माओवादीको लालकिल्ला भत्काउने भन्दै गृहमन्त्री शर्मा र नेता पुनको गाउँमा कांग्रेस एमालेबिच एकता !



रुकुम ।

चुनाव हुन बाँकी रुकुमका तीन गाउँपालिका मध्ये सिस्ने गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेबिच चुनावी तालमेल भएको छ । माओवादी केन्द्रको प्रभाव रहेको गाउँपालिका अध्यक्ष नेकपा एमाले र उपाध्यक्ष नेपाली कांग्रेसले लिने गरी चुनावी तालमेल भएको हो ।

कांग्रेसको तर्फबाट अध्यक्ष पदमा उम्मेद्वारी दिएकी सरीता बुढाथोकीले उम्मेदवारी फिर्ता लिएर नेकपा एमालेका नन्दलाल शर्मालाई सघाउने र उपाध्यक्षमा कांग्रेसका लक्षिराम घर्तीलाई सघाउने सहमति भएको हो ।

यस्तै वडाहरुमा पनि तालमेल भएको छ । चुनावी तालमेल भएपछि एमाले कांग्रेस संयुक्त प्रचारमा लागेका छन् । ८ वडा रहेको गाउँपालिकाका तीन वडामा भने एमाले र कांग्रेसका आ–आफ्नै उम्मेदवार छन् । पूर्व आपूर्ति तथा बाणिज्य मन्त्री तथा नेकपा माओवादीको भातृ युवा संगठन वाइसियलका पूर्व अध्यक्ष गणेशमान पुनको समेत यही गाउँपालिका पर्छ ।

यसअघि चुनाव भएका रुकुमका ६ गाउँपालिकामा माओवादीले जितेको थियो । सिस्ने गाउँपालिकामा ८ हजार ६ सयको हाराहारीमा मतदाता संख्या रहेको छ । साबिकको प्वाङ, सिस्ने, स्यालापाखाको केही भाग, पिपलको केही भाग र पोखरा, रुकुमकोट गाविस समावेस गरेर सिस्ने गाउँपालिका बनाइएको हो ।

यो गाउँपालिकामा नेकपा माओवादी केन्द्रबाट कुमारी बराल अध्यक्षको लागि मैदानमा हुनुहुन्छ । रुकुमको पूर्व सदरमुकाम रहेको रुकुमकोट अहिलेको गाउँपालिका केन्द्र रहेको छ । सिस्ने गाउँपालिकामा एमाले कांग्रेसबिच तालमेल भएपनि भूमे र पुथाउत्तरगंगा गाउँपालिकामा भने भएको छैन ।

गणेशमान पुन र प्रभाकरको प्रतिष्ठाको विषय

माओवादीको राष्ट्रिय राजनीतिमा जनार्दन शर्मा प्रभावकर र गणेशमान पुन शक्तिशाली नेताको रुपमा रहँदै आएका नाम हुन । माओवादी शान्ति प्रकृयामा आउँदै गर्दा पार्टीलाई सशक्त बनाउन भूमिका खेलेको वाइसियलको कमाण्ड र द्वन्द्व सुरु हुने बेला नेपालमै पहिलो पटक रुकुमको आठबिसकोट प्रहरी चौकी आक्रमणमा सहभागी बनेका पुन त्यसकै प्रभावले पार्टीका बलिया नेता हुन् ।

त्यस्तै रुकुमको माओवादीलाई सधैँ विजय बनाएर प्रचण्डलाई खुशी बनाउने जनार्दन शर्मा प्रभावकर पनि पार्टीमा शक्तिशाली नाम हो । तर रुकुममा भने यी दुईको पश्चिम र पूर्वको भौगलिक शीतयुद्ध कता कता झल्कने गर्छ ।

रुकुमका पुर्वी भेगका मगरहरु आफ्नै पार्टीका भएपनि काम गर्न असहज भएकाले पूर्वी रुकुमलाई अलग बनाएको आरोप समेत शर्मालाई लाग्दै आएको छ । यहि कारणले पनि सिस्नेको चुनाव माओवादी भित्रका यी दुई पात्रको लागि अग्नि परीक्षा र प्रतिष्ठाको विषय हुन् । रुकुम टुक्राउनुको मुल उद्देश्य नै शर्माले रुकुममा मगरहरुलाई अलग बनाएर आफनो राजनीति सुरक्षित गर्नु रहेको बताउने पनि छन् । तर यो आरोपको शर्माले बेला बेला खण्डन गर्दै आउनु भएको छ ।

यसअघि माओवादीले जितेका रुकुमका ६ गाउँपालिका अहिलेका गृहमन्त्री शर्माको प्रभाव रहेका स्थान हुने भने मगर बाहुल्यता रहेका चुनाव हुन बाँकी रुकुमका पूर्वका तीन गाउँपालिका गणेशमान पुनको प्रभाव रहेका क्षेत्र हुन । त्यस कारणले पनि माओवादी भित्रको आन्तरिक राजनीति समेत यी तीन गाउँपालिकाको परिणामले केन्द्रसम्म प्रभाव पार्ने देखिन्छ । उज्यालो अनलाइनमा आदर्श केशीले समचार लेखेका छन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...