदी अरव, वहराईन र युएईले कतारमाथि अस्थाई रुपमा कुटनैतिक सम्वन्ध विच्छेद गरेका थिए ।

अल जजिरा टेलिभिजनको विशेषगरी मध्यपूर्वमा र विश्वभरीनै निकै नै ठुलो प्रभाव र संजाल रहेको छ । जसको केन्द्रीय कार्यालय कतारमा छ र उसले राजनैतिक दृष्टिले पनि कतारलाई नै सहयोग गर्दछ । अज जजिराको प्रभाव विशेषगरी मध्यपुर्वमा अत्यन्तै राम्रो रहेको छ । जसका समचार र विश्लेषणहरुलाई धेरै मानिहरुले हेर्ने र विश्वास गर्ने गर्दछन् । यसलाई कतारले आफ्नो एक शक्तिको रुपमा प्रयोग गरिराखेको छ । जुन कुरा अमेरीका र साउदी अरवलाई मन पर्ने कुरै भएन् । 

सन् २००३ मा अमेरीकाले अफगानिस्तानमा हमला गर्दा अल जजिराको कावुल स्थित प्रशारण कार्यालयमा पनि हवाई हमला गर्नुले तिनको सम्वन्ध र अन्तरविरोधलाई प्रष्ट पार्दछ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरवको भ्रमण गरे लगत्तै यी देशहरुले कतारमाथि कुटनैतिक, राजनैतिक र आर्थिक नाकावन्दि गर्ने निर्णय लिएका हुन् । त्यसैले यस घटनासंग अमेरिकाको निकैन नजिक सम्वन्ध र स्वार्थ रहेको स्पष्ट हुन्छ । उनले त्यहाँ मध्यपुर्वका सवै देशहरुले आफ्नै आणविक कार्यक्रम संचालन गरिराखेको ईरानलाई एक्लो बनाउन निर्देशन दिए । 
ईरानको रुससँगको सहकार्य र यदि उसँग आणवीक शक्ति भएमा उसले मध्यपूर्वमा आफ्नो प्रभाव जमाउन सक्ने र त्यसले अमेरिका र साउदी अरवको प्रभावलाई कमजोर पार्ने डर अमेरिका लाई रहेको छ । तर डोनाल्ड ट्रम्पको यो प्रस्तावलाई कतारले सार्वजनिक रुपमा ठाडै अस्वीकार गर्यो र भन्यो की ईरानलाई असहयोग गर्नु हुँदैन । यस विषयमा कतारले एक दहसम्म ईरानको पक्षमा वकालत गर्यो । यी सवै विषयहरुले साउदी अरव लगायतका अन्य देशहरुले कतारमाथी कारवाही गर्नुपर्ने धारणा वनाए जसको परिणाम अहिलेको नाकावन्दी हो ।

विश्ववजारमा ग्यासको निर्यात गर्ने प्रमुख देशहरुमध्ये कतार एक हो । सन् १९७० पछि मात्रै पत्ता लागेका कतारसँग निकै ठुला, आर्थिक र प्राविधिक कोणबाट निकै सहज ढंगले निकाल्न मिल्ने ग्यासका खानिहरु रहेका छन् । जसको छिमेकी देशहरुले इश्र्या पनि गर्ने गर्दछन् । विश्वको सवैभन्दा ठुलो ग्यासको खानी साउथ पार्स÷नर्थ डोम कतारमा अवस्थित छ जसको केही भाग ईरानसँग पनि जोडीएको छ । यसले पनि कतार र ईरान विचको सम्वन्ध बनाउनमा मदत गरको छ । सन् १९९५ बाट कतारले यो खानीबाट ग्यासको निर्यात गरिरहेको छ । 

