चुनावको मुखैमा एमालेलाई झड्का : वलीसहित आधादर्जन कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

  • काठमाडौं ।

आगामी असार १४ गते हुने चुनाव नजिकिँदै गर्दा रोल्पा नगरपालिकाका वडा नं. ६ को अध्यक्षको उम्मेदवार अस्वीकार गरेका नेकपा (एमाले)का स्थानीय कार्यकर्ता पूर्णबहादुर वलीसहित आधादर्जन कार्यकर्ताहरु नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् ।

उनीहरुले मंगलबार कोटगाउँमा आयोजित चुनावी सभामा माओवादी केन्द्रका कार्यालय सदस्य वर्षमान पुन अनन्तले टिका लगाएर प्रवेश गराएका हुन् ।

वलीसँगै एमालेका कार्यकर्ताहरु प्रेम जिसी, ताराप्रसाद विक, कमल केसी र कुलवीर बाँठा पनि माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । जिसी एमालेबाट वडा सदस्यको उम्मेदवार अस्वीकार गरेका हुन् भने विक, केसी र बाँठा एमालेको इलाका सदस्य हुन् ।

एमालेको रोल्पा नगरपालिका वडा नं. ६ को कमिटिले वलीलाई अध्यक्षको उम्मेदवारमा सर्वसम्मत प्रस्ताव गरेको थियो । तर, उनले आफूलाई एमालेको एजेण्डाप्रति वितृष्णा आएकोले एमालेमा बस्न मन नभएको भन्दै अध्यक्षको उम्मेदवार अस्वीकार गरेका थिए । उनले माओवादीको एजेण्डा मन परेकोले माओवादी केन्द्रमा प्रवेश गरेको बताए ।

‘एमाले त जनताको पार्टी रहेन, मलाई कुनबेला एमाले छोडौं जस्तो भएको थियो, त्यहीं भएर वडा अध्यक्षको उम्मेदवार अस्वीकार गरेर बसिरहेको थिएँ’, उनले भने, ‘मैले जनताको एजेण्डा बोक्ने पार्टी माओवादी केन्द्र भन्दा अरु देखिन अनि माओवादीमा प्रवेश गरेँ ।’ उनले माओवादी केन्द्रमा प्रवेश गर्न पाउँदा आफूलाई गौरव लागेको बताए ।

कार्यक्रममा माओवादी केन्द्रका कार्यालय सदस्य एवम् पूर्व अर्थमन्त्री वर्षमान पुन अनन्तले रोल्पा नगरपालिकासहित १० वटै स्थानीय तहमा माओवादीले विजयी हाँसिल गर्ने बताए ।

‘रोल्पामा माओवादी हार्नुपर्ने कुनै कारण छैन, म आवश्यक परे सम्पूर्ण विवरण सुनाउन सक्छु की माओवादी रोल्पाका १० वटै स्थानीय तहमा धेरै मतान्तरले विजयी हाँसिल गर्दैछ,’ चुनावी सभामा उनले भने, ‘अरु पार्टीहरु आत्मसम्मानका लागि निर्वाचन लड्दै छन्, माओवादी जित्नका लागि निर्वाचन लड्दैछ ।’ माओवादीले रोल्पामा चुनावी अभियानलाई तीव्र बनाएको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...