भरतपुरबारे रोचक खबर बाहिरियो : मतपत्रको सुरक्षा ढाडे बिरालोले गर्दै !

  • भरतपुर ।

चर्चामा रहेका चितवनको भरतपुर महानगरपालिकाकोे मतपत्रको सुरक्षा गर्न बिरालोको प्रयोग गरिएको छ । कभर्डहल भित्र राखिएको मतपत्रलाई मुसाबाट जोगाउनका लागि दुईवटा ढाडे बिरालो राखिएको छ ।

भरतपुर महानगरको मतगणना भएको कभर्डहल भवन बाहिर प्रहरीले निरन्तर सुरक्षा दिइरहेका छन् । तर भवन भित्र रहेका मतपत्रलाई मुसाबाट जोगाउन बिरालोले सहयोग गरिरहेका छन् ।

मतपत्र गणना गर्नेक्रममा प्रयोग भएको कपडा, कागजी मतपत्र र गणना हुन बाँकी मतपत्र रहेको पेटिकालाई कपडाले घेरिएर राखेको छ । गणना भइसकेका मतपत्र मतपेटिका राखिएको अवस्था छ । २९ वडाका मतपत्र, लामो समयसम्म लगाएर गाणना गर्दा गणक बसेका कपडा लगायतका सामग्री हल भित्र छन् ।

मतपत्र च्यातिएपछि स्थागित भएको गणनास्थल मुचुल्का उठाउन र च्यातिएको संख्या गाणना गर्न एक दिन एकछिन खोलिएपछि भवन खुला भएको छैन । भवनको मुल गेटमा ताला लगाइएको छ ।

भवनको गेटमा निर्वाचन कार्यालय र मतगणनाको माग गर्दै आएको नेकपा एमालेले छुटाछुटै ताला लगाएको छ ।

खुला भवन वरपर खुला चौर र बर्षातको समय झाडी बढेका कारण हलभित्र मुसा पस्न सक्ने सम्भावना छ । मुसाका कारण मतपत्र असुरक्षित महसुस भएका कारण दुईवटा बिरालोलाई हल भित्र जाने आउने वातवरण बनाइएको छ । दुईवटा विरालो भवन भित्र रहेका कारण मुसा आउने सम्भावना कम छ ।

बिरालाकै कारण मुसाबाट मतपत्र सुरक्षित भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख दिपक थापाले बिरालोले मुसा आउन नदिएपछि ढुक्क भएको बताए।

गणना स्थल नजिकै रहेको होटलमा रहेका बिरालालाई मतपत्र भएको हल भित्र जाने वातावरण बनाएको उनले बताए ।

दलका प्रतिनिधिहरु पनि रातको समयमा मतपत्र सुरक्षाका लागि कवर्ड हल बाहिर बस्ने गरेका छन् । गएको जेठ १४ गते राति भरतपुर १९ को मतपत्र च्यातिएपछि भरतपुर १९ र २० को गणना हुन बाँकी मत सुरक्षित राखिएको छ । निर्वाचन आयोगले मतदान गर्ने निर्णय दिएको र सर्वोच्च अदालते २८ गते सम्म रोक्न आदेश दिएको छ ।

प्रतिकृया दिनुहोस्

Loading...