यसमा अमेरीकामा भएका प्रत्येक घरलाई १०० बर्ष सम्म वाल्न पुग्ने ग्यास यसमा रहेको छ । कतार आर्थिक रुपमा सवल बन्नुभन्दा पहिला साउदी अरवको छायामा रहेको थियो तर आर्थिक सम्वृद्धि पछि कतारले स्वतन्त्र रुपमा आफ्नो कुटनैतिक र व्यापारिक सम्वन्ध इरान र अन्य मुलुकहरुसँग बनाईरहेको साउदी अरवलाई मन परेको थिएन । ग्यासकै व्यापारबाट कतार विश्वका सवैभन्दा धनी देशहरुमा रहेको छ । कतारको यो आर्थिक विकास देखेर छिमेकमा रहेका देशहरु असुरक्षित महशुस गरिरहेका थिए । 

कतारले लेवनामा हेजवुल्लाहलाई गरिराखेको समर्थन र रुससँगको वढ्दो आर्थिक र राजनैतिक सम्वन्धलाई पनि अमेरिका र साउदी अरवले मन नपराएको स्पष्टै छ । रुसको सरकारी कम्पनी रोस्नेफ्ट ओएलमा कतारले २.७ विलियन अमेरीकि डलर बरावरको लगानि गर्नु यसको एउटा उदाहरण हो । यसरी कतार एउटा स्वतन्त्र देशको रुपमा सम्वन्धहरु बनाउदै थियो र अमेरिका र साउदी अरव जस्ता ठुला देशहरुको प्रभाव भन्दा वाहिर जाँदै थियो । 

यो परिस्थिति लामो समयसम्म रहेमा कतारलाई आर्थिक, राजनैतिक र कुटनैतिक दृष्टिले नकारात्मक प्रभाव पर्ने कुरा निश्चित छ । यसको मुख्य प्रभाव सन् २०२२ मा कतारले आयोजना गर्न लागेको विश्वकप फुटवलमा पर्ने छ । छिमेकी देशहरुसँग तिताे कुटनैतिक सम्वन्ध भएको वेला कतारलाई यो प्रतियोगिता आयोजना गर्न कुटनैतिक र शुरक्षाका दृष्टीले विश्वलाई आश्वस्त पार्न कठिन हुनेछ् । यदी यो अवस्था लामो समयसम्म रहेमा कतारमाथी सैनिक कारवाहीको हदसम्म पनि सम्वन्ध विग्रिन सक्दछ । 

कतारको अन्य देशहरुसँग भएको अन्तरदेशीय आर्थिक सम्वन्धहरु र हवाई क्षेत्रमा रहेको कतारको व्यापारको सम्वन्ध तोडीएमा त्यसको मार सिधै कतारको अर्थ प्रणालीमा पर्ने छ । साम्राज्यवादी देशहरुले जहिले पनि आफ्नो कठपुतलि वन्न नचाहने जुनसुकै देश, शासक र शासन प्रणालीलाई आक्रमण गर्ने गर्दछ । ईराक आक्रमण, अफगानिस्तान आक्रमण, अहिले सिरियामा भईरहेको गृहयुद्ध आदी यसका ज्युदाँजाग्दा उदाहरणहरु हुन । अहिले कतारको सन्दर्भमा पनि ठिक त्यही कुरा लागु हुन्छ । 

यसरी कतारलाई स्वतन्त्र रुपमा अन्तराष्ट्रिय सम्वन्धहरु राख्न नदिएर अमेरिका र साउदी अरव लागायतका देशहरुको कठपुतलि बनेन भनेर कुटनैतिक र आर्थिक नाकावन्दी लगाईएको छ । कतारको ईरान र रुसँगको नजिकको कुटनैतिक एवं व्यापारिक सम्वन्ध र अमेरिका तथा मध्यपुर्वका देशहरुसँग चिसिरहेको सम्वन्धले यस क्षेत्रमा अझै पनि अशान्ति, द्धन्द्ध र असहजता निरन्तर रहने कुरा प्राय निश्चित छ ।

(लेखक नेपाल कम्युनिष्ट पार्टी निकट अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य हुन ।)




प्रतिकृया दिनुहोस्

Loading...