स्थानीय चुनावअगावै धमाधम जनसरकार घोषणा गर्दै विप्लव


डोटी । 

नेपाल कम्युनिस्ट पार्टीले दोस्रो चरणको स्थानीय निर्वाचन खारेजी अभियानलाई तीव्र पारेको छ ।

सरकारले असार १४ गते गर्न लागेको दोस्रो निर्वाचनको विकल्प दिन उसले विभिन्न गाउँमा जनसरकार घोषणा कार्यक्रमलाई तीव्रता दिएको हो ।

जिल्लाको दक्षिण भेगमा पर्ने साविकका जोरायल, गड्सेरा, मन्नाकापडी, बर्छैन तथा लानाकेदारेश्वर गाविसहरुमा जनसरकार गठन गरेको छ । सबै जनसरकारका प्रमुख चयन गरिएका छन् ।

जोरायलमा योगेन्द्र बोहरा, गड्सेरामा दिपक बोगटी, तेजबहादुर बोहरा, मन्नाकापडीमा तारासिंह मन्नी, बर्छैनमा प्रेमबहादुर विष्ट र लानाकेदारेश्वरमा गोरख बोगटीको नेतृत्वमा जनसरकार गठन गरिएको घोषणा गरेको छ ।

घोषणा क्रमलाई जिल्लाभर पुर्याउने र जनताका कामलाई सहजरुपमा सम्पादन गर्ने नेकपा डोटी जिल्ला संगठनले जनाएको छ । चुनाव खारेजीका लागि स्थानीय स्तरमा पम्प्लेटिङ, भित्ता लेखन, प्रचार लगायत प्रचारात्मक कार्यक्रम भइरहेको नेपाल कम्युनिष्ट पार्टी डोटीका ईन्चार्ज विवेक कुमालले जानकारी दिए ।

‘दोस्रो चरणको निर्वाचन कुनै हालतमा सम्पन्न हुन दिँदैनौं । हामी पार्टीको नीतिअनुसार आवश्यक सबै योजना कार्यान्वयन गराईछाड्छौं’ कुमालले भने । सरकारले जनहितविपरीत गर्न लागेको स्थानीय तहको निर्वाचन खारेज गर्न जस्तोसुकै संघर्ष गर्न तयार रहेको उनले बताए ।

,

प्रतिकृया दिनुहोस्

Loading